arrow

कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
kaski-congress-sammelan.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसको क्रियाशील सदस्यता नवीकरण नभइ खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको सम्मेलनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

सभापति बरालले क्रियाशील सदस्य नेपाली कांग्रेसका लागि नभइ आफ्ना लागि बनाएको जिकिर गरेका छन् । यसको दोषी नेताहरुमात्र होइन सबै भएको उनले प्रतिवेदनमका उल्लेख गरे ।

अब अनुशासित, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा उनले जोड दिए ।

सभापति बरालले नयाँ क्रियाशील सदस्यबाट विभिन्न तहमा समितिहरुको निर्वाचन गर्नुपर्नेमासमेत जोड दिएका छन् ।

साथै उनले एउटै पदमा धेरै पदाधिकारीहरुको व्यवस्था पनि खारेज गर्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक प्रतिवेदनमा सभापति बरालले राजनीतिक केन्द्रमा जहिले पनि देश र नागरिक हुने उल्लेख गरेका छन् ।

कार्यकर्तालाई चित्त बुझाउन, भाग पुर्याएर आफूलाई काम गर्न सजिलो हुने प्रयोजनका लागि मात्रै एउटै पलमा धेरै पदाधिकारीको व्यवस्था गरेर सांगठनिक गतिविधिलाई अल्मल्याउन नहुने उनले उल्लेख गरेका छन् ।

यस्तै, उनले पार्टीमा उमेर होइन विचारको बहस हुनुपर्नेमा जोड दिएका छन् । अहिले पार्टीभित्र उमेर बहस जोडतोडका साथ उठिरहेको भन्दै उनले स्वस्थ्य राजनीतिक पार्टीले आफ्नो पार्टीभित्र उमेर नभई विचार, दृष्टिकोण र कार्यक्रमको बहस चलाउन आवश्यक रहेको बताए ।

उनले प्रतिवेदनमा भनेका छन्, “युवा भनेका उमेर मात्रै होइन, यो त सिर्जनशीलता, अनुशासन, क्रियाशीलता, आलोचनात्मक चेतनाका साथै विचार, दृष्टिकोण र कार्यक्रम हो । यसैले देशको समृद्धिले व्यक्तिको उमेर होइन, सपना र परिवर्तनप्रतिको संकल्प खोज्दछ ।”

यसैगरी सभापति बरालले पार्टीका सबै तहका कार्यसमितिको आकार सानो र चुस्तदुरुस्त बनाउन आवश्यक रहेको स्पष्ट पारेका छन् ।

उनले स्वतः महाधिवेशन प्रतिवेदन हुने व्यवस्थाको अन्त्य हुनुपर्ने, ट्रेड युनियनहरुको भूमिकालाई परिमार्जन गर्नुपर्ने, दलीय भागवण्डा मुक्त विद्यालय, विश्वविद्यालय निर्माण गर्र्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सम्मेलनमा सचिव देवेन्द्र रानाभाटले वार्षिक प्रतिवेदन र सहसचिव शंकर ढुंगानाले आर्थिक प्रतिवदन पेस गरेका  छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ