arrow

कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुपर्छ : महामन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
gagan-thapa-chitwan-rss.jpg

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन् । 

नेपाली कांग्रेस रत्ननगर नगर कमिटीले बुधबार आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे । 

महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।” 

पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । 

पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए ।

अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए । 

महामन्त्री थापाले भने, “गलत गर्ने नागरिकले  सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस् ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डा गोविन्द पोख्रेल र टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आग्रह पूर्वाग्रह त्यागेर सबै एक भएर लाग्नुपर्ने बताए ।

अहिले कांग्रेसलाई रक्तसञ्चारको आवश्यकता रहेको उल्लेख गर्दै उनीहरुले पार्टी एकढिक्का बनाएर लैजान आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, नगर सभापति प्रह्लाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण ओलीलगायतले पार्टीलाई एकढिक्का भएर अगाडि बढाउनुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ