arrow

छलफलमा प्रधानमन्त्री प्रचण्ड र कतारी राजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
prachanda-thani-qatari-king.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भइरहेको छ । 

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका रुद्रकली र खगेन्द्रप्रसाद नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ । उनी अपरान्ह फर्कदैछन् । 

थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

कतारी राजाले मंगलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने बेलुकी नै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजसमेत आयोजना गरेका थिए ।  

उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदासमेत दिएको थियो ।

सन् १९७७ देखि नेपाल र कतारबीच सम्बन्ध कायम रहेको भए पनि ४७ वर्षमा पहिलो पटक कतारबाट उच्चस्तरको भ्रमण भएको हो । 

यति ठूलो भ्रमण हुँदासमेत उपलब्धि भने खासै हुन नसकेको स्पष्टै छ । कतारमा श्रमिक सम्बन्धी समस्या कायम हूँदा त्यसलाई सम्बोधन गर्ने कुनै योजना नै बनेन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक पोखरा र भैरहवाबाट सीधा फ्लाइट हुन सक्ने अवस्था चुकेको छ भने नेपालले कतारलाई निर्यात गर्न सक्ने विषयमा पनि सरकार मौन बसेको छ । 

नेपालले कतारसँगको श्रम सम्झौता नवीकरणलाई विशेष चासो दिए पनि यो भ्रमणको समयमा उक्त सम्झौता नहुने निश्चित भएको छ । 

कतार नेपालीहरुको एक मुख्य श्रम गन्तव्य मुलुक हो । अहिले कतारको कुल जनसंख्या भन्दा नेपाली कामदारको संख्या धेरै भएको बताइन्छ । अहिले कतारमा झण्डै ५ लाख नेपाली छन्, यो त्यहाँको कुल जनसंख्याको झण्डै १५ प्रतिशत हो । 

आप्रवासी श्रमिक सबैभन्दा धेरै भएमध्येको एउटा मुलुकको रुपमा नेपाललाई कतारले महत्व दिनु स्वभाविक नै भए पनि अहिलेको भ्रमणको अर्थ विशुद्ध द्विपक्षीय सम्बन्ध तथा आपसी हितको विषयमा मात्रै केन्द्रित रहेकोमा परराष्ट्रविदहरु नै संशय व्यक्त गर्छन् । 

कतार मध्यपूर्वको एउटा उच्च आय भएको विकसित देश हो । क्षेत्रफलको हिसाबले नेपालको बाग्मती प्रदेशको भन्दा आधा मात्रै क्षेत्रफल रहेको कतारले पछिल्लो समय गरेको विकास आश्चर्यजनक छ । तर जसरी कतारले विकासको फड्को मारिरहेको छ, त्यो मध्यपूर्व क्षेत्रकै टाउको दुःखाइ पनि बनिरहेको छ । 

मुस्लिम देश नै भए पनि कतारको सम्बन्ध मध्यपूर्वका अन्य मुस्लिम राष्ट्रसँग खासै सुमधुर छैन । दक्षिण एसियाली मुस्लिम मुलुकहरु पाकिस्तान र बंगालदेशसँग कतारको सम्बन्ध त्यति धेरै राम्रो छैन । मुस्लिम मुलुकहरुमध्ये साउदी अरेबिया, इजिप्ट, यूएईलगायत मुलुकहरु तुलनात्मक रुपमा सफ्ट र बढी उदार मानिन्छन् । ती देशहरुको सम्बन्ध अमेरिकासँग पनि राम्रो छ । 

तर कतारको सम्बन्ध भने अमेरिकाको शत्रु मानिने इरान र प्यालेस्टाइन, टर्की लगायतसँग छ । त्यतिमात्रै नभएर इस्लामिक आतंववादी संगठन हमास, हिजबुल्लाह र मुस्लिम ब्रदरहुड लगायत देशसँग पनि कतारको निकै राम्रो सम्बन्ध भएको बताइन्छ ।

कतारी अमिरले ती संगठनहरुको प्रशंसा गरेको भिडियो सार्वजनिक भएपछि कोरोना महामारी शुरु हुँदाको समयमा अन्य अरबी मुलुकहरुले कतारमाथि नाकाबन्दीसमेत लगाएका थिए । 

कतारमाथि लगाइएको नाकाबन्दी खुला गर्न साउदीले विभिन्न १३ वटा शर्त तेस्र्याएको थियो । त्यसमध्ये इरानसँगको सम्बन्ध तोड्नुपर्ने, कतारी मिडिया अल–जजिराको प्रसारण बन्द गर्नुपर्ने लगायत शर्त थिए । तर कतारले त्यतिबेला कुनै पनि शर्तहरु स्वीकार गरेन । 

प्राकृतिक ग्यासको ठूलो उत्पादक राष्ट्रको रुपमा रहेको कतारले वर्षौंका लागि ग्यास आपूर्ति सम्झौता गरेको र सामान आयातका लागि समुन्द्रसँग पहुँचसमेत भएका कारण त्यतिबेला कतारले अरबी राष्ट्रको नाकाबन्दीलाई सहजै सामना गर्यो । अर्थतन्त्रमा ठूलो प्रभाव नै नपारिकन कतारले आफूलाई सर्भाइभ गर्यो । सोही कारण मध्यपूर्वका ती राष्ट्रलाई गलाउन कतार सफल भएको थियो ।

आतंकवादमा सहयोग गरेको आरोप
आर्थिक रुपमा सम्पन्न भए पनि कतारमाथि आतंकवादी क्रियाकलापलाई सहयोग गरेको आरोप भने लाग्दै आएको छ । युरेनियम प्रशोधनका लागि इरानलाई सहयोग गर्ने, इजरायलविरुद्ध आक्रमणका लागि प्यालेस्टाइन र हमासलाई कतारले जहिलै सहयोग गर्दै आएको छ । त्यस्तै, मध्यपूर्वका अन्य देशहरुमा आतंकवादी क्रियाकलापमासमेत कतारको लगानी हुने गरेको आरोप लाग्दै आएको छ । 

त्यतिमात्रै होइन दक्षिण एसियाली देशको मुस्लिम संगठनहरुमासमेत कतारले निकै ठूलो लगानी गरेको बताइन्छ । त्यही भएर दक्षिण एसियाका कुनै पनि देशसँग कतारको त्यति गज्जब सम्बन्ध छैन । भारतको सम्बन्ध पनि यूएईसँग निकै राम्रो हुँदा कतारसँग राम्रो छैन । कतारले भारतमा रहेका मुस्लिमहरुलाई उचालेर हिंसा भड्काउन सहयोग गरेको आरोप समय समयमा लाग्दै आएको छ । 

भारतसँग सीमानाका जोडिएका र धार्मिक दृष्टिले महत्व राख्ने क्षेत्र नेपालको क्षेत्रका रहेका मुस्लिममाथि अहिले पनि कतारले ठूलो लगानी गरिरहेको विभिन्न स्रोतहरूले जनाएका छन् । यतिसम्म कि गौतमबुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रको नगरपालिकामा मुस्लिम उम्मेदवार निर्वाचित हुने अवस्था छ । त्यस्तै बाराको गढीमाईलगायत रौतहट, बारा तथा पर्सा जिल्लाको महत्वपूर्ण धार्मिक क्षेत्र तथा भारतसँग सीधा पहुँच भएका क्षेत्रमा मुस्लिम अतिवादी गतिविधि बढ्दै गएको आरोपसमेत लाग्दै आएको छ । 

यो अवस्थालाई नियन्त्रण गर्न खोज्दा कतारले कामदार बन्द गर्ने धम्की दिने गरेकोसमेत परराष्ट्रसम्बद्ध अधिकारीहरु अनौपचारिक रुपमा बताउने गरेका छन् । 

कतारी राजाको भ्रमणको भू–राजनीतिक अर्थ

कतारी राजाको नेपाल भ्रमण यस्तो समयमा भइरहेको छ जुन समयमा भारतमा १८ औँ लोकसभाको चुनाव भइरहेको छ । यो दौरानामा थानीले नेपाल भ्रमण मात्रै गरेका छैनन् काठमाडौँ उत्रिनुअघि उनले बंगलादेश र फिलिपिन्सकोसमेत भ्रमण गरेका छन् । यी तीनवटै देश भारतीय प्रभाव बढी भएका मुलुक मानिन्छन् । 

नेपाली सत्ता पक्षसँग भारतको सम्बन्ध कहिले नजिक, कहिले टाढाजस्तो देखिए पनि नेपालको आर्थिक, सामाजिकदेखि सांस्कृतिक निर्भरतासमेत भारतसँग उच्च छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पनि भारतसँग अत्यन्तै निकट सम्बन्ध छ । भारतको निकट सम्बन्ध रहेकी हसिना चुनावमार्फत पटक पटक सत्तारोहण गर्दै आएकी छिन् । 

उता दक्षिण चीन सागरको क्षेत्राधिकार विवादका कारण अहिले फिलिपिन्स र चीनबीच राम्रो सम्बन्ध छैन । त्यसैले फिलिपिन्सले भारतलाई बढी महत्व दिँदै आएको छ ।

भारतसँग राम्रो सम्बन्ध तथा उच्च निर्भरता भएका मुलुकमा भारतको निर्वाचनको समयमा भएको भ्रमणले कुनै न कुनै रुपमा त्यसलाई प्रभावित पार्ने मनसाय हुनसक्नेसमेत विश्लेषकहरुको भनाइ छ । 

भारतले हालैमात्र फिलिपिन्सलाई ब्रह्मोस मिसाइल दिएको छ । यसको प्रहार दूरी २९० किलोमिटरसम्म रहेको बताइएको छ । 

अहिले कतार भारतमा नरेन्द्र मोदी सरकारको निरन्तरताको पक्षमा छैन । उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले त्यहाँ अवैध रुपमा सञ्चालनमा रहेका १६ हजार मदरसाहरु बन्द गराउने प्रक्रिया अघि बढाएपछि अहिले कतार भारतदेखि भित्रभित्रै रुष्ट छ ।

नेपालको तराई बेल्टमा रहेका ५० हजार भन्दा बढी मुस्लिमहरु बिहार राज्यका विभिन्न क्षेत्रका मतदाता रहेको बताइन्छ । ती क्षेत्र र भारत समेतका मतदातालाई मनोवैज्ञानिक रुपमा प्रभाव पार्नेसमेत भ्रमणको उद्देश्य हुनसक्ने कतिपय रणनीतिकारहरुको बुझाइ देखिन्छ । त्यसैले यो भ्रमणलाई भारतलेसमेत नजिकबाट नियालिरहेको छ । 

कतारी राजाको यो भ्रमणको अरु सामरिक महत्वको बुझ्न भने दुई देशबीचको सम्झौतालाई नियाल्नु पर्ने एक जना सामरिक महत्वका जानकार बताउँछन् ।

खासगरी चीनले नेपालमा लगानी गर्न चाहेर पनि सफल नभएको फाइभजी परियोजना, पश्चिम रुकुमको फलाम खानी, दैलेखको पेट्रोलियम खानी, तल्लो मुस्ताङको प्राकृतिक ग्यास खानीलगायत विषयमा सम्झौता हुन्छ कि हुँदैन भन्ने विषयले महत्व राख्ने परराष्ट्र मामिलाका ती जानकारको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ