arrow

माधव नेपाल ठोकुवा गर्दै भन्छन् – जनताले अब कुनै राजालाई स्वीकार्दैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
madhav-kumar-nepal-2080-06.jpg
तस्बिर-फाइल

वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताए ।

“हामीले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो”, उनले भने, “अब गणतन्त्रलाई कसैले मास्न सक्दैन ।” 

संविधानमा केही त्रुटि भएको र त्यसमा सुधार ल्याएर अघि बढ्नु जरुरी रहेको उनले बताए । शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको भन्सार नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्नुपर्ने धारणा राखे । 

अर्थतन्त्रलाई मजबुत बनाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकिए मुलुकको अर्थतन्त्रले फड्को मार्ने र बेरोजगारी समस्या समाधान हुने दाबी गरे । 

भ्रष्टाचार देशकै महारोग भएकाले यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धन नभएसम्म विकास र समृद्धि सम्भव नभएको जिकिर गरे । 

सो पार्टीका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले पार्टी सङ्गठनलाई सुदृढ पार्न जनता केन्द्रित अभियानका साथ गाउँगाउँ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ