arrow

देउवाले अन्तिमसम्म महतलाई बोकेपछि ढल्यो गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prakashsharan-mahat-2080-04-29a.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अन्तिमसम्म बोकेपछि सत्ता गठबन्धन ढलेको छ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री महतसँग गत मंसिरदेखि नै असन्तुष्ट थिए । उनले मंसिरदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउँदै आएका थिए । 

त्यतिबेला कांग्रेस सभापति देउवाले नै राष्ट्रिय सभाको निर्वाचनसम्म मन्त्रिमण्डल हेरफेर नगर्न भन्दै आएका थिए । त्यसपछि फेरि देउवाले कांग्रेस महासमिति बैठकसम्म कुर्न आग्रह गरेका थिए । 

एकातिर कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आएका थिए । 

कांग्रेस महासमिति सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेपछि प्रचण्ड देउवासँग निकै नै रिसाएका थिए । 

एकातिर नेपालको अर्थतन्त्र ओरालो लागिरहँदा पनि केही पनि भएको छैन सबै ठीक छ भनेर हिँड्ने महतको व्यवहार सकैलाई मन परेको थिएन । 

महतले प्रचण्डसँग सम्बन्ध राम्रो रहेकोसमेत बताउँदै आएका थिए । प्रचण्डले महतलाई अर्थमन्त्रीबाट हटाउनका लागि मन्त्रिमण्डलको पूरै सेटसमेत फेर्ने तयारी नै गरेका थिए । 

यति हुँदासमेत देउवाले अन्तिम समयसम्म पनि अर्थमन्त्री महतको काँध थापेपछि कांग्रेस नै गठबन्धनबाट टाढिन पुगेको छ । 

संघीय सरकारबाट मात्र हैन कांग्रेस फेरि एक वर्ष अगाडिको स्थितिमा प्रदेशमा पनि पुग्नेछ । सीमित स्वार्थका लागि देउवाले पार्टीलाई क्षणभरमा प्रतिपक्षमा धकेलेको भन्दै चर्को आलोचना भइरहेको छ । 

देउवाले सत्ता गठबन्धनबाट हात धुनु परेपछि कांग्रेस १४ महिना अगाडिको अवस्थामा पुगेको छ । 

२०७९ पुस १० गते देउवाले आफू नै पहिले प्रधानमन्त्री हुनुपर्ने अड्डी कसेसँगै प्रचण्ड सोही दिन बालकोट पुगेर आफू प्रधानमन्त्री भएका थिए । 

अहिले देउवाले अर्थमन्त्रालय डा. महतलाई नै दिइराख्न अनुरोध गर्दा सरकारबाट फेरि हात धुनुपर्यो । गठबन्धन ढलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ