नेपाली फुटबलमा नयाँ इतिहास : नेपाल सोलिडारिटी च्याम्पियन, मकाउ १–० ले स्तब्ध
११ महिनायता लगातार तेस्राे उपाधि
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
2k
Shares
काठमाडौं । मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्दै नेपालले इतिहास रचेको छ । कुचिङस्थित सरावाक रंगशालामा भएको फाइनल खेलमा परिचित प्रतिद्वन्द्वी मकाउलाई १–० ले हराउँदै इतिहास रचेको हो ।
एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । नेपाललाई उपाधि दिलाउन सुजल श्रेष्ठले ३०औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
सोलिडारिटी कपको उपाधि दिलाउन उनी नै नायक सिद्ध भए । सुजलले भरत खवासले दिएको क्रस पासमा हेडमार्फत गोल गरेका थिए । सुजलकै गोलले मकाउ दबाबमा रहयो । नेपालले गरेका कयौं प्रहार गोलमा परिणत हुन सकेनन् । खेलमा नेपालका केही प्रहार भने मकाउका गोलकिपरले विफल बनाइदिए । यद्यपि, वर्षाले मैदानमा पानी जमेकाले खेलमा भने निकै समस्या भयो ।
सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल तथा ब्रुनाईलाई पेनाल्टी सुटआउटमै हराएर मकाउ फाइनलमा पुगेको थियो ।
नेपाल र मकाउले यसअघि आपसमा यो सहित ६ खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जित्दा एक खेलमा बराबरी भएको छ, भने एक खेलमा हार व्यहोरेको छ । मकाउविरुद्ध नेपालको अब १६ गोल भएको छ । उसले ७ गोलमात्र फर्काएको छ । प्रतियोगिताको समूह चरणमा नेपालले ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
११ महिनायता लगातार तेस्राे उपाधि
यो खेल जितेर नेपालले नयाँ इतिहास रचेको छ । नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । ६२ वर्षे फुटबल यात्रामा नेपालले यो कीर्तिमान रचेको हो ।
विश्वकप २०१८ एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एएफसीले आयोजना गरेको सोलिडारिटी कप नेपाली फुटबल टोलीले ११ महिनायता लगातार जितेको तेस्रो उपाधि हो । जनवरी, २०१६ (गत माघ)मा नेपाली राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३्ले फेब्रुअरीमा गुवहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जितेकाे थियो ।