arrow

भलुवाहीदेखि भलुवाहीसम्म

logo
राजेश खनाल, 
प्रकाशित २०८० फागुन २६ शनिबार
rajesh-khanal-80-11-26.jpg

कात्तिके शीतका मिहिन थोपाहरूले मेरो जगल्टिएको केश चिसो भइसकेको थियो । बिहानीपखको घाँसे शीतजस्तै केश भिज्दै गइरहेको थियो । जगल्टा परेको केही लामो कपाल चिसो–चिसो भए पनि दरबज्जाको एउटा कुनामा एक मुठ्ठी पराल ओछ्याएर त्यसैमाथि बसेको थिएँ । 

पिड्वामा पराले तातोपना स्वभाविक हो । अपितु कात्तिक महिनाको चिसोले शरीरमा काँढा उम्रिरहेको थियो । ध्यान र आँखा एकसाथ पिताजीको घर अघिल्तिरको दरबज्जाको दक्षिणतर्फ जोडिएर बनेको खाटेमञ्चमा अडेको थियो । 

मञ्चअगाडि र पछाडि सांस्कृतिक कार्यक्रमका लागि गाउँका दाजुभाइ तम्तयार थिए । त्यसबेला गाउँका सबै दाजुभाइ कलाकार थिए । अधिकांशको जिम्मामा मञ्चमा आफ्नो प्रस्तुति दिने रहेको थियो ।

चारकाठे चारपाई जोडेर खडा गरिएको रङ्गमञ्चको दुईछेउँमा बाँसको लट्ठा  ठड्याइएको थियो । एउटा बाँसबाट अर्को बाँस जोडेर बनेको त्यहाँ दुईचार थान म्याण्टुल बालेर झुण्ड्याइएको थियो । 

बिजुली बत्ती कोसौँ टाढा थियो । काठमाडौँबाट आएकाहरू पनि त्यही म्यान्टुलमा रमाइरहेका थिए । गाउँ जो थियो त्यो ! बिजुलीतिर ध्यान जाने कुरो भएन । यस परिस्थितिमा बिजुलीको दह्रो विकल्प थियो म्याण्टुल । जसको चहकदार उज्यालोले रङ्गमञ्चलाई पर्याप्त उज्यालो प्रदान गरेको थियो । मानौँ उजडिया राइतको माहोल हो त्यो ! 

सबै आफ्ना थिए, कलाकारदेखि हल्लाकारहरूसम्म । त्यस उज्यालोमा कलाकारहरूको भावभङ्गीमा प्रष्ट देखिन्थ्यो । गाउँका स्थानीय दर्शकका अतिरिक्त छेउँछाउँको गाउँहरूबाट पनि दर्शक आएका थिए । ती पनि मौन मुद्रामा थिए । 

वातावरण ‘पिन ड्रप साइलेन्स’को स्थितिमा थियो । सबै दर्शकको ध्यान मञ्चतिर मात्रै थियो । जहाँ काठमाडौँबाट दशैँ मनाउन गाउँ आएका चर्चित डाक्टर, इन्जिनियर, सरकारी अधिकारी (सीडीओ, शाखा अधिकृत ), संस्थानमा कार्यरत अधिकारीहरूले के के गाउने हुन् र के के नौटङ्की देखाउने हुन् भन्ने मात्रै सोचिरहेका थिए । 

त्यसबखत पिताजीको दरबज्जा मात्रै होइन, डगहरमा पनि बसेर नौटङ्की हेर्नेहरूको भिड जुटेको हुन्थ्यो । त्यही भीडभाडको एउटा कुनामा १२–१३ वर्षको म मामाघरमा भइरहेको नौटङ्की अर्थात् सांस्कृतिक कार्यक्रम हेर्दै रमाइरहेको हुन्थेँ ।

सिराहा जिल्लाको दक्षिणी भेगको गाउँ भलुवाही, जहाँ मेरो किशोरवयका धेरै समय बिते । सारा गाउँलेलाई म मामा भन्थेँ । ढकाल, अर्याल, गौतमहरू मात्रै हैनन्, मेरा लागि मंगला कामती पनि मामा, जुठे घर्ती पनि मामा, वासुदेव कामती पनि मामा, धौनखी सदा र रजवा लौवा पनि मामा । 

म सबैको भानिज थिएँ । मामाघरको रमाइलो वातावरणबाट म यति अभिप्रेरित भएको थिएँ कि मलाई मेरो घर जलेश्वरको सम्झना नै त्यति आउँथेन ।

कहिले पढ्नका लागि मेरो गन्तव्य हुन्थ्यो भने कहिले नाचगानामा रमाउनैका लागि म भलुवाही हानिन्थेँ । २०३१–३२ सालतिर दशैँको समयमा हुने नौटङ्की र सांस्कृतिक कार्यक्रमले मलाई मोहित बनाएको थियो । लाग्थ्यो, दशैँ भलुवाहीमा मात्रै रमाइलो हुन्छ । 

मेरा मामाहरू प्रा.डा.अञ्जनीकुमार शर्मा ढकाल र कुमुद ढकालको नाट्य सक्रियतालाई देखिसकेपछि मलाई दशैँमा जलेश्वर बस्न कहिल्यै मन लागेन ! पहिले बुवा आमासंँग दशैँ मनाउन भलुवाही पुग्ने म पछिपछि एक्लै पनि भलुवाही पुग्न थालेँ । 

यहाँ कान्छबालाई बिर्सन मिल्दैन, किनभने उहाँको अगाध रुचि थियो, गीत सङ्गीत र नाटकप्रति । सायद उहाँकै प्रेरणाले पनि हुन सक्छ सिङ्गो गाउँ सांस्कृतिक कार्यक्रममा समाहित हुन्थ्यो । अनि तारा दिदी, अर्थात् मेरी आमा र मामाकी कान्छी फुपू, उहाँ पनि गीत सङ्गीतको पारखी हुनुहुन्थ्यो ।

आमा भन्नुहुन्थ्यो दशैँमा म भलुवाही जानलाई खुब झगडा गर्थें अरे । कुनै वर्ष दशैँमा भलुवाही नजाने कार्यक्रम बनिरहँदा मैले आफ्नो दुर्वासा रूप देखाएको हुन्थेँ रे ! त्यसैले आमा मिलेसम्म भलुवाही पठाइदिनु हुन्थ्यो । 

उमेरको कारणले नै होला दशैँ घरमा नै मनाउनु पर्छ र सबैभन्दा पहिला घरका ठूलाबडाबाट आशीर्वाद लिनुपर्छ भन्नेतर्फ मैले कहिल्यै वास्ता गरिनँ । नौटङ्की, नाच गानामा रमाउने भएकैले होला मलाई जलेश्वरको दशैँ, दशैँजस्तो लाग्दैनथ्यो । 

भलुवाहीमाजस्तो लिङ्गेपिङ्ग जलेश्वरमा गाडिएको मलाई सम्झना छैन । न त दशैँताका कुनै सांस्कृतिक कार्यक्रम नै भएको थाहा छ ! त्यसैले त बस, रेल, रिक्सा, टाँगा र पैदलयात्रा, जसरी भए पनि मैले भलुवाहीसम्मको यात्रा तय गरेकै हुन्थेँ । 

दशैँमा आमाबुबाको हातको टीका, जमरा र आशीर्वादभन्दा पनि मेरा लागि नाचगान, साथीसङ्गीको सहकार्य बढी महत्वपूर्ण ठहरिन्थ्यो । त्यसमाथि झोलीका देउता कहलिने भान्जाको हातमा पर्ने दक्षिणाले महको काम त गर्ने नै भयो ।

डाक्टर मामा काठमाडौँदेखि सपरिवार भलुवाही पुग्नुहुन्थ्यो । त्यसताका काठमाडौँदेखि भलुवाहीसम्मको यात्रा सजिलो थिएन । तथापि कसैगरी मामा, माइजू, अनीता दिदी र अनिल, सुनील दाजु भलुवाही पुग्नु नै हुन्थ्यो । कारण बाबाको हातको टीका सितिमिती मामा माइजू छोड्नु हुन्थेन । 

काठमाडौंँबाट आफ्नै गाडीमा मामाहरू जनकपुर पुग्नुहुन्थ्यो । त्यहाँबाट जयनगरसम्मको यात्रा ऐतिहासिक नेपाल जनकपुर जयनगर रेल्वे (एनजेजेआर) बाट हुन्थ्यो । जयनगर पुगेर बिहानीको खानपान सकिएपछि गाउँबाट बैलगाडी आएको छ भने त्यसमा गाउँसम्मै पुग्नुहुन्थ्यो ।

हैन भने रिक्सा वा टाँगा जे भेटिन्छ, त्यो सवारीमा सिराहासम्म पुग्नुहुन्थ्यो । अनि त्यहाँबाट गाउँसम्म पैदल यात्रा चल्थ्यो । कूल चार पाँच दिनलाई नेपाललगायत विराटनगर, वीरगञ्ज, जनकपुरबाट भलुवाही पुगेकाहरूका लागि दशैँ कति महत्वपूर्ण हुँदो हो, अनुमान गर्न सकिन्छ । 

सबैजना दशैँलाई रमाइलो बनाउन जुटेका हुन्थे । पूजाआजा गर्दै खसी बोका काटेर रमाइलो जमघट गर्नु त छँदैछ, त्यसमाथि पनि सुन्दरमणि मामा, दिनेश दाइ, कुमुद मामाहरूको काम हुन्थ्यो सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्ने । 

सुन्दरमणि मामा गीत गाउन र हार्मोनियम फेंट्न उस्ताद हुनुहुन्थ्यो । अङ्ग्रेजी विषयका अध्यापक सुन्दरमामा गाउने बजाउने कामसंँगै नाटक, प्रहसन लगायतका कार्यक्रमहरूको निर्देशन पनि गर्नुहुन्थ्यो । त्यसैले पनि उहाँ सबैको उस्ताद हुनुहुन्थ्यो । नारायण गोपालद्वारा गाइएका गीतहरू सुन्दर मामाले प्रायः सुनाउनु हुन्थ्यो – सारा दिन अरुलाई बाँडे, सायद यी रात मेरा, मेरा सुखहरू अरुको, सायद यी आँसु मेरा...।

यी र यस्ता अनगिन्ती गीतहरूमा ढोलक ठोकेर ताल मिलाउने काम गर्नुहुन्थ्यो दिनेश दाहाल दाइ । दिनेश दाइको गायन पनि उत्तिकै ओजपूर्ण थियो । स्थानीयहरूकै सहभागिता रहने गरेको त्यो सांस्कृतिक कार्यक्रममा रुची हुनेहरूले केही न केही गरेकै हुन्थे । मलाई सम्झना छ डाक्टर मामा र मेरा फुपाजु रामचन्द्र उपाध्याय ढकालको जोडीले गर्ने प्रहसन । 

कहिलेकाहीँ यो जोडीको बीचमा अकस्मात प्रवेश हुन्थ्यो पुण्डरी मामाको । अयोध्याबाट जनकपुर आइरहेका दशरथका दूतहरूको भूमिकामा डाक्टर मामा र रामचन्द्र भिनाजु रहनुहुन्थ्यो । उहांँ भन्नुहुन्थ्यो “लखपतिया जनकपुर कितना दूर है ?” यो सवालमा भिनाजुको पछाडि पछाडि रहनुभएका मामाको जवाफ रहन्थ्यो “चलिए चलिए हुजुर अब थोडे दूर है ।” उहाँहरूको यो हाँस्य प्रस्तुतिले सारा दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाउँथ्यो । डाक्टर अञ्जनीकुमार शर्मा ढकाल र रामचन्द्र ढकालको यो हाँस्य जोडी “मह” जोडी भन्दा कम थिएन त्योबेला । 

त्यो रङ्गारङ्ग कार्यक्रममा इन्जिनियर शिरोमणि उपाध्याय ढकालले गीत गाउनु हुन्थ्यो भने श्याममणि उपाध्याय ढकाल, रामहरि ढकाल, विमल शर्मा ढकाल, कुमुद ढकाल, प्रकाश अर्याल, प्रमोद गौतम, श्यामप्रसाद अधिकारी, मोहन अधिकारीलगायत कुमार दाजुहरूले थरीथरीका कार्यक्रमहरू प्रस्तुत गर्नुहुन्थ्यो । कार्यक्रममा सुन्दरमामा र दिनेश दाइको कार्यक्रम अनिवार्य नै मानिन्थ्यो ।

कार्यक्रममा नृत्य पनि प्रस्तुत हुन्थ्यो । त्यसबेला अजित शर्मा, निलमणि उपाध्याय र विश्वम्भर अधिकारीको नृत्य प्रमुख कार्यक्रममा गणना हुन्थ्यो । अजित शर्माले मन्ना डे ले गाएको आओ ट्विस्ट करं.....मा हिप्पी स्टाइल लामो केश लर्काएर नृत्य गर्नुहुन्थ्यो । यसदेखि बाहेक अनिल दाजु, सुनील दाजु, कल्पना, कामनाहरूले पनि गायन र नृत्य कार्यक्रम प्रस्तुत गर्थे । यसरी करिब दुई घण्टाको समय सारा दर्शकका लागि अविस्मरणीय बन्दथ्यो । आ–आफ्नो क्षेत्रमा चर्चित व्यत्तित्वहरूको यो प्रस्तुतिले गाउँका सबैलाई रमाइलो वातावरणका साथै उत्साह पनि प्रदान गर्दथ्यो ।

२०३१–३२ सालतिर हुने गरेको यो कार्यक्रमको सम्झना अहिले पनि भलुवाहीबासीहरूको जमघटमा हुने गर्दछ । डाक्टर मामा कहाँ जाँदा यी प्रसङ्गहरू उप्किने गर्दछ । मामा हाँस्नु हुन्छ अहिले त्यो बेलाको कतिपय प्रसङ्ग सम्झेर । सायद मलाई त्यहीबेलादेखि कलाकारिताको नसाले गाँज्दै लगेको थियो । “काशीजीके पण्डित पढमे कमजोर यौ” भनेर हामी फकडा हाल्थ्यौ । म पनि काशीजीको पण्डितजस्तै पढ्नमा कमजोर थिएँ, त्यसैले पनि होला मलाई नौटङ्कीको मोहजालले जेल्दै लग्यो ।

भलुवाहीमा रहँदा साथीहरूसँग बेलाबेलामा नौटङ्की हेर्नैका लागि रातरातभरि हामी गायब रहन्थ्यौँ । भलुवाहीमा हुने अल्लाह रुदल र तोता मैनाकी कहानी नौटङ्की हेर्ने ठेक्का नै लिएजस्तो थियो हाम्रो । धौनखी, जुठे, जिवछाहरूले गाउँमै गरेको नौँटङ्की हेर्नुसँगै छेउछाउका गाउँ थलहा, बेलहा, पदमपुर, नरहैयासम्म गएर हामी नाटक हेर्थ्यौँ । 

नौटङ्कीको मौसममा म, कमलेश, किरण, पुष्कर, धर्मेश, सनतलगायतको चमेरे जिन्दगी हुन्थ्यो त्योबेला । रातभरि नाटक हेर्ने र दिनभरि सुत्ने । पछि जलेश्वरमा पनि यो क्रम टुटेन । लचमु स्कुलको होस्टलमा बस्दा पनि सुगा, मटिहानी र जलेश्वरमै हुने मिनाबाइ थिएटर, आशाबाइ थिएटरका कलाकारहरूको छम्मकछल्लो करामत हेर्न पुगिएकै हुइन्थ्यो ।

मामाघर गाउँका मामाहरूले गरेको सांस्कृतिक कार्यक्रम र नौटङ्कीको असरले नै होला म जलेश्वर हुँदा पनि दशैँ अगावै भलुवाही पुग्थेँ । कहिले जयनगर हुँदै रिक्सामा त कहिले खजुरी स्टेशनमा ओर्लेर तीन घण्टाको पैदल यात्रा । पैदल जाँदा भने कहिले बैकुण्ठ दाजु त कहिले अरु कोही सहयात्रीको साथ हुन्थ्यो । खजुरी स्टेशनमा ओर्लिएपछि त्यहाँको प्याजी र मुरही (भुजा) को खाजा अनिवार्य मानिन्थ्यो । प्याजी खाजा र स्पेशल चियाको चुस्कीपछि सुरु हुन्थ्यो बाँकीको यात्रा कठाल, सगहरा, पतनुका, लक्कड, सारस्वर, छरापट्टी हुँदै भलुवाहीसम्मको ।

एकसाल म एक्लै पुगेँ भलुवाही । जयनगरको बाम्बे होटलमा बिहानको खाना उदरस्थ पारेपछि एक बिरा पान अनिवार्य थियो । एक्लै हिँडेपछि राँगो फुकेझैं फुकिन्थ्यो । त्यसैले दुई खिल्ली पनामा चुरोट समेत लिएर रिक्सा चढिन्थ्यो । चुरोट भने माडर नपुग्दै बुत्याउँथेँ । माडर पुगेपछि आफन्तहरू भेट हुने सम्भावना अधिक रहन्थ्यो ।

 त्यो वर्ष हामी भानीज, भाइ, भतिजाको पुस्ताले नाटक गर्ने भयौँ । दिनेश दाइ गाउँमा हुनुहुन्थेन । हामीलाई अभ्यास गराउने जिम्मा हाम्रा सदावहार उस्ताद सुन्दर मामाको जिम्मामा थियो । हामीले जयनगर गएर लिएर आएको एक सुखी हुइ रोटीलाई नेपालीमा रुपान्तर गरि सुकेको रोटी नाम दिएर मन्चन गर्यौँ । नेपाली नाटक खोज्नेतर्फ हामी कसैको ध्यान गएन । 

सुकेको रोटीमा ढकाल बन्धुहरू सनत, किरण, सुनील, गौतम बन्धुहरू मधु, अवधेश, धर्मेश, पुष्करलगायत नत्थु बास्कोटा, कमल पराजुलीले अभिनय गरेका थिए । नारी पात्रको भूमिकामा म र कमलेश ढकाल थियौँ । यस्तै प्रहसन र गायनमा सुन्दरमणि मामा, कुमुद मामा, कुमार दाजुहरू सकृय हुनुहुन्थ्यो ।

बत्तीस सालमा सांस्कृतिक कार्यक्रम हुँदा हामी दोश्रो तेश्रो पुस्ताका केटाहरू रङ्गमञ्चबाहिर थियौँ भने सैँतीस सालमा भने डाक्टर मामा, रामचन्द्र भिनाजु, शिरोमणि मामा, श्याममणि मामाहरू स्टेजबाहिर हुनुहुन्थ्यो । यसरी दशकौँदेखि चलिआएको नाट्य परम्परा अर्को पुस्तामा हस्तान्तरण भइसकेको थियो ।

आज त्यही रमाइलो र सांस्कृतिक सद्भावमा रमाउने गाउँ भलुवाही सुनसान छ । त्यहाँ दशैँको अवसरमा नौटङ्की र सांस्कृतिक कार्यक्रम नभएको धेरै भइसकेको छ । सायद लिङ्गेपिङ पनि बन्दैन । गाउँको त्यो पुरानो मुहार मलिन भएको जस्तो लाग्छ । मैले मामा भन्ने मंगला, जुठे, धौनखी, बासुदेव, जुगुतहरूसँग भेटघाटको मेसो नै टुटेको छ । के यो मौका फेरि जुर्न सक्छ ? यो प्रश्न मेरो मस्तिष्कमा कहिलेसम्म जीवित रहने हो भन्न कठिन छ । (पुस्तक अंश)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ