arrow

कांग्रेस महासमिति बैठक

चार दिने महासमिति बैठकमा सहभागी सदस्यहरू यसो भन्छन् [भिडियो]

महासमिति बैठक सफल हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
congress-meet-godawari.jpg

काठमाडौँ । मुलुकलाई सङ्कटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरूले गरेका छन् । 

सोमबारबाट गोदावरीमा शुरु भएको चार दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरूले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुने गरी नीतिगत निर्णय लिन सो बैठक सफल हुने प्रतिक्रिया दिएका हुन् ।

उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भइरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गरे । उनले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने बताए ।

अध्यक्ष गुरुङले भने, ‘१४ औ महासमिति भेलाको हामी सङ्घारमा छौं । र यो भेलाबाट हामीलाई पूर्णरुपमा विश्वास छ– हरेक महासमिति भेलाले देशका सबै सङ्कटहरूलाई पार लगाएको छ । र अहिले सङ्कटको घडीमा मुलुकमा आर्थिक मन्दीदेखि लिएर नेपाली जनतामा जुन निराशा छाएको छ । यो हाम्रो जुन चार दिने महासमिति भेला छ । यसले फेरी पनि निराश भएका नेपाली जनतालाई ऊर्जा दिन यो महासमिति भेला सफल हुनेछ । पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा हामीलाई पूर्णरुपमा विश्वास छ । व्यवस्थामाथि जुन चौतर्फी रूपमा प्रहारका कोसिसहरू भएका छन् । यो भेलामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाएर लैजाने कुरामा हामी सबैलाई पूर्ण विश्वास छ । ’

अर्का महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्त्वपूर्ण हुने बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली कांग्रेसले सो बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गरे ।

महासमिति सदस्य कनौडियाले भने, ‘यो महासमितिबाट जनताको जुन अपेक्षा छ नि । अहिले नेपाली कांग्रेसले नीतिगत अवधारणाहरूमा प्रस्ट हुनुपर्नेछ । अहिले कुनै पनि स्टेबल गभरर्मेन्ट बन्न सकिराखेको छैन समानुपातिकले गर्दा खेरी । त्यसको स्टेविलिटीको बाटो के हुनसक्छ ? हिन्दु राज्यको बारेमा पनि मुद्दा छ । अन्य थुप्रै मुद्दाहरू सङ्गठन अन्तर्गत केही मान्छेहरूले पटक पटक अवसर पाइरहने, अरूले नपाउने, नहुने, सङ्गठित सदस्यहरूबारेको विवाद समाधान गर्नुपर्ने जनताको र कार्यकर्ताको अपेक्षा छ । ती समस्या सम्बोधन होस भन्ने अपेक्षा गरेका छांैं ।’

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अङ्गीकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिनुभयो । उनले जनताको समस्या समाधान गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताए ।

महासमिति सदस्य श्रेष्ठले भने, ‘देशमा विद्यमान अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुरालाई निस्तेज पार्दै समृद्ध नेपाल बनाउनका लागि यो महासमिति बैठकले कांग्रेसको नीतिगत सुधार गर्नेछ । जसले गर्दा नेपाली जनताले भोग्दै आएका कठिनाइहरू लाई न्यूनीकरण गर्ने र समाजवादलाई परिष्कृत गर्ने खालका कुराहरू आउँछ । जसले पछाडि पारेका समुदायलाई पनि समेटेर यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ