arrow

जनमत र जसपाको हानथापलाई कसरी मिलाउला नयाँ गठबन्धनले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
upendra-yadav-ck-raut.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) मधेसका लागि कट्टर विरोधी पार्टी हुन् । यिनीहरु सम्भवतः कहिल्यै नमिल्ने देखिँदैछन् । त्यसकै कारण २०७९ को प्रतिनिधि सभाको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । 

उपेन्द्र बाठा भएकै कारणले आफ्नो पार्टीबाट उपराष्ट्रपतिमा रामसहायप्रदाद यादवलाई पठाएर उक्त खाली ठाउँमा उपनिर्वाचनमा गठबन्धनको बलले चुनाव जिते । उपेन्द्र सोमबारदेखि संघमा परिवर्तन भएको नयाँ गठबन्धनपछि आफैँ नै सरकारमा जान खोजिरहेका छन् । 

उपेन्द्र सत्ताभन्दा बाहिर बस्नै नसक्ने नेतामा पर्छन् । तर यसपालिको नयाँ गठबन्धनमा जनमत र जसपाको एउटै माग भएपछि भने गठबन्धनलाई दुवै पार्टीलाई मिलाएर अगाडि बढ्न हम्मेहम्मे पर्ने देखिन्छ । 

जनमतले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेस प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको छ । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो । साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने माग गरेको छ । 

यता जसपाले भोलिका दिनमा तलमाथि हुन सक्ने आशंका बढेपछि नयाँ सत्ता गठबन्धनमा प्याकेजमै सहमति खोजेको छ । जसपाले मधेस सरकारको नेतृत्व आफ्नै पार्टीले निरन्तर पाउने सुनिश्चित हुनुपर्ने अडान लिएको छ । 

अहिले मधेस सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । गठबन्धन फेरिए पनि जसपाले मधेस सरकारको नेतृत्वको निरन्तरताको अडान लिएपछि नयाँ गठबन्धनलाई मिलाएर लैजान सकस हुने देखिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादवलाई सरकारका लागि आह्वान गरे पनि यादवले भने प्याकेजमा सहमति खोजिरहेका छन् । 

नयाँ गठबन्धनले यस्ता किसिमका भागबण्डा मिलाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा यादव पनि रहेका छन् । अन्यमा एमालेबाट विष्णुप्रसाद पौडेल, माओवादीबाट वर्षमान पुन तथा रास्वपाबाट रवि लामिछाने रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ