arrow

प्रहरीले घुस खाँदैन भन्ने डीआईजीका प्रदेशभर घुमुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल कोशी (बराह बाहिनी) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेलले आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने भन्दै प्रचारका अनेकन कार्य गर्ने गरेका छन् । 

प्रहरी प्रधान कार्यालयलाई नै चुनौती दिएर विपद् व्यवस्थापनको तालिम दिएका पोखरेलले केही समयअघि मोरङका पत्रकारलाई लगेर कोशीमा डुबाएका थिए । त्यस लगत्तै सशस्त्र प्रहरीले घुस खाँदैन भन्दै आफू निकट रहेका प्रहरी कर्मचारीलाई घुमुवाको रुपमा खटाएका छन् । 

त्यतिमात्र होइन उनले बाहिनीपतिको जिम्मेवारी सम्हाले लगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घुमुवा खटाएर ड्युटीमा खटिएका प्रहरीमाथि नै निर्घात कुटाएका थिए । 

गत जेठमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गरेका थिए । 

ड्युटी राम्रो नगरेको र तस्करीलाई सघाएको भन्दै पोशाकमा ड्युटी गरिरहेका प्रहरीलाई कुटपिट गरेको घट्नामा निरीक्षक राई यतिबेला निलम्बनमा छन् । सो टोलीको कुटपिटबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका थिए । तर डिआइजी पोखरेल भने घुमुवा खटाएर  बसिररहेका छन् ।

साथै बोर्डर आउटपोष्ट (बीओपी)मा आफू निकटका कर्मचारी खटाउन उनले भैरहेका र सरुवाको समय अवधिसमेत नपुगेका कर्मचारीलाई विभिन्न बहाना बनाएर फिर्ता पठाउने दुःख दिने काम गरिरहका छन् । 

सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको छ । 

डीआईजी पोखरेल आफैँले खटाएका प्रहरी सहायक निरीक्षक कुँवरले झापामा अवैध असुलीका लागि सेटिङ मिलाउने काम गरेको पाइएको हो । डीआईजी पोखरेलले विश्वास पात्रका रूपमा खटाएका सिकेन्द्रले असुली धन्दा चलाउने गरेको खुलासा भएको हो । 

डीआईजीबाट परिचालित घुमुवा सिकेन्द्र आफैँले तस्करीमा संलग्न साना कारोबारीका सबै कारोबार ठप्प पार्दै ठूला कारोबारीसँग मात्र साँठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रबन्ध मिलाउन सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ । 

उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाईसमेत दुःख दिने गरेको प्रहरी स्रोतकै दाबी छ । जिल्लाको घुमुवा भएर काम गरिसकेका उनले भद्रपुर र काँकडभिट्टासहितका नाकाबाट भित्रिने र बाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । 

सोबापत उनले मोटो रकम असुल्ने गरेको स्रोतको दाबी छ । डीआईजी पोखरेलको विश्वास पात्र बनेका सिकेन्द्रको सरूवा सिन्धुपाल्चोक भए पनि उनी शक्तिको प्रयोग गर्दै झापामा बसेका छन् । 

झापामा दबदबा जमाएर बसेका उनीसँग सशस्त्र प्रहरीका अधिकृतहरू नै हच्किने गरेका छन् । यता सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको विषयमा डीआईजी पोखरेल मौन रहेका छन् । 

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका–५, बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्र्याक्टर र अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो । 

यतिमात्र होइन राज्यकोषको पनि उनले दोहन गरेका छन् । उनले गरेका घटनक्रमहरु बाहिर नआउन भन्नका लागि पत्रकारका घर परिवारका सदस्यलाई विमानस्थलमै लिन गाडी पठाउने र त्यही गाडीबाट घरसम्म छोड्ने गरेका छन् । 

काठमाडौँबाट विराटनगर पुगेका पत्रकार पत्नीलाई उनले यस्तो सुविधा दिने गरेको सशस्त्र प्रहरीकै एक कर्मचारीले बताए । डीआइजीले जानु लिएर आउनु भनेपछि हामी जानु परिहाल्यो, अनेक प्रचारबाजीको काम गर्नुपरेको छ त्यही भएर काठमाडौँबाट आउने पत्रकारलाई मात्र होइन उनीहरुको परिवारको लागि पनि सशस्त्रको गाडी प्रयोग भएको छ’, स्रोतले भन्यो । 

खासगरी डीआईजी पोखरेलको  लापरबाहीका कारण कात्तिकको तेस्रो साता पत्रकारहरु ठूलो दूघर्टनाबाट बचेका थिए । दुई दर्जन पत्रकारको झण्डै ज्यान गएको थियो ।

सुनसरीको पकलीमा आयोजित गोताखोर तालिममा आयोजक र आमन्त्रित पत्रकारहरुको असावधानीका कारण  ठूलो दुर्घटना हुनै लागेको थियो । पोखरेल डीआईजी भएर पोकली गएपछि चितवनकै जस्तो गोताखोर तालिम गराएका थिए । 

सो तालिम केही हप्ता मात्रै चलेको थियो । जबकि सशस्त्र प्रहरीमा बाहिनीमा आफैँ तालिम केन्द्र बनाउन पाइँदैन । तर उनले सशस्त्र मुख्यालयलाई चुनौती दिँदै तालिम गराएका थिए । 

त्यसक्रममा कात्तिक १७ गते चतरामा तालिमको अन्तिम प्रवचन राखिएको थियो । कोशीका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि थिए । त्यही क्रममा सुनसरी र मोरङका उनीहरुलाई डुंगा चढाउँदै उदयपुरतर्फको किनारमा पुर्याइएको र तालिमस्थलसम्म उनीहरुलाई सशस्त्र प्रहरीको गाडीमा हालेर लगिएको थियो । 

त्यसक्रममा नदीमा डुंगा डुब्दा पत्रकारहरु बालबाल बाँचेका थिए  । डुबेर मुश्किलले बाँचेका पत्रकारहरुमा कान्तिपुर टेलिभिजनका विराटनगर सम्वाददाता महाप्रसाद खतिवडा, क्यामरा पर्सन शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह, रेडियो नेपालका कुमुद अधिकारी, जितेन्द्र ठाकुरलगायत थिए । गोताखोर तालिमको प्रमुख डीएसपी वीरेन्द्र खनाल थिए । 

यस्तो गम्भीर विषयलाई पनि डीआईजी पोखरेल लुकाउन सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ