arrow

सत्ता गठबन्धनबाट उपेन्द्र यादव फड्कने संकेत, बालकोटतिर हिमचिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
oli-upendra-yadav.png
तस्बिर – फाइल ।

काठमाडौँ । वर्तमान गठबन्धन भत्काउने नाममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट बाक्लिएको चर्चाले राजनीतिक बजार तताएको छ । 

कोशी प्रदेशमा एमालेले नेपाली कांग्रेसका नेता केदार कार्कीलाई समर्थन गरेर सरकार बनाइदिएपछि सत्ता गठबन्धनमा एक प्रकारको भूकम्प गएका बेला ओली–यादवबीच भेटघाट भएको चर्चाले राजनीतिक बजारमा तरंग ल्याएको हो । 

यद्यपि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भने तत्काल सत्ता समीकरण फेरबदल गर्ने गरी एमालेको ध्यान नभएको बताएका छन् । ‘उहाँहरुबीच भेटघाट र कुराकानी भएको छैन’, पौडेलले भने ‘एमालेको ध्यान अहिले सत्तामा होइन जनतामा हो ।’

आगामी मंसिर १४ गतेदेखि पुष्पलाल लोकमार्गमा एमालेको आफ्नै कार्यक्रम भएकाले त्यसतर्फ ध्यान केन्द्रित भएकाले यो विषयमा एमाले केन्द्रित नभएको उनले बताए । 

वर्तमान सरकारमै रहेका कारण जसपा अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीलाई भेटेको भन्ने सत्य नभएको पनि एमालेका एक नेताले भने । ‘यादवले दशैँअघि अध्यक्षलाई भेट्नु भएको थियो तर त्यतिबेला गौर हत्या काण्ड र मधेस सरकारको विषयमा कुराकानी भएको थियो त्यसपछि कुनै पनि प्रकारको भेटघाट भएको छैन’, ती नेताको दाबी छ ।  

कांग्रेससँग भएको गठबन्धन तोड्न एमाले अध्यक्ष ओलीले गत पुस १० मा एमाले–माओवादीको सत्ता समीकरणमा प्रचण्ड नेतृत्वको सरकार बनाएका थिए । त्यतिबेला जसपा पनि साथमा रहेको थियो । 

२०७९ फागुन ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेससहित ८ दलको बैठकले एमालेसँगको पूर्वसहमति तोडेपछि जसपा फेरि कांग्रेससँगको गठबन्धनमा सहभागी भएको थियो । यद्यपि यो कायमै छ । 

तर पनि एमालेले उपेन्द्र यादवलाई प्रधानमन्त्री पदको लोभ देखाएको राजनीतिक वृत्तमा चर्चा चलेको छ । 

‘प्रधानमन्त्री दिने वा नदिने भन्ने कुरा एमालेको हातमा छैन, यतिबेला यादवजीहरु कांग्रेस–माओवादीको गठबन्धनमा हुनुहुन्छ त्यसकारण एमालेले यादवजीलाई प्रधानमन्त्री दिने तहमा कुरा गर्दैन र गरेको पनि छैन, यो विषय नितान्त बजार हल्ला मात्रै हो’, एमाले उपाध्यक्ष पौडेलले भने ।  

यतिबेला सत्ता समीकरण फेरबदलका लागि निर्णायक शक्ति मानिएको जसपालाई एमालेले फकाउने पटक–पटक प्रयास गरेको थियो । खासगरी कोशी प्रदेशको सरकार फेरबदलको बेला नै एमालेले कोसिस गरेको थियो । 

कोशीमा जसपालाई फकाउने प्रयास असफल भएपछि एमालेले यादवलाई संघीय सरकारका लागि तत्काल फकाउने वा यो सरकारलाई ढाल्नेगरी कुनै योजना नबनाएको एमाले स्रोतले जनाएको छ । 

एमालेलाई यतिबेला माओवादीले भने अनौपचारिक रुपमा भेटघाटको प्रस्ताव गरिरहेको उच्च नेताहरुले दाबी गरेका छन् । 

उपाध्यक्ष पौडेल, महासचिव शंकर पोखरेलसँग माओवादीका नेताहरुले भेटघाटको प्रस्ताव गरिरहेको स्रोतको दाबी छ  । 

उता एमाले सचिव रघुवीर महासेठ लगायतका नेताहरुले भने जसपा अध्यक्षसँग कुराकानी गरिरहेको पनि स्रोतले जनाएको छ । 

बेलाबखत ओलीसँग राम्रो सम्बन्ध राख्न सफल भएका यादव फेरि पनि बालकोट जान सक्नेतर्फ वर्तमान गठबन्धन दलहरुको शंका रहेको छ । 

संघीय संसदको निर्वाचनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेका बेला त्यहाँबाट भड्किएर यादव एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए । 

सिट बाँडफाँटबारे यादवले असन्तुष्टि पोखिरहेका बेला ओलीले गठबन्धन भत्काए जसपालाई २५ सिट दिन सकिने प्रस्ताव गरेपछि उतै लागेर पुस १० गतेको सरकार बनाउने बेलासम्म उतै बसेका यादव ओलीसँग कुरा नमिलेपछिमात्र कांग्रेससहितको गठबन्धनमा फर्केका थिए । 

अहिले पनि उनी बालकोट जान सक्ने संभावना भने कायमै रहेको गठबन्धन दलका एक नेताले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ