arrow

कांग्रेस केन्द्रीय समितिको बैठकमा चार प्रस्ताव पेश, शुक्रबारबाट छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nc-party-office-11-03.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेश भएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो । 

साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रस्ताव र समग्र नीतिका सम्बन्धी प्रस्ताव पेश गरिएको नेता डा. प्रकाशशरण महतले बताए । बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेश गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेश गरेको बताए ।

 उनले बिहीबारको बैठकमा प्रस्ताव मात्रै पेश हुने र शुक्रवारबाट प्रस्तावमाथि छलफल हुने बताए । अर्थमन्त्री महतले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताए ।

 उनले भने, ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दै छ । आज दुई, तीन वटा प्रस्तावहरू पेश भएका छन् । मैले सरकारको तर्फबाट आर्थिक स्थिति के छ, के गरिरहेको छ, भोलिको दिनमा के गर्ने भन्ने कुरामा सरकारको तर्फबाट आफ्ना कुराहरू राख्यौँ । विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीको तर्फबाट लिखित प्रस्ताव पेश गर्नुभयो । संगठनसम्बन्धी प्रस्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको छ । समग्र नीतिका विषयमा उपसभापतिज्यूले प्रस्ताव केन्द्रीय समितिको बैठकमा छलफलका लागि प्रस्तुत गर्नुहुनेछ । आज यी ४ प्रस्ताव पेश हुनेछन् । भोलि यसमा छलफल हुनेछन् । समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ ।’

नेता महतले केही जिल्लाहरूमा महासमिति सदस्य निर्वाचनमा केही समिति ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ