arrow

प्रचण्ड वरिपरि पार्टी

प्रचण्ड–पथ अन्त्य भएको डेढ दशक, परिवारवाद हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
prachanda-tension-2080-11-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माओवादी केन्द्रभित्र प्रचण्ड–पथको अन्त्य भएको १५ वर्ष भैसक्दा पनि परिवारवाद भने बलियोसँग हावी भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णयले परिवारवाद हावी भएको थप पुष्टि भएको छ । 

२०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारत, पञ्जाबको भटिन्डामा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्ड–पथ पारित गरेको थियो । त्यसपछि हरेक मोर्चामा उसले माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड–पथको नारा लगाउन थाल्यो । 

नाम र वाद दुवैमा पुष्पकमल दाहाल प्रचण्ड स्थापित हुँदै गए । २०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण भएपछि माओवादीले प्रचण्ड–पथ त्यागेको थियो । 

२०६५ मंसिर ५ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा भएको भेलामा अल्पमतमा परेपछि । हतारहतार एकता केन्द्रसँग एकीकरण गरेर पार्टीको नाम नै एकीकृत नेकपा माओवादी राखेका थिए । 

प्रचण्ड–पथ स्वीकार नगर्ने नारायणकाजी श्रेष्ठ र अरूहरूको सन्देशपछि उनले दस्तावेजबाट सुटुक्क प्रचण्ड–पथ पनि हटाएर जोगिएका प्रचण्डले १५ वर्षपछि आफ्नो  परिवारलाई महत्वपूर्ण मुलुकको कार्यकारी ओहोदा पार्टीमा स्थापित गराउँदै ल्याए । 

आइतबार बसेको सचिवालय बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनु पनि त्यसैको परिणाम हो ।  

२०८०  असार २३ मा  प्रचण्डले ज्वाइँ अर्थात् छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्ने निर्णय गराएका थिए । 

त्यसको भोलिपल्ट २४ असारमा ज्वाइँ आचार्य मन्त्रीमा नियुक्त भए । २२ असारमा आचार्यलाई मन्त्रीमा दोहोर्याउन नहुने बलियो मत कोशी प्रदेशको माओवादी संसदीय दलमा देखियो । 

आचार्यको सट्टा नयाँ अनुहारलाई अवसर दिनुपर्ने र पार्टीका पुराना नेतालाई मन्त्री पठाउने अडान केही सांसदहरूको थियो । सोही कारण २२ असारमा तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई माओवादीले मन्त्रीको नाम दिन सकेको थिएन । 

त्यसपछि ज्वाइँ आचार्य बालुवाटारको बलमा २४ असारमा पासामात्र पल्टाएनन्, पुराना र अवसरको दाबीमा रहेका नेताहरूलाई पाखा लगाएर बढुवा भएर मन्त्री भए । त्यसको परिणाम उदयपुरबाट निर्वाचित प्रदेश सांसद नारायण बुर्जा मगरले सार्वजनिक रूपमै राजीनामा दिने मनस्थिति बनाएको अभिव्यक्ति दिएका थिए ।

यसको श्रृंखला यतिमा रोकिँदैन १९ असार २०७९ मा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य केन्द्रीय सदस्य मनोनित भएका थिए । केन्द्रीय समितिको तेस्रो बैठकमा उनीहरूको नाम सार्वजनिक भएको हो ।

बैठकमा केन्द्रीय सदस्यको सूचीको ३ सय १३ औँ नम्बरमा गंगा दाहाल र ३ सय १८औँ नम्बरमा ज्वाइँ आचार्यको नाम राखेर थप केन्द्रीय सदस्यको सूची सार्वजनिक भएको थियो । प्रचण्डका ज्वाइँ आचार्यको माओवादीमा योगदान भनेकै प्रचण्डकी छोरी गंगा दाहालसँग विवाह गर्नु थियो ।

माओवादीमा जोडिनेबित्तिकै अवसर हात पार्न थालेका आचार्यले विवादका बीच २०७४ को प्रदेशसभाको चुनावमा टिकट पाए पनि चुनाव हारे तर उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञ सल्लाहकारका रूपमा जागिर खाए । त्यसपछि ज्वाइँ आचार्यले प्रचण्डकै जोडबलमा २०७९ मा पनि प्रदेश सभाको टिकट पाएर जिते मन्त्री बने ।

प्रधानमन्त्री प्रचण्डले छोरी रेणु दाहाललाई पार्टीको उत्तराधिकारीका रूपमा अगाडि सार्ने रणनीति लिएका छन् । त्यसैकारण पार्टीको जिम्मेवारीमा केन्द्रीय कमिटीदेखि भरतपुर महानगरपालिकाको मेयरमा दोहोर्याएका छन् । 

रेनुलाई अर्को चुनावमा चितवन ३ बाट संघको उम्मेदवार बनाउने प्रचण्डको रणनीति देखिन्छ । रेणुका श्रीमान् अर्जुन पाठक अहिले मेयरको सचिवालयमा आवद्ध छन् । 

पाठक पहिले माओवादीको संसदीय दलको कार्यालयमा काम गर्दथे । त्यति मात्र होइन पाठकले गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्यमन्त्री भएका बेलामा स्वकीय सचिव भएर काम पनि गरेका थिए । 

प्रचण्डका अर्का ज्वाइँ सागर केसी भने संसद सचिवालयमा काम गर्दथे । सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा रहेको बेलामा केसीले सचिवालयमा काम गर्ने गरेका थिए । 

रेणु दाहालसँग नातेदारी रहेका बुद्धि जीसीले पनि अवसर पाएका छन् । रेणुका श्रीमान् अर्जुन पाठकका ज्वाइँ नाता पर्ने जीसी पार्टीको केन्द्रीय सदस्य मात्र छैनन्, प्रधानमन्त्री कार्यालयको जनसम्पर्क सचिवालयमा कार्यरत छन् । 

प्रचण्ड परिवारको सदस्य भएकै भरमा कति छिटो अवसर पाइन्छ भन्ने उदाहारण हुन्, सृष्टि केसी दाहाल । ६ असार २०७९ मा माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । 

अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् । दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसीकी छोरी हुन् । 

हाल राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार रहेका भाइ नारायण दाहाल शुरुकै दिनदेखि प्रचण्डको बही खाता राख्ने व्यक्ति हुन् । 

उनी पार्टीको जिम्मेवारीका अलावा सांसद हुँदैे राष्ट्रियसभा सदस्य भएकाले राष्ट्रिय सभा अध्यक्ष हुने अवसर जुरेको हो । दाहाल परिवार र उनी निकटले मात्रै अवसर पाउने भएकै कारण चितवनका माओवादी नेता केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइञ्चार्ज भइसकेका नेता यमबहादुर परियार चुनावको मुखमा २०७९ कात्तिकमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डसँग चितवनको दाहाल नाता भएकै आधारमा महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । माओवादीमा प्रचण्डकी बुहारी भएकै कारण बिना मगरले पनि अतिरिक्त अवसर पाउने गरेकी थिइन् । 

२०७४ मा कञ्चनपुर–४ बाट चुनाव जितेकी बिना प्रचण्डको आडमा खानेपानी मन्त्री भएकी थिइन् । पार्टीमा पनि निरन्तर बढुवा भइरहेकी मगर अहिले प्रचण्डको उत्तराधिकारीको दौडमा छिन् । 

उनी सुदुरपश्चिम इन्चार्ज भएपछि गएको स्थायी कमिटी बैठकमा जनार्दन शर्माले नोट अफ डिसेन्ट नै लेखेका थिए । प्रचण्डको साला नाता पर्ने हेमराज पाठककी श्रीमती अधिकारी अहिले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा छिन् । 

प्रचण्डको परिवारसँग सम्बन्ध जोडिएकै कारण गोरखाका चुडामणि खड्काले पनि प्रशस्तै अवसर पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ