दोस्रो स्थानका लागि जित्नैपर्ने दबाबमा खेल्यौँ : कप्तान लामिछाने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
851
Shares
काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टिम प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसारको योजना बनाएर खेलेको बताएका छन्। उनले फिल्डिङ रोजेसँगै जितका लागि जुनसुकै ठूलो लक्ष्य दिए पनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको जानकारी दिए। उनले बलिङमा बीचमा केही ठाउँमा चुकेको भए पनि समग्रमा राम्रो खेलेको र ओपनिङ पार्टनरसिप नै जितका लागि महत्त्वपूर्ण भएको उल्लेख गरे।
विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ-बायाँ हाते ब्याट्सम्यान भएकाले रन बढी बटुल्न सकेको बताए। विश्व क्रिकेटमै सन्दीप 'स्पेशल बलर' रहेको बताउँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने बताए। उनले नेपालमा क्रिकेटको विशेष माहोल रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए।
यता, सुदूरपश्चिम रोयल्सका खेलाडी आरिफ शेखले समग्रमा आजको खेल राम्रो भएको र उनीहरूले प्रयास गरेअनुसार नै खेल भएको बताए। उनले आजको खेलमा प्लेइङ ११ मा नयाँ खेलाडीलाई मौका दिएको र यसले आउने खेलका लागि राम्रो हुने विश्वास व्यक्त गरे। उनले पावर प्लेमा राम्रो बलिङ हुन नसकेको स्वीकार गर्दै, आफूहरू दबाबमा नरहेको तर विराटनगर किंग्सले पावर प्लेमा राम्रो ब्याटिङ गरेको बताए। नेपाली खेलाडी र नागरिकका लागि विश्वकै चर्चित खेलाडीहरू आएर खेल्नु राम्रो भएको र आफूहरूले पनि सिकिरहेको बताए। उनले आफ्नो टिम विदेशी खेलाडीमा मात्रै निर्भर नरहेको र नेपाली खेलाडीहरूले राम्रो खेलिरहेको पनि बताए।