arrow

जहाँ शिक्षक र विद्यार्थी शौच गर्न दौडिन्छन् झाडी तर्फ

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
malika-mavi.jpg

मुगु । सरकार वैदेशिक दात्री निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लाहरूमा रहेका विद्यालयहरूका विधाथी तथा शिक्षक शौच गर्न अझै झाडी तिर जान्छन् भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

अचम्म पनि किन नलागोस् किन २०७६ असोज १३ गते खुल्ला दिशा मुक्तका मानक पूरा गर्ने नेपाल दक्षिण एसिया कै पहिलो देश भएको भन्दै नेपाललाई खुल्ला दिशा मुक्त देश तामझामका साथ घोषणा गरियो भने मुगु जिल्लालाई पनि खुल्ला दिसा मुक्त जिल्ला भनेर लाखौँ बजेट खर्च गर्दै २०७५ जेठ २८ गते घोषणा गरिएको थियो ।

अझै पनि गाउँघर र विद्यालय तिर कसैलाई दिसा पिसाब लागे पाखा,झाडी जङ्गल तिर जानू पर्ने अवस्था छ भने किन र कसरी,कसको स्वार्थका लागि देसलाई नै खुल्ला दिशा मुक्त घोषणा गरियो प्रश्न अनुत्तरित छ ।

दुर्गम तथा विकट बस्तीमा भएको भए कुनै कारण दिन सकिन्थ्यो तर सरकारी तथा दातृ निकाय,स्थानीय सरकारको आँखै अगाडि सधैँ देखिरहने जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छरमा अवस्थित २ वटा विद्यालयका शिक्षक तथा विधाथी अझै पनि दिशा पिसाब गर्न झाडी तिर जाने गर्छन् भन्दा जो कोहीलाई अचम्म लाग्छ ।

छायानाथ रारा नगरपालिका वडा न ५ माथितुममा रहेको श्री नव आदर्श आधारभूत विद्यालय र सोही पालिका वडा न १३ रुगा गाउँमा रहेको मालिका आधारभूत विद्यालयमा शौचालय नहुँदा अझै पनि शौच गर्न त्यहाँका विधाथी र शिक्षक झाडी तिर जाने गरेका हुन ।

यी दुई विद्यालय सदरमुकाम नजिक सरकारहरूको नजरमा पर्ने सक्ने ठाउँमा भएकाले प्रतिनिधि अवस्थाका रूपमा यी विद्यालय लिइएको हो सरकार तथा गैरसरकारी निकायका नजर नपुग्ने दुर्गम,विकट बस्तीहरूमा रहेका विद्यालयहरूको अवस्था झन् कस्ता होला ?

मुगु जिल्लामा विद्यालय सरसफाइ तथा स्वच्छताका लागि विद्यालयहरूमा लाखौँको लगानीमा शौचालय बनाउने एनजिओहरू छन् ती एनजिओहरूले कता लगानी गरे त्यो पनि सोचनीय विषय बनेको छ। नाम नछाप्ने सर्तमा एक शिक्षक भन्छन् मुगुमा विद्यालय भवन ३०/४० लाखका बन्छन् शौचालय ६०/६५ लाखका विद्यालयमा शौचालय बनाउने एनजिओ स्थानीय सामान बाहेक सबै आफै ल्याउँछन् ।

 के कति ती सामानको परेको हो विल विद्यालयले देख्नै पाउँदैनन् । उनी भन्छन् स्थानीय सरकार एनजिओ सबै कमिसनमा छन् जुन विद्यालयमा कमिसन आउँछ पावरवाला छन् उतै भौतिक संरचना बनाउँछन् निरीह र पावर पहुँच नपुग्ने विद्यालयका शिक्षक,विधाथी चुहिने भवन बसेर पढ्न पढाउन र दिशा पिसाब लागे झाडी चाहर्न बाध्य छन् ।

नव आदर्श आधारभूत विद्यालयका शिक्षक विनोद कुमार मल्ल भन्छन् विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संस्था,सरकारी निकाय बाकी छैनन् । 

शौच गर्न बालबालिका झाडी तिर जाँदा लडेर हात खुट्टा भाँचिएका,चिप्लिएर चोटपटक लागेका कयौँ घटनाहरू छन् ।

हामी शिक्षकहरू शौच गर्न तुम गाउँका स्थानीयहरूका शौचालय जान्छौ । उनले भने गत वर्ष छायानाथ रारा नगरपालिकाले २ कोठे विद्यालय भवन बनाइदियो यो वर्ष खानेपानी र शौचालय बनाइ दिन्छौ भनेर नगरप्रमुखले भन्नू भएको छ हेरौँ ।

उता मालिका आधारभूत विद्यालय रुगामा पनि एक शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउँदा शौचालय लग्यो । त्यस यता धेरै निकायमा शौचालय बनाइ दिन आग्रह गर्‍यौ कतै सुनुवाइ भएन । 

दिसा पिसाब लाग्दा झाडी,जङ्गल र गाउँलेका निजी शौचालय जानू बाहेक अर्को विकल्प छैन । विद्यालयका प्राध्यापक चन्द्रबहादुर शाहीले समस्या सुनाए ।

सोही विद्यालय कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्छन् दिशा पिसाब लागे घर वा झाडी तिर जान्छौ । झाडी तिर जाँदा डर लाग्ने गरेको र आफू एक चोटि दिशा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको थियो ।

कक्षा ४ मा अध्ययनरत छात्र राजन रावत भन्छन् दिशा पिसाब गर्न बाहिर जाँदा पढाइ छुट्छ । सर्प,किराको डर लाग्छ । उनी पनि कति चोटि दिशा पिसाब गर्दा आफूलाई चोट लागेको सुनाउँछन् ।

रुगाको विद्यालयमा १८५ विधाथी अध्ययनरत छन् । छाडा शौच गर्दा वातावरण प्रदूषित हुनुका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ ।

समुदायलाई सकारात्मक शिक्षा दिनु पर्ने विद्यालय कै शिक्षक विद्यार्थीले छाडा खुल्ला ठाउँमा शौच गर्नु पर्दा लज्जित हुनु परेको शिक्षकहरू बताउँछन् ।

नगरपालिका मातहतका ४५ विद्यालयहरू मध्य केही विद्यालयमा नयाँ भवन बनाउँदा,बाढी पहिरो आउँदा तथा भएका शौचालय जीर्ण हुँदा शौचालय विहीन हुनु परेको नगरपालिकालाई अवगत छ चालू वर्ष मै त्यस्ता विद्यालयमा छात्र छात्रा मैत्री शौचालय बनाउने योजना नगरपालिकाले बनाएको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ