arrow

गृहयुद्धमा आफूमाथि भएका यौनहिंसाका लागि न्याय मागिरहेका नेपाली महिला

logo
सुनिता न्यौपाने,
प्रकाशित २०८० मंसिर ९ शनिबार
devi-khadka-2080-maoist.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीमा आबद्ध हुँदा देवी खड्का फगत १७ वर्षकीमात्र थिइन् । त्यो समय माओवादीको समर्थन गर्ने उनको परिवारका लागिमात्र नभएर सबै नेपालीका लागि नै कठिन समय थियो । देश सशस्त्र द्वन्द्वको भुमरीमा फसेको थियो । जसमा १७ हजार मानिसले ज्यान गुमाउन पुगे भने दुई हजार पाँच सय भन्दा बढी बेपत्ता भएका थिए ।

खड्कालाई स्वतन्त्रताको उन्मुक्त हाँसो हाँस्ने धोको थियो । उनले वैचारिक कारणलेमात्र नभएर व्यक्तिगत कारणले पनि हतियार उठाएर युद्धको अग्रपङ्क्तिमा जाने निर्णय लिएकी थिइन् । सन् १९९८ को कुरा हो । नेपालमा राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि माओवादीले गृहयुद्ध शुरु गरेको दुई वर्ष भइसकेको थियो । यो समयमा सरकार र माओवादी पक्षबिच बदला र प्रतिशोधको भावना यसरी पैदा भएको थियो कि सुराकीकै भरमा दुवै पक्षले सर्वसाधारणलाई जासुसको ट्याग लगाउँदै गिरफ्तार, अपहरण वा हत्या गर्न थालेका थिए ।

खड्का माओवादी पार्टीमा आबद्ध हुनुअघिदेखि नै पार्टीका विचारसँग सहमत थिइन् । तर उनी सन् १९९८ पछिमात्र आफू माओवादी कार्यकर्ता र लडाकु भएको बताउँछिन् । तर सन् १९९७ मा स्थानीय बजारमा जाँदै गर्दा उनलाई सशस्त्र प्रहरीले गिरफ्तार गर्यो र बेपत्ता बनायो । उनी माओवादी नेता रितबहादुर खड्काकी बहिनी भएकै कारण आफूलाई यसरी प्रहरीले पक्राउ गरेर लगेको बताउँछिन् । उनका दाजुको पछि सन् २००२ मा हत्या भएको थियो ।

उनलाई हतकडी लगाएर राखिएका बेला दिनदिनै सिस्नो लगाउने र बारम्बार बलात्कार गरिने गर्थ्यो । उनी आफूलाई हरेक दिन उही सात जनाले “एक काखबाट अर्को काखमा गर्दै” बलात्कार गरेको बताउँछिन् । खड्का भन्छिन्, “मलाई बलात्कार गर्दा गर्दै ए तैँले राजसंस्था ढाल्ने ? तँ फिस्टीले गणतन्त्र ल्याउने ? भनिरहे ।” 

उनलाई २८ दिनसम्म प्रहरी हिरासतमा राखियो र त्यसपछि चार महिना जेल चलान गरियो ।

हाल ४२ वर्षिया खड्कालाई आफू रिहा भएपछि समाजले स्वीकार नगर्ला भन्ने डर लाग्यो । उनी घर फर्केपछि उनकी आमाले “तँ उतै मरेको भए हुन्थ्यो” भनेपछि बलात्कार आफ्नै गल्तीको कारण भएको भन्ने कुराले उनलाई पछिसम्म लखेटिरह्यो ।

खड्काको जन्म काठमाडौँ उपत्यकाबाट ९० किलोमिटरको दूरीमा पर्ने दोलखा जिल्लाको हिमाली गाउँ जुँगुमा भएको थियो । त्यतिबेला आफ्नो वरपर जताततै विभेद नै विभेद हुने गरेको उनी बताउँछिन् । 

धनीले गरिबलाई, सामन्तले भूमिहीनलाई र पुरुषले महिलालाई विभेद गर्ने गर्थे । उनले सानै उमेरदेखि राजनीतिमा लागेर महिला अधिकारका लागि काम गर्ने निर्णय गरेकी थिइन् तर आफैँ द्वन्द्वको शिकार बनेपछि भने उनी युद्धमा प्रत्यक्ष रूपमा होमिन पुगिन् ।

पुरुषको छाया मात्रै पर्यो भने पनि महिलाको इज्जतमा दाग लाग्छ भन्ने सामाजिक परिपार्टीमा हुर्केकी खड्कालाई आफूले आफ्नो कथित इज्जत र अस्मिता जोगाउन नसकेकोमा निकै पछुतो भयो ।

पूर्वसांसद तथा अभियन्ता बिन्दा पाण्डे भन्छिन्, “हाम्रो समाजमा पितृसत्ताले जहिले पनि महिलाहरूको अस्मिता उनीहरूको योनीमा हुन्छ भनी व्याख्या गरेको छ । महिलामाथि भएको यौन हिंसालाई जघन्य अपराधको दृष्टिकोणबाट नहेरी अस्मिता लुटियो भन्ने मानसिकताबाट हेरिन्छ ।”
 
रिहा भएको वर्षौँसम्म पनि खड्का डिप्रेसनसँग जुधिरहिन् र उनलाई आत्महत्या गर्ने सोच मात्र आउँथ्यो । उनलाई “बलात्कार” शब्द उच्चारण गर्न वा कसैले यो शब्द भनेको सुन्दा पनि कहाली लाग्थ्यो । उनी भन्छिन्, “महिलाको ठुलो डर नै लाजको डर रहेछ ।“
 
त्यसपछि उनले सन् १९९८ मा हतियार उठाइन् । उनी माओवादीको सशस्त्र बल जनमुक्ति सेनाको कमान्डर बनिन् । सन् २००२ मा उनी दोलखा माओवादीको जिल्ला सचिव भइन् र उनले सन् २०११ देखि २०१३ सम्म तत्कालीन भौतिक योजना तथा विकास मन्त्रालय (हालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) मा राज्यमन्त्री भएर काम गरिन् ।

उनी आफू मन्त्री हुनुअघि बलात्कारमा परेका अरू तीन जना महिलासँग मात्र परिचित रहेको बताउँछिन् । मन्त्री भएपछि अरू पीडित महिलाले पनि उनीसँग यो मुद्दा उठाउने प्रयास गरे । तर डिप्रेसनसँग जुधिरहेकी उनले सुरुमा कुनै प्रतिक्रिया दिन सकिनन् । पछि आफूले यस सम्बन्धमा आवाज उठाउन खोज्दा आफ्नो पार्टीले साथ नदिएको उनी बताउँछिन् ।

यसरी बोल्न नसक्दा उनको मन निकै भारी हुँदै गयो । उनी जति धेरै पीडितहरू भेट्थिन् उनलाई त्यति नै युद्धको क्रूरताको आभास हुँदै जान्थ्यो । सामूहिक बलात्कारको शिकार बनेका महिलाहरूले शारीरिक, मानसिक र आर्थिक चुनौतीहरूको सामना गरिरहेका थिए । 

केही महिलाहरूमा पाठेघर झर्ने समस्या आउने गर्थ्यो तर उनीहरूले सामाजिक बहिष्कारको डर र आर्थिक चुनौतीका कारण उपचार प्राप्त गर्न सकेका थिएनन् । केही महिलाहरूलाई त जनावर लगाएर निर्मम तरिकाले बलात्कार गरिएको थियो । 

द्वन्द्व पीडित महिलाहरूले सुरक्षित रूपमा आफ्नो कथा बताउन सक्ने वातावरण बनाउनका लागि उनीहरूसँग मिलेर काम गरिरहेको द स्टोरी किचन संस्थाकी संस्थापक जया लुइँटेलका अनुसार बलात्कारमा परेका महिलाहरूको योनीमा डण्डा र बन्दुक घुसाइन्थ्यो र अझ् नुन खुर्सानीसमेत दल्ने गरिन्थ्यो । 

यस्ता क्रूरताका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । नेपालको पश्चिमी जिल्लामा जन्मेकी चौधरी थर भएकी एक महिला आफू १३ वर्षको उमेरमा सन् २००१ मा बलात्कारमा परेको बताउँछिन् । बलात्कारमा परेका महिलाप्रतिको नकारात्मक दृष्टिकोणका कारण आफ्नो थर मात्र खुलाएकी उनलाई बलात्कारीहरूले आफ्नो कपडा खोलेर 'यो जासुस हो' भन्दै चिच्याएको सम्झना आउँछ । 

उनको टाउकोमा बेस्सरी प्रहार गरेपछि उनले होस गुमाएकी थिइन् । ब्युँझदा, उनी सर्वाङ्ग नाङ्गै थिइन् र उनको शरीर रक्ताम्य थियो । दुई पटकसम्म बलात्कारमा परेकी उनले आफू बलात्कारमा परेको कुरा कसैलाई पनि बताउन सकिनन् ।

त्यो एकदमै कठिन समय भएको उनी बताउँछिन् । सेना र प्रहरीको डरले गाउँका पुरुषहरू कि माओवादीमा भर्ती हुन्थे कि भारत पलायन हुन्थे । उनको गाउँमा महिलाहरू मात्र बाँकी थिए । सशस्त्र बलले गाउँका महिलाहरूलाई पटक पटक बलात्कार गर्ने गरेको उनी बताउँछिन् ।

नेपाल सरकार र माओवादी पक्षले सन् २००६ मा वृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सरकारले शहीद, घाइते र अपाङ्गहरू पहिचान गर्यो र उनीहरू वा उनीहरूको परिवारलाई राहत दियो । तर बलात्कार वा यौन शोषणका शिकार बनेका महिलाहरूलाई भने पहिचान नगरिएको लुँइटेल बताउँछिन् ।

यो मुद्दा सम्बोधन गर्नका निम्ति खड्काको नेतृत्वमा देशभरका महिलाहरू सङ्गठित भएर राज्यलाई द्वन्द्वमा यौन हिंसा भोगेका महिलाहरूको पहिचान गर्न माग गरिरहेका छन् । साथै, उनीहरूले सरकारले पीडित महिलाहरूको शारीरिक र मानसिक उपचारको जिम्मेवारी लिनु पर्ने र कानुनी लडाइँमा समर्थन गर्नु पर्ने लगायतका माग राखेका छन् ।

शान्ति सम्झौतापछि द्वन्द्वको सङ्क्रमणकालीन अवस्थाबाट बाहिर ल्याउनका लागि हरेक गाउँमा शान्ति समितिहरू गठन गरिएका थिए । खड्काले जस्तै चौधरीले पनि आफूले भोगेको हिंसाका बारेमा उजुरी गरेकी थिइन् तर बलात्कार र यौन हिंसा पीडितका लागि छुट्टै कोटी नराखिएकाले उनको उजुरीलाई “घाइते” का रूपमा दर्ता गरियो ।

खड्का बोल्दा सोचमग्न भएर नरम आवाजमा बोल्ने गर्छिन् । आफ्नो बलात्कारको विषयमा कुरा गर्दा उनले बिचबिचमा टक्क रोकिएर पानी पिउने, आफूलाई सम्हाल्ने र अत्तालिएर बोल्ने गरिरहेकी थिइन् । तर महिला सङ्गठित गर्ने कुरा गर्दा उनको अनुहार र आवाज जोसिलो थियो ।

१७ अगस्तमा काठमाडौँस्थित आफ्नो भान्छामा चिया बनाउँदै गर्दा रोकिएकी देवी खड्का । तस्बिर सुनिता न्यौपाने, जीपीजेएन ।

पीडितलाई न्याय दिलाउन अझै धेरै काम गर्न बाँकी छ । दश वर्षे द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिन गर्न स्थापना गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोगले जनाएअनुसार बलात्कार र यौन हिंसामा परेका ३१४ जना महिलाहरूले उजुरी दर्ता गरेका छन् । खड्का पनि तीमध्ये एक हुन् । उनको सञ्जाल तीमध्ये १० प्रतिशत महिलासँग जोडिएको छ । उनी उजुरी गर्ने अधिकांश महिलाहरूलाई सरकार पक्षले र बाँकीलाई विद्रोही लडाकूहरूले शोषण गरेको बताउँछिन् ।

सरकारले सन् २०११ मा द्वन्द्व प्रभावित महिलाहरूलाई सहायता गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको प्रस्तावबमोजिम आफूले चाल्न लागेका कदमहरूका बारेमा विस्तृत विवरण उल्लेख गरेर राष्ट्रिय कार्ययोजना तर्जुमा गरेको थियो । तर सन् २०१६ मा म्याद सकिएको उक्त कार्ययोजनाले यौन हिंसामा परेका महिलाहरूलाई सम्बोधन नगरेको गृह मन्त्रालयकी उपसचिव अजिता शर्मा बताउँछिन् । ती मुद्दाहरूलाई नै सम्बोधन गर्ने भनेर सरकारले दोस्रो कार्ययोजना पनि बनाएको उनी बताउँछिन् । यो कार्ययोजनामा बलात्कार र यौन हिंसामा परेका महिलाहरूलाई विशेष जोड दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल राज्यले त्यस्ता घटना घट्नबाटै रोक्नु पर्ने बताउँछन् । उनी भन्छन्, “ राज्यले स्वतःस्फूर्त रूपमा न्याय प्रदान गरेको भए सङ्गठित हुनु पर्ने अवस्था आउँदैनथ्यो । राज्यले न्याय प्रदान गर्न नसकेपछि महिलाहरू न्याय माग्नको लागि सङ्गठित भए । त्यसले राज्यलाई न्याय प्रदान गर्न घच्घचाउँछ ।" उनी थप्छन्, “द्वन्द्वमा बलात्कार र यौनजन्य हिंसा भएको महिलाहरूले प्रमाण पुर्याउन बहुत गाह्रो छ । महिलाले भनेको कुरा नै प्रमाण हो त भनिन्छ तर, यस्ता घटनामा त्यतिले मात्र पर्याप्त हुँदैन ।"

अहिलेसम्म केही बोल्न नसकेका महिलाहरूका लागि खड्का “आवाजविहीनको आवाज” बनेकी श्रीजना श्रेष्ठ बताउँछिन् । श्रेष्ठ काठमाडौंस्थित द्वन्द्व पिडीत महिला राष्ट्रिय सञ्जाल नामको फोरममा आबद्ध छिन् । द्वन्द्वका बेला उनको श्रीमानको हत्या भएको थियो ।

तर सबैले खड्कालाई आशाको किरण भने ठान्दैनन् । शान्ति माया तामाङ पाख्रिनको श्रीमानको सन् २०२२ मा हत्या गरिएको थियो । पाख्रिन आफ्नो श्रीमानले चन्दा दिन अस्वीकार गरेकाले विद्रोही सेनाले उनको हत्या गरेको आरोप लगाउँछिन् । द्वन्द्वकालका महिलाहरूलाई यसरी अहिले सङ्गठित गर्नु पछाडि खड्काको निहित स्वार्थ रहेको र उनले आफू शक्तिमा पुग्नका लागि यो मुद्दालाई भर्याङको रूपमा प्रयोग गरेको पाख्रिनको बुझाइ छ । उनी भन्छिन्, “राजनीतिक पाटोबाट आफू अगाडि बढ्ने नदेखिएपछि विभिन्न अभियान चलाएर पपुलारिटी बटुलेको हो ।”

तर खड्का भने आफू आफ्नो भूमिकाप्रति दृढ रहेको बताउँछिन् । उनी भन्छिन्, “यदि म यो लडाइँमा असफल भएँ भने न्याय खोज्ने महिलाको इतिहास मेटिने छ ।“

(यो लेख शुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो। ग्लोबल प्रेस जर्नल अवार्ड विजेता अन्तर्राष्ट्रिय गैर नाफामूलक समाचार संस्था हो, जसले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा रहेका आफ्ना ४० भन्दा धेरै स्वतन्त्र समाचार ब्युरोहरूमा स्थानीय महिला रिपोर्टरहरूलाई रोजगारी प्रदान गर्दछ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ