arrow

कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
Bishwo Prakash Sharma Baglung.jpg

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।

कांग्रेसको गलकोट नगर समितिद्वारा शनिबार बागलुङको गलकोटमा आयोजित एक कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।

“आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ”, महामन्त्री शर्माले भने, “पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।”

कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए ।

महामन्त्री शर्माले देशलाई अब विकासमात्र नभएर गुणस्तरीय विकास चाहिएको बताए ।

यता, महामन्त्री शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताए । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउए ।

“कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?”, महामन्त्री शर्माले भने, “२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।” उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । 

महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले बताए । 

“देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन”, उनले भने, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” 

उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ