arrow

गुरु बरालको चेतावनी-कास्कीको आन्तरिक झगडा देखाएर अन्याय गर्ने प्रयत्न र कुचेष्टा नगरियोस्

logo
हरि पन्त
प्रकाशित २०८० माघ १० बुधबार
guru-baral-nepali-congress-leader.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेपाली कांग्रेस न्याय स्थापित गर्ने र अवसरहरुमा समानुपातिक वितरण र समानुपातिक अवसर प्रदान गर्ने पार्टी भएको बताएका छन् ।

आम कार्यकर्ताको मूल्य र मान्यता अनुसार अघि बढ्ने पार्टी भएको उनले जिकिर गरे । उनी भन्दा केही अघि बोलेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरे ।

मुख्यमन्त्री पाण्डेले कास्की कांग्रेस आन्तरिक झगडामा फसेकाले धेरै अवसरहरुमा पछि परेको बताएका थिए । नेता बरालले भने, ‘झगडा छ भन्दै कास्कीलाई अवसरबाट बञ्चित गर्ने निरन्तर प्रयास भएको छ । यसप्रति मेरो घोर आपत्ति छ ।’

उनले प्रश्न गरे, ‘के झगडा स्याङ्जामा छैन, के झगडा तनहुँमा छैन, नवलपुरमा छैनन् डाक्टरसाव झगडा, डडेलधुरामा छैन शेरबहादुर दाई झगडा ? देशका सबै जिल्लामा झगडा छ । तर झगडा छ भनेर कास्कीलाई अवसरबाट बञ्चित गरिनु विडम्वना हो ।’

निरन्तर हाम्रो आन्तरिक झगडालाई देखाएर, बेमेललाई देखाएर कास्कीलाई नदरअन्दान गर्ने प्रयास भएको बताए ।

नेता बरालले थप प्रश्न गरे, ‘स्याङ्जामा भएको दुई सीट छ दुई सिट नै कांग्रेसलाई चाहियो, तनहुँमा २ सीट छ दुवै सीट कांग्रेसलाई, नवलपुरमा पनि दुई सीटमध्ये दुवै सीट कांग्रेसलाई चाहियो । अनि कास्की जिल्ला डम्पिङ साइट हो ? कति जना राजदूत बनाउनु भो, कति जना जिएम बनाउनुभो ? के हामीले झगडा गरेर नपाइएको होे ?’

उनले पार्टीभित्र आन्तरिक विवाद र बेमेल जेसुकै भएपनि यहाँको साथीले अवसर पाउने कुराका एकजुट भएर उभिन सक्नुपर्नेमा जोड दिए । कास्कीको बेमेल देखाएर कास्कीमा कांग्रेस कमजोर बनाउने प्रयत्न निरन्तर नगर्न र अब कास्कीले सहेर नबस्ने उनले चेतावनी दिए ।

कास्की जिल्ला ठूलो जिल्ला भएको भन्दै नेता बरालले २००७ सालको आन्दोलन, ०१८, ०३२, ०३३ को संघर्षमा कास्कीले निरन्तर देशको आन्दोलनमा निरन्तर अग्रणी भूमिका निर्वाह गरेको बताए ।

उनले थपे, ‘कास्कीमा धेरै अग्रज नेताहरु हुनुहुन्छ । धेरै अवसर पाउनुपर्ने साथीहरु हुनुहुन्छ । सबैलाई अवसर नमिल्न सक्छ । आफूलाई अवसरमा जानका लागि लालायित सबै साथीहरु हुनुहुन्छ । त्यही कुरालाई देखाएर तपाइँहरु झगडा गर्नुभाछ त्यसो भएर अन्त सीट दियौँ भन्ने प्रयत्न, कुचेष्टा अब नगरियोस् म सचेत गराउन चाहन्छु ।’

उनले भने, ‘मुख्यमन्त्रीलाई विकास निर्माणमा कसैले योजना चाहिँदैन, कसैले पनि बजेट यहाँ नहाल्न भनेका छैनौँ । तिमीहरु झगडा गर्न थाल्यौ त्यसो भए कसैलाई दिन्न मैले गोरखातिर लगेँ भन्ने चेष्टा कसैले पनि गर्न पाउँदैन, यो मेरो चुनौती हो ।’

उनले सबै नेताहरु संगठनमा एकतावद्ध हुन आवश्यक र जरुरी रहेको भन्दै उनले आन्तरिक एकताले मात्रै एक्लै लड्ने कांग्रेस बनाउन सकिने स्पष्ट पारे ।

सबैलाई मत मतान्तर र अलमलहरु बिर्सिएर कांग्रेसप्रति जिम्मेवार भएर लाग्न आग्रह गर्दै उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र, राष्ट्र र राष्ट्रियता कमजोर हुने जिकिर गरे ।

कास्की कांग्रेसकै कारण धेरै अफ्ठ्यारोमा परेको, धेरै पटक अन्यायमा परेको र धेरै ठाउँमा ठगिएको भन्दै अब तलैबाट नेताहरुलाई खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ