arrow

सोरूका दुई दर्जन बस्ती सञ्चारको पहुँच बाहिर, फोन गर्न केन्द्र र सदरमुकाम पुग्नुपर्ने बाध्यता

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८० माघ ५ शुक्रबार
soru-gau-mugu.jpg

मुगु । कर्णाली प्रदेशकै अत्यन्तै विकट मानिने सोरू गाउँपालिका भित्रका अधिकांश बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । सोरू गाउँपालिका करिब सबै र बस्तीलाई समेट्ने गरी निर्माण गरिएका सोरू वडा नं ८ कच्चेकोट र वडा नं ६ पुरूमुरूको लेकमा नेपाल टेलिकमका फोरजी टावर राखेपनी उपकरण जडान गरी सञ्चालनमा नल्याइँदा सोरू गाउँपालिका भित्रका अधिकांश वडाहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको पाइएको हो ।
 
सोरू गाउँपालिका वडा नं ८ तारापानीका स्थानीय प्रेमबहादुर रावलका अनुसार आफन्तको लागि जरुरी खबर गर्न र ईमेल इन्टरनेटबाट डकुमेन्ट पठाउन गाडी चढेर गमगढी जानु पर्ने बाध्यता छ ।

जान आउन गरेर एक दिनमा करिब ३ हजार खर्च हुन्छ । के गर्ने गाउँमा एक कल फोन समेत लाग्दैन । ईमेल, इन्टरनेट त परको कुरा हो रावलले गुनासो पोखे ।
 
रातको समयमा आफन्त बिरामी हुँदा सुत्केरी व्यथा लाग्दा एम्बुलेन्स डाक्नसमेत विकल्प छैन । स्वास्थ्य चौकीका सिनियर अहेब छक्कबहादुर शाहीले सुनाए । 'जिल्लाकै दुर्गम बस्तीमा अवस्थित स्वास्थ्य चौकीमा हुने विभिन्न अफिसियल्ली काम गर्दा ईमेल, इन्टरनेट आवश्यक पर्दछ के गर्ने ? कार्यालयको प्रगतिको रिपोर्टिङ गर्नुपर्छ । सम्बन्धित ठाउँमा कागजात पुर्‍याउन र जानकारी गराउन स्थलगत यात्रा गरी समय खर्चिनु पर्ने बाध्यता छ शाहीले गुनासो गरे । गाउँमा बस्दा कतै खबर आदान प्रदान नहुँदा गुमराहा भई बस्नु पर्ने बाध्यता छ', अहेब शाहीले भने, 'कतै एक कल फोन गर्नु गर्दा कि त अल्को डाँडोमा जानुपर्छ कि त गाडीमा सोरूकोट र गमगढी जानुपर्ने बाध्य अवस्थामा हामी छौँ ।'

सोरु गाउँपालिका तारापानी बजारमा भेटिएका कर्णाली जल परियोजना मुगुका सब इन्जिनियर सुवास कुमार शाहीका अनुसार आफू सोरू गाउँपालिका भित्र खाने पानीका योजना अनुगमन गर्न खटिएको तर भनेको ठाउँबाट घरमा फोन गरौँ भने एक कल फोन पनि नलाग्ने बताए । 

'अफिसमा अनुगमन रिपोर्ट गरौँ भने नेट चल्दैन । साँझ बिहान र फुर्सदको समयमा समाचार हेरौँ भने नेट छैन । यतिकै गुम्राह बस्नु यो हाम्रो बाध्यता हो', शाहीले बताए ।

'सोरूकै फोतु गाउँका बासिन्दा स्थानीय राजबहादुर शाही आफ्नो घरबाट एक कल फोन गर्न डाँडो चढ्नु पर्छ । नेर र ताँजामा त ठ्याम्मै फोन लाग्दैन शाहीले बताए । फोतुमा, फोन लाग्दैन मुस्किलले घर बाहिरबाट फोन लागे पनि आवाज राम्रो सँग सुनिँदैन', शाहीले सुनाए ।

सोरू गाउँपालिका भित्रका अधिकांश युवाहरू इन्टरनेटको पहुँचबाट बाहिर हुँदा विभिन्न किसिमका जानकारी , सूचनाहरू समयमा नै पाउन नसकी विभिन्न अवसरबाट वञ्चित हुनु परेको छ ।

सोरू गाउँपालिका भित्रका तारापानी, गिलाहाँ,नुवाँकोट सीप, रूम,कच्चे,आँसीधारा, ख्याल्च, बुम्च, सिरूपाटा, ताँजा, जडेपानी फोतु लिब्रु, नेर, लगायतका दुर्गम बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेका छन् ।

नेपाल टेलिकमका कर्णाली प्रदेशका क्षेत्रीय निर्देशक उमेश शाहले भने नेपाल सरकारको देश भरिका सबै दुर्गम बस्तीहरूमा सञ्चारमा पहुँच पुर्‍याउने लक्ष अनुसार नेपाल टेलिकमले पनि सरकारको लक्ष पूरा गर्ने नीति अनुरूप आफू अघि बढेको जानकारी गराए । मुगुकै खत्याड गाउँपालिकाको कोटडाँडा र सुकाढिकमा हालै फोरजी सेवा विस्तार भैसकेको छ । 

सोरूमा पनि सबै बस्ती कभरेज हुने गरी सञ्चार सेवा बिस्तारका लागि आफू लागि परेको निर्देशक शाहले बताए । केही वर्ष अगाडि बनेका कच्चेकोट टावर र पुरूमुरू लेकको फोरजी टावरमा बीटीएस उपकरण जडानको काम मात्र बाँकी रहेकाले त्यसलाई पूरा गर्नको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको निर्देशक शाहले जानकारी गराए ।

 हाल टेलिकमसँग बीटीएस उपकरणहरूको अभाव रहेको र कतै जगेडा सेटहरू छन् भने त्यसको खोजी कार्य भइराखेको छ। यदि कतै नभेटिए खरिद प्रक्रियाका गएर भए पनि टावर सञ्चालन गरिनेछ ।

टावरसँगको लिङ्क बिना फोरजी सेवाको विस्तार सम्भव नहुने भएकाले छायाँनाथ रारा नगरपालिकाको थार्प मालिकी लेकमा बन्दै गरेको टावर सम्पन्न हुँदा साथ लिङक गराए कच्चेकोटको टावरले काम गर्ने निर्देशक शाहको भनाइ थियो । 

'पुरूमुरू लेकको टावरसँग हुम्लाको तल्लो भेग मैलाको टावरसँग लिङ्क गराइने छ', शाहले भने । हाल मौसम प्रतिकुलताका कारण काम कारबाहीमा केही ढिलाइ भए पनि मौसममा सुधार आउन साथ प्रक्रिया अघि बढ्ने छ ।

सोरू गाउँपालिका, खत्याड गाउँपालिकामा हाल निर्माण भैसकेका र निर्माण हुँदै गरेका फोरजी टावरहरूले कभरेज नगरेका स्थानहरूमा पुनः अध्ययन गरी सबै प्रक्रिया पूरा गरी सञ्चार सम्पर्क भन्दा बाहिर रहेका बस्तीलाई पनि सञ्चारको पहुँचमा जोडिने निर्देशक शाहले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ