arrow

‘काम नगर्ने ठेकेदारलाई कारबाही गर्नु’

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
PM-kam-ngarnelai-karbaho-garnu.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको योजना अनुगमन र भेटघाटले तीब्रता पाएको छ । प्रधानमन्त्री दाहालले खोटाङ–ओखलढुंगा जोड्ने दुधकोशी नदीको जयरामघाट पुल निर्माणमा आवश्यक निर्णय लिने बताएका छन् ।

वुधबार प्रधानमन्त्री दाहालले पुल निर्माणसँग सम्वद्ध सरकारी निकायका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राखेका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिवहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन पनि भनेका छन् ।

प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

गत साता राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्री दाहाले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए  ।
 
२०६६ असार २३ गते पुल निर्माणको सम्झौता भई २०७० मंसीर १५ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न नभएपछि पुल निर्माण कार्यलाई तिब्रता दिन प्रधानमन्त्रीले चासो राखेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ