arrow

कांग्रेस संसदीय दलको बैठक

प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे - कांग्रेस [भिडियो]

समर्थन फिर्ता, संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
congress-parliament-11-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको ठहर गरेको हो । 

बैठकले नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमानदार रहेको दाबी समेत गरेको छ । बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्ने गरी कांग्रेस प्रस्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको कांग्रेसको ठहर गरेको बताए ।राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएको छ ।

उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरू काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ ।
उनले भने, ‘यो बैठकमा हामीले पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाहरू, घटनाक्रमका बारेमा छलफल गरेका छौँ । विगतमा एउटा निश्चित परिस्थितिमा नेपाली कांग्रेस समेत मिलेर हामीले गठबन्धन बनायौँ, त्यो गठबन्धनलाई गत संसदीय र प्रदेश सभाको निर्वाचनताका पनि गठबन्धनकै आधारमा हामी निर्वाचनमा प्रतिस्पर्धा गरेका थियौँ । जनताका बीचमा पनि गठबन्धन बनाएरै गएका थियौँ । हाम्रो गठबन्धन निर्माणको मुख्य उद्देश्य भनेको नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यो व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि, स्थिरता प्राप्त गर्ने लक्ष्यका साथ हामीले गठबन्धन गरेका थियौँ । नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमानदार रह्यो । हामीले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्ने गरी हामी प्रतिबद्ध रह्याँै । र तदनुरूप काम गरेका थियौँ । तर पछिल्लो समयमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीले गठबन्धनलाई, हामीलाई विश्वासघात गरेर गठबन्धन भत्काउनु भयो । उहाँले जुन कारणहरू विभिन्न ढङ्गले भनिरहनुभएको छ, ती अत्यन्त काल्पनिक, कपोकल्पित र तथाकथित कारणहरू देखाएर गठबन्धन भत्काउनु भयो । यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छाँै । हामीले गठबन्धनका नियम पालना गरेका थियौँ तर उनले अविश्वसनीय ढङ्गले गठबन्धन भत्काउनु भयो । उनले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभयो । उनले गर्नुभएको विश्वासघात, राजनीतिक बेइमानी लगायतका कुरालाई हामीले ठहर र अनुभूति गरेर हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएका छौँ ।'

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेसले अब सङ्घीय संसद्मा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । पार्टीले सङ्घीय संसद्मा रहेका नेपाली कांग्रेसका सम्पूर्ण सदस्यहरूलाई संसद्मा देश र जनताका हितमा प्रभावकारी रूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको बताए । 

उनले भने,' अब नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दछ र आजको बैठकले सङ्घीय संसद्मा रहेका नेपाली कांग्रेसका सम्पूर्ण माननीय सदस्यहरूलाई संसद्मा देश र जनताका हितमा प्रभावकारी रूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ