arrow

कांग्रेस महासमिति र आम अपेक्षा

logo
आकाश कार्की, 
प्रकाशित २०८० फागुन ७ सोमबार
aakash-karki-2080-11-07.jpg

नेपालको सबैभन्दा पुरानो र प्रभावशाली राजनीतिक दलहरूमध्ये एक नेपाली कांग्रेस महासमिति बैठकमा होमिएको छ । जुन पार्टीको भावी दिशा र नेतृत्वलाई आकार दिने महत्वपूर्ण अवसर पनि हो। महासमिति बैठक भइरहँदा आम जनतामा आशा र अपेक्षा बढ्दै गएको छ र पार्टीले राष्ट्रका प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा आम जनताले लिएका छन् ।

नेपाली कांगेसको १४ औं महाधिवेशन पश्चात् र आमनिर्वाचन पछि पहिलो पटक भइरहेको महासमिति बैठक सोमबारदेखि बिहीबारसम्म ललितपुरको गोदावरीमा आयोजना हुन गइरहेको छ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापति भ्रातृ र शुभेच्छुक संस्था मनोनित महासमिति सदस्य विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरुको उल्लेखनीय उपस्थिति रहने महासमिति बैठकलाई सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले नजिकबाट नियालिरहेका छन् ।

देशको ठूलो लोकतान्त्रिक पार्टीको हैसियतले पार्टीको नीति र भावी कार्ययोजना मात्र तय गर्ने नभएर समग्र मुलुक र जनभावना अनुसारका विचारलाई सम्बोधन गर्नु पनि यस महासमिति बैठकको दायित्व भित्र पर्दछ । राष्ट्रिय रुपमा एकातिर रास्वपा, जनमत नागरिक उन्मुक्ति जस्ता नयाँ वैकल्पिक लोकतान्त्रिक पार्टीको उदय हुनु र अर्कातर्फ दक्षिणपन्थीहरु सक्रिय रुपमा राजतन्त्रका वकालतमा उत्रिनु र जनताहरु बडो महँगी र भ्रष्टाचारले गर्दा वर्तमान शासन पद्धतिमिाथि नै चरम निराशा व्यक्त गरिरहेको अवस्थामा हुन लागिरहेको कांगेसको महासमिति बैठक आफैँमा महत्वपूर्ण रहेको छ ।

महासमिति बैठकले गर्ने निर्णयहरुले अहिलेका चुनौतीका चाङ्हरुलाई कसरी सम्बोधन गर्दछ भन्ने कुरा बैठकपछि प्रष्ट हुने नै छ । विशेषतः यस आलेखमा जनताहरुको भरोसाका पार्टीको रुपमा रहेको नेपाली कांगेसको महासमिति बैठकमा गरिएका अपेक्षाहरु उजागर गर्ने प्रयत्न गरिएको छ ।

१, संघीयताको सबलीकरणः 
काांग्रेसको नेतृत्वमा जारी गरिएको नेपालको संविधान २०७२ पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल सोमबार आठौँ वर्ष पूरा गरिसकेको छ । स्थापनाको आठौँ वर्ष पुग्दा नपुग्दै लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको वैकल्पिक व्यवस्थाको बारेमा चर्चा परिचर्चा हुन थालेका बखत केही समूह र दललाई भने धमिलो पानीमा माछा मार्ने मौकाको रुपमा स्थपित भएको छ।

संघीय संसदबाट हालसम्म पनि संघीय निजामती ऐन, प्रहरी ऐन, शिक्षा ऐन जस्ता महत्वपूर्ण ऐनहरु पारित हुन नसक्नाले संघीय लोकतान्त्रिक व्यवस्था माथि नै प्रश्न उब्जिएको अवस्था छ । यी ऐन पारित नहुँदा तीन तहका सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । 

त्यसैगरी, संघीयता सबलीकरणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित अन्तर प्रदेश परिषद् हालसम्म दुई पटक मात्र बैठक बस्न सकेको अवस्था छ । अझ, मूलभूत कुरा त सातै ओटा मुख्यमन्त्रीले बुझाएका सुझावहरुको कार्यान्वयन गर्न तदारुकता प्रधानमन्त्रीबाट हुनसकिरहेको छैन । 

संघीयता खारेजीको आवाज उठिरहेको अवस्थामा सरकारले संघीयताको सही मर्म जनतामा बुझाउन सकिरहेको छैन । यसकारण पनि कांग्रेसको महासमिति बैठकले संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई समाधानको मार्गचित्र कोर्न सफल हुनुपर्दछ र जनतालाई संघीयताको वास्तविक महत्वका बारेमा बुझाउन आफ्ना योजनाहरु जनता सामू ल्याउन कोसिस गर्नुपर्दछ ।

२, सुशासनका लागि अजेन्डाः 
राष्ट्रले सामना गर्ने दबाबपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्ने शासनको लागि व्यापक अजेन्डाको अभिव्यक्तिको सन्दर्भमा अपेक्षाहरू उच्च छन् । कांग्रेस पार्टीले स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र पूर्वाधार विकास लगायतका विभिन्न क्षेत्रहरूमा व्यावहारिक नीतिगत समाधान र कार्ययोग्य योजनाहरू प्रस्तुत गरेको हेर्न नागरिकहरू उत्सुक रहेका छन् ।आम नागरिकको आकांक्षासँग प्रतिध्वनि गर्ने बलियो शासन अजेन्डालाई पुनरुत्थानको लागि अपरिहार्य मानिन्छ। कांग्रेस अहिले गठबन्धन सरकारमा छ । 

नागरिकहरुले कांग्रेस सहभागी भएका सरकारबाट ठूलै अपेक्षा राखेका छन् । आजको सरकारमा रहँदा गरेको डेलिभरी नै भोलिको सरकार नेतृत्व गर्नेको बलियो आधार हुन सक्छ । आज कांग्रेसको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुले जनभावना अनुरुपको कार्य गर्न सकेका छन् त ? के चुनावी घोषणा अनुरुपको जनवाचा पूरा गर्न सक्षम भएका छन् त ? के मन्त्रीहरुमाथि उठेका कार्यशैलीका प्रश्नमाथि कांग्रेस नेतृत्वले प्रश्न गर्न सकेको अवस्था छ त ? यी र यस्ता विषयमा गम्भीर रुपमा महासमिति बैठकमा छलफल हुन जरुरी छ । ताकि सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कांग्रेसको अजेण्डामाथि पुनर्ताजिकीकरण गराउन सकियोस् । 

प्रदेशदेखि संघ सरकारमा सहभागी भएका मन्त्रीहरुले संघीयता सबकीरण गर्न कांग्रेस तर्फबाट सरकारमा रहेकाहरुले एकीकृत भएर नयाँ योजना र संकल्प ल्याउन सकिरहेका छैनन् यसतर्फ पनि नेतृत्वले ध्यान दिन जरुरी रहेको छ ताकि एकातर्फ सरकारमा पनि आफ्नो स्थान प्रभावकारी बनाउन सकिन्छ, अर्कातर्फ संघीयता सबलिकरणमा पनि कांग्रेसको ढृढ संकल्प रहेको जनतासामु स्पष्ट पार्न मद्दत पुगोस् । 

३, नेतृत्वको पुनरुत्थानः
आम जनताको प्रमुख अपेक्षामध्ये एक कांग्रेस पार्टीभित्र नेतृत्वको पुनरुत्थानको वरिपरि घुम्छ। यसको मतलब यो होइन कि बूढा नेता पाखा लगाएर युवा नेतृत्व आउनुपर्यो ।मुख्य कुरा यो हो कि समयको गतिलाई बुझी नेतृत्व दिनसक्ने नेतृत्वको आवश्यकता रहेको छ । नेपालको राजनीतिमा सदैव ८–१० जनाको वरिपरि नै देशको राजनीति रुमल्लिरहेको अवस्थामा कांग्रेसले नयाँपुस्तालाई राजनीतिमा आकर्षित गराउन सक्ने नीति ल्याउन जरुरी छ । 

राजनीति आफैँमा उच्चस्तरको समाज सेवा भएको कारण सर्वप्रथम त युवा पुस्ताले अहिले राजनीतिक दलले गर्ने क्रियाकलापलाई नै अनुशरण गर्ने हुन्छन् र आफ्नो विचार निर्माण गर्दछन् । यस परिस्थितिमा सर्वप्रथम पार्टीको कार्यसंचालननै लोकतान्त्रिक र विधि अनुरुपको हुनुपर्दछ । ताकि नयाँपुस्ता कांग्रेसमा जोडिन मार्गप्रशस्त गर्न सकियोस् । यस मानेमा नयाँ पुस्ताले अनुशरण गर्न योग्य बनाउनकै निमित्त कांग्रेसले विधि र विधानमा सांगठनिक कार्य अगाडि बढाउन पर्दछ । 

पार्टीको केन्द्रीय समिति बैठक, महासमिति बैठक सधै समयमा नै गर्नुपर्दछ । महाधिवेशनको मुखमा क्रियाशील सदस्य बाँड्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ । नीति निर्माण र विचारको मन्थन गर्ने थलोको रुपमा लिएको महासमिति बैठक सधै कर्मकाण्डमात्र नबनाउन विधानमै प्रत्येक वर्ष यो मितिमा गर्ने भनेर प्रष्ट उल्लेख गर्न जरुरी छ । यस्तो गर्न सके समय अनुसारको जनभावनाका बारेमा बहस गर्न मद्दत पुग्दछ र नयाँपुस्तालाई पनि आकर्षित गर्न सकिन्छ ।

४, वैचारिक स्पष्टता र दृष्टिकोणः
द्रूत रूपमा विकसित राजनीतिक परिदृश्यको बीचमा, कांग्रेस पार्टीले देशको भविष्यको लागि एक सुसंगत वैचारिक अडान र एक आकर्षक दृष्टिकोण व्यक्त गर्ने व्यापक अपेक्षा यस महासमितिमार्फत आमजनताले लिएका छन् । आर्थिक नीतिदेखि सामाजिक न्याय युवा पलायन र राष्ट्रिय सुरक्षादेखि वातावरणीय स्थायित्वसम्मका महत्वपूर्ण मुद्दाहरूमा पार्टीले आफ्नो स्थिति चित्रण गरेको हेर्न नागरिकहरू उत्सुक छन् । 

निर्यातमूलक वस्तुको प्रबर्धन गर्न के कस्ता योजना छन् त्यस विषयमा पनि गम्भीर छलफल हुन जरुरी रहेको छ । स्वदेशमा रोजगारीको अभावले होस् वा अवसरको खोजीमा विदेश पलायन भएका युवालाई स्वदेशमा कसरी रोजगारी प्रदान गर्ने स्पष्ट नीति ल्याउन जरुरी रहेको छ । नेपालले पहिलो पटक सन् २०४५ सम्ममा नेट जिरो ग्रीन हाउस ग्यास इमिसन्स भनेर विश्वसामु प्रतिबद्घता व्यक्त गरेको अवस्थामा ती लक्ष्य प्राप्त गर्न के कस्ता योजना रहेका छन् त्यसको नेतृत्व कांग्रेसले लिने गरी योजना तर्जुमा गर्नु आवश्यक रहेको छ ।

५, डिजिटल कांग्रेसः 
समयको रफ्तारसँगै प्रविधिको उच्चतम् प्रयोग गर्न सक्नु आजको आवश्यकता रहेको छ । कांग्रेसमा नविनतम् उर्जा भर्नका लागि कांग्रेसलाई पूर्णरुपमा डिजिटल बनाउनु आजको आवश्यकता रहेको छ । नेपाली कांग्रेसले डिजिटल एपको निर्माण गर्नुपर्दछ र सोही एपमार्फत क्रियाशील सदस्य अनलाइन फर्म भर्ने आवश्यक शुल्क पे गर्ने, क्रियाशील सदस्यको व्यक्तिगत विवरण हेर्न मिल्ने, कांग्रेसका समायानुकूल भएका बैठकका निर्णयहरु हेर्न पाउने, विभिन्न कार्यक्रमका कार्यतालिका हेर्नदेखि आफ्ना सुझाव एवं प्रतिक्रियाहरुसमेत दिन पाउने गरी एपको विकास गरिनुपर्दछ । यस्ता नविनतम् प्रविधिले कांग्रेसलाई समयानुसार अघि बढाउन प्रेरित गर्दछ । 

निष्कर्षः कांग्रेस पार्टीको महासमिति बैठक भइरहँदा आम जनताको अपेक्षा ठूलो हुँदै गइरहेको छ । जसले पार्टीका चुनौती र अवसर दुवैलाई झल्काउँछ। नेतृत्वको पुनरुत्थानदेखि वैचारिक स्पष्टतासम्म, समावेशीतादेखि सुशासनको एजेन्डासम्म, आगामी दिनमा पार्टीको गतिलाई आकार दिने महासमितिका निर्णयहरुलाई नागरिकहरूले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । अन्ततः, महासमिति बैठकले कांग्रेस पार्टीलाई बदलिँदो राजनीतिक परिस्थितिको चुनौतीलाई सजिलै समाधान गर्दै नविनतम् विचारको शंखघोष गर्नेमा कुनै संकोच छैन । (कार्की कांग्रेसका युवा नेता हुन्)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ