बीपीएलमा आज सन्दीपको परीक्षा: आफ्नै पूर्व टोली सिलेटविरुद्ध मैदान उत्रँदै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
670
Shares
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली राजशाही वारियर्सले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा आज आफ्नो पहिलो खेल खेल्दैछ। सन्दीप दोस्रो पटक बीपीएलमा सहभागी हुन लागेका हुन्। आज दिउँसो १:४५ बजे सुरु हुने खेलमा राजशाहीले सिलेट टाइटन्सको सामना गर्ने तालिका रहेको छ।
सन्दीपका लागि यो खेल विशेष र रोचक हुने देखिएको छ। सन् २०१९ मा उनले सिलेट टाइटन्सबाटै बीपीएलमा डेब्यु गरेका थिए। यसपटकको सिजनमा नयाँ टोली राजशाहीबाट खेल्दा उनले पहिलो खेलमै आफ्नो पुरानो टोली सिलेटविरुद्ध मैदान उत्रने अवसर पाएका हुन्। उत्कृष्ट लयमा रहेका सन्दीप आजको खेलको सुरुआती ११ (प्लेइङ–११) मा पर्ने प्रवल सम्भावना छ।
बङ्गलादेशको राष्ट्रिय टोलीका कप्तान नजमुल हुसेन शान्तोको कप्तानीमा रहेको राजशाही वारियर्समा सन्दीपसँगै न्युजिल्यान्डका चर्चित अलराउन्डर जिमी निशम पनि रहेका छन्। निशमले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) समेत खेलेका थिए।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा नेपालको बलियो उपस्थिति जनाउँदै आएका सन्दीपको पुनरागमनले बीपीएलप्रति नेपाली क्रिकेट फ्यानहरूको चासो र उत्साह थप बढेको छ।