arrow

हाम्रो 'अल्टिमेट गोल' भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो- प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
prachanda-01-13.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन् । बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुबिधामा रहनु नहुने बताए । उनले सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त रहेको बताए ।

 उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरू केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको बताए । उनले नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम ननिस्किने बताए ।

उनले भने, ‘यहाँ हामी के कुरामा दुबिधामा रहनु हुँदैन भने हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । तर सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त हो, त्यो प्रक्रियाबाट पुगिन्छ भन्न मात्रै खोजिएको हो । अहिलेको हाम्रो आवश्यकता भनेको उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरू केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो । सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको छ । यसमा राजनीतिक दलहरूको बीचमा कतै विमति हुनुपर्ने कारण पनि छैन । हिजो संविधानमा ने समझदारी गरेका छौँ, त्यो समझदारीको कारणले पनि हाम्रो ऐतिहासिक आधार तयार भई नै सकेको छ । यसरी हासिल भएको समृद्धि दिगो, समावेशी, र अनुभूतियोग्य हुने भएकाले १६ औँ योजनाले यसैतर्फ विशेष जोड दिन खोजेको छ । उत्पादन, उत्पादकत्व र रोजगारी भन्दा म मान्य सदस्यहरूले, नेताजीहरूले जे राख्न म त्यसमा सहमत छु । नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखीकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी सृष्टि गर्ने कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम निस्किँदैन ।’

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको उल्लेख गरे । उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए । उनले युवा जनशक्तिको सीप, सामर्थ्य र क्षमतालाई विकासप्रतिको हुटहुटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक श्रोत एवं साधनको कुशल एवं प्रभावकारी परिचालन गर्न सके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको बताए । उनले युवा जनशक्तिको प्रचुरता धेरै वर्ष नरहने भन्दै सायद यो अन्तिम हुने रहेको बताए । उनले नेपालको फर्टिलिटी रेट (बच्चा जन्मिने दर) २ भन्दा तल झरिसकेको भन्दै केही वर्षपछि नेपालमा धेरै कम जनसङ्ख्या हुने स्थिति रहेको जिकिर गरे । 

उनले विकासमा युवा जनशक्तिलाई परिचालन गरी युवाहरुलक्षित नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताए । उनले उत्पादनमूलक उद्योग, कृषिको व्यवसायीकरण, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि, पर्यटन प्रवर्द्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले स्वदेशी तथा वैदेशिक लगानीसहित युवा केन्द्रित सुरक्षित पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजनाहरू संघले नगर्ने र प्रदेश र स्थानीय तहलाई दिने नीतिगत निर्णय भइसकेको बताए । उनले योजना अवधिमा विभिन्न श्रोतका साथै निजी क्षेत्रको ठुलो लगानीको अनुमान गरिएको बताए ।

प्रधानमन्त्री दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको बिस्तार तथा उपयोगमा विशेष जोड दिएको बताए । आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गरे । योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ