arrow

अधिवेशन अवधिभर राजधानी नछोड्न निर्देशन

यी हुन् कांग्रेस संसदीय दलको बैठकको निर्णय [भिडियो]

कोशी प्रदेशको परिणाम अनपेक्षित, १० संयोजक तोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
congress-parliamentary-meet.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरूलाई निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदहरूलाई निर्देशन दिएको हो । विगतमा संसद्को बैठक तथा समिति बैठकहरूमा गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनले नेपाली कांग्रेसका सांसदहरू निरन्तर रूपले सभा र समितिहरूमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने निर्णय भएको बताए । उनले संसद्को अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदहरूलाई राजधानी नछोड्न निर्देशन दिइएको बताए । यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रूपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उनले स्पष्ट पार्नुभयो । कांग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिहरूमा भाग लिन पनि सांसदहरूलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए । बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरूको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरूलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह पनि गरेको छ । त्यसै गरी काँग्रेसले सांसदका गतिविधिलाई व्यवस्थित गर्न र संसद्लाई प्रभावकारी बनाउन अरू राजनीतिक दलहरूलाई अपिल पनि गरेको छ ।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रमुख सचेतक लेखकले भने – ‘संसदीय दलको यो बैठक कांग्रेसका सम्पूर्ण सदस्यहरू, संसद र संसद्का समितिहरूमा सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्दै सोही अनुरूप विधायनको कार्य गर्ने र राष्ट्र र जनताको हित र सरोकारका विषयमा सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाउनका लागि संविधान कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरू संसद्मा प्रस्तुत हुन बाँकी छन् । ती विधेयकहरूलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्नका लागि सरकारलाई आग्रह गर्ने र संसद्मा प्रस्तुत भएका विधेयकहरूलाई यसै अधिवेशनबाट पारित गर्नका लागि तदारुकताका साथ सहजीकरण गर्ने । आफ्नो भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने कुरा गरेका छौँ । संसद्का गतिविधिलाई व्यवस्थित गर्न र संसद्लाई प्रभावकारी बनाउन अरू राजनीतिक दलहरूलाई पनि अपिल गर्ने निर्णय गरेका छौँ । सभा र समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । त्यस कारण समितिको बैठक र सभाको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदहरूको कुरा सुन्ने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउनका लागि मन्त्रीहरूले गम्भीरतापूर्वक उपस्थित भएर काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय । नेपाली कांग्रेसका सांसदहरू निरन्तर रूपले सभा र समितिहरूमा उपस्थित हुनुपर्ने, प्रभावकारी ढङ्गले काम गर्नुपर्ने निर्णय गरेका छौँ । संसद्को अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरूले राजधानी नछोड्ने, यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नुपर्‍यो भने पनि संसदीय दलको प्रमुख सचेतक या सचेतकबाट लिखित रूपले स्वीकृति लिएर मात्रै राजधानी छाड्न निर्देशन गरेको यो बैठकले सबै माननीयहरूलाई । र संसद, समितिको बैठकमा अनिवार्य उपस्थित हुने, बैठक चल्दासम्म बस्ने र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिहरूमा भाग लिने भनेर पनि यो बैठकले निर्देश गरेको छ ।’

बैठकले संसदीय दलको विधान अनुरूप दलको समितिमा संयोजक तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसै गरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिए । बैठकले नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने र केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न अनुरोध समेत गरेको उनले बताए ।

उनले भने – ‘अब हामी नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छौँ र चाँडै निर्वाचन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिलाई निर्वाचन समिति तोकिदिनका लागि हामीले आज अनुरोध गरेका छौँ । आउँदो बैठकबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्वाचन समिति तोक्छ । त्यसपछि संसदीय दलको कार्यसमितिको निर्वाचन सम्पन्न हुन्छ ।’

कांग्रेस संसदीय दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भीरतापूर्वक लिएको उनले बताए ।

उनले भने – ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ वटा साझा उम्मेदवारहरू थिए । कोशी प्रदेशको जुन परिणाम प्राप्त भएको छ, त्यो अनपेक्षित छ भन्ने बैठकले ठहर गरेको छ । सत्तापक्षिय गठबन्धनका १९ वटा उम्मेदवारमध्ये कोशि प्रदेशमा दुई जना उम्मेदवार हुनुहुन्थ्यो । एक जना उम्मेदवार पराजित हुनुभयो । यो विषयलाई हामीले अनपेक्षित परिणामको रूपमा लियौँ र यो बैठकले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ भनेर बैठकले निर्णय गरेको छ ।’

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनाहरूमा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ