नाबालिग बलात्कार आरोपी सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाइ
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
820
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । १५ महिनादेखि चलिरहेको बलात्कार आरोपको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको छिनोफानो अझै हुन सकेको छैन । नाबालिग बलात्कार जस्तो गम्भीर आरोपको मुद्दामा उनले सहुलियत पाउँदै आएका छन् ।
उनलाई धरौटीमा रिहा गर्नेदेखि लिएर क्रिकेट खेल्न दिनेसम्मको काम त भयो नै विदेशमासमेत खेल्न जानका लागि आदेश दिइयो । न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।
अब भने फैसलाको मोडमा पुगेको देखिएको छ । आइतबार फैसला बहस नसकिएपछि अब बुधबारका लागि समय तोकिएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुने भएको हो ।
जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।
सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ । त्यसको फाइदा उनले गत चैतदेखि लिँदै आइरहेका छन् । उनले चैतमै नेपालको तर्फबाट क्रिकेट खेलेका थिए । उनले अहिलेसम्म पनि खेलिनै रहेका छन् ।