arrow

एमालेसँग पार्टी मिलेको हल्ला असत्य, सबै कम्युनिष्ट मिलाएर लैजाने उद्धेश्य – माधव नेपाल

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत ४ आइतबार
madhav-nepal-80-12-03.jpg

काभ्रे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी एमालेमा मिल्ने भयो भन्ने हल्ला सत्य नभएको बताएका छन् । शनिबार नेकपा एस काभ्रेको दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले विगतमा एमाले र समाजवादी एक ठाउँमा बस्न नसक्ने, एक आपसमा नजिक हुँदा सास नै गन्हाउने अवस्था भए पनि पछिल्ला दिनमा सम्बन्धमा सुधार आएको बताए ।

 ‘हाम्रो पार्टी एमालेसँग मिल्ने भयो भनेर प्रचार गरिरहेका छन् यो सत्य हैन, हाम्रो पार्टी कुनै पाटीसँग मिल्न गएको छैन’, अध्यक्ष नेपालले भने । 

उनले आफ्नो पार्टी एमालेमा मिलेको सत्य नभएको दाबी गरे पनि एकीकृत समाजवादी नेपालका कम्युनिष्ट पार्टीहरुलाई मिलाएर अघि जानुपर्छ भन्ने घोषित उद्देश्य रहेको भने स्पष्ट पारे । 

 ‘कटुता भएको बेला मन पर्दैन, अविश्वास बढेको बेलामा धेरै कुरामा शंका हुने गर्दछ, राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन यो कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने जरुरी छ’ उनले भने ।

रातारात नेपाली कांग्रेससँगको गठवन्धन भत्काएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर नयाँ गठवन्धन बनाएसँगै फेरि कम्युनिष्ट एकताको कुरा चल्न थालेको छ । 

यहीबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मन माझामाझ भएको र एमाले र नेकपा एस मिल्ने हल्ला चलिरहेको छ । 

दुवै नेताबीच गोप्यवार्तासमेत भएको छ । तर अध्यक्ष नेपालले एमालेसँग मिल्ने कुरा हल्लामात्रै भएको बताएका हुन् । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुबीच विचार, मन विधि, नीति र सिद्धान्त नमिलेसम्म पार्टीहरु एक हुन नसक्ने भएकोले आजभोलि छिट्टै पार्टीहरु मिल्ने अवस्था नरहेको स्पष्ट पारे । 

नेपालको राजनीतिमा पनि रङ्गहरु फेरिएर कहिले एउटा गठनबन्धन कहिले अर्को गठबन्धन बनिरहेको उनको भनाइ छ । 

अहिलेको गठनबन्धन कहिलेसम्म रहन्छ र यसमा सामेल रहेका दलहरु बाँकी अवधिसम्म रहिरहन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको बताउँदै आफूहरु सम्झौता पालना गर्न प्रतिबद्ध रहेको अध्यक्ष नेपालले बताएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा माओवादीका जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ