arrow

जनताको अवस्था परिवर्तन नहुँदा संघीयता र गणतन्त्रमाथि प्रश्न उठ्न थाल्यो : नेतृ थपलिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
urmila-thapalaya.jpg

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले नेपाली जनताको आशा र भरोषाको केन्द्रविन्दु कांग्रेस भएको भन्दै  कांग्रेसमाथि नागरिकले धेरै प्रश्नहरु गरिरहेको बताएकी छन् ।

नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनमा उनले भनिन्, ‘त्यो प्रश्न कांग्रेस विरोधी होइन । कांग्रेसप्रति वितृष्णा पैदा भएर या कांग्रेस मनै नपरेर यस्ता प्रश्न गरिएको होइन, कांग्रेसलाई सुधार गर्न गरिएको प्रश्न हो । यस्ता प्रश्नलाई मनन गर्न अति आवश्यक छ ।’

नेपालमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन गर्न नसकिएका कारण रगत बगाएर ल्याएको संघीयता र गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उनले स्पष्ट पारिन् ।

उनले थपिन्, ‘यो ध्रुवसत्य कुरा हो दलका कारण पार्टीप्रति प्रश्न उठेको र दलले गरेको नराम्रा कर्मका कारणले समाजमा प्रश्न उठिरहेको हो ।’

नेपाली कांग्रेसले नेतृत्व गरेर ल्याएको गणतन्त्र र संघीयता कांग्रेसले संरक्षण गर्नुपर्नेमा जोड दिँदै संरक्षण गर्छ भन्ने विश्वास रहेको बताइन् ।

सदिऔँदेखि चल्दै मान्दै आएको धर्मको विरोध नगर्न आग्रह गर्दै उनले सनातन धर्मको संरक्षण र बहस गर्न र नेपाली जनताको भावना के हो भन्ने कुरा बुझ्न आवश्यक भएको बताइन् । धर्म राजनीतिसँग होइन जनताको जनजीवनसँग जोडिएको उनले उल्लेख गरिन् ।

उनले मुलुकमा मिसन ०८१ र मिसन ०८४ को चर्चा चलिरहेको भन्दै नेपाली कांग्रेसको मिसन र संकल्प जनताको समृद्धि र जनताको भावना कदर गर्ने हुनुपर्ने जोड दिइन् । कांग्रेसले एउटा निर्वाचनमात्र नहेरी जनताको भावना बुझेर अघि बढ्न जरुरी रहेको बताइन् ।

पार्टीभित्र एकले अर्काको सम्मान गर्ने, अस्तित्व स्वीकार गर्ने र आदर सत्कार नगर्ने हो भने कांग्रेस कहिल्यै पनि सही ढंगले सञ्चालन हुन नसक्ने बताइन् ।

बीपी कोइरालाले भारतमा पत्रकारसँग गरेको कुराको प्रसंग उल्लेख गर्दै उनले आफ्नो सम्मानका साथ पार्टीमा लागेकाहरुको पार्टीभित्र सम्मान, आदर र एकले अर्कोको अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । ‘सबैभन्दा पहिला आफैभित्र परिवर्तन ल्याउन आवश्यक छ’, उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ