arrow

जाजरकोट–रुकुम पश्चिमको पीडा

एमालेले स्थानीय प्रशासनमार्फत पीडितलाई राहत दिने, अस्थायी टहराका लागि एक हजार स्वयंसेवक खटाउने

सरकारको कोषमा रकम नदिने, पीडित परिवारको बसोबासको लागि अस्थायी घरटहरा र सामुदायिक स्कुलका अस्थायी टहरा निर्माण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
uml-sachibalaya-2080-07-22.jpg

काठमाडौँ । एमालेले भूकम्प प्रभावित जाजरकोट र रुकुम जिल्लामा एक हजार बढी  स्वयंसेवक परिचालन गरी पीडित परिवारको बसोबासको लागि अस्थायी घरटहरा निर्माण गर्ने र सामुदायिक स्कुलका अस्थायी टहरा निर्माण गर्ने भएको छ । 

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो । एमालेले २०७२ सालको भूकम्पमा पनि प्रभावित जिल्लाहरुको तीन लाख कार्यकर्ताहरु परिचालन गरेको थियो । 

एमालेले राहत उद्धार कोषमा भने रकम दिएन । सरकारले सबैलाई सहयोगका लागि अपील गरेको छ । संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुक सम्पूर्णले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गर्न सकिने व्यहोरा उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेको थियो । 

यसका लागि आठ बैंकका नौ खाता दिइएको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक (डलर खाता) खाता दिइएको छ  । 

एमालेले सरकारको खातामा रकम नहाली स्थानीय प्रशासनको माध्यमबाट भूकम्प पीडितको दैनिकीमा प्रयोग हुने खाद्य, लत्ताकपडा लगायतका सामग्रीहरु प्रत्यक्ष दिने भएको हो ।

एमालेले भूकम्पमा परी घरबारविहीन भएका पीडितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको हो । केही दिनमै प्रभावित क्षेत्रमा जाने तयारी भइरहेको एमालेले जनाएको छ । 

पार्टीको समाजिक सेवा केन्द्रले भूकम्प पीडितहरुका लागि राहत सामग्री जाजरकोट र रुकुमपश्चिम पठाउने तयारी गरेको हो । 

यसैबीच एमाले बैठकले जिल्ला अधिवेशनको म्याद जेठ मसान्तसम्म पुर्याएको छ । बुधबार बसेको २५औँ बैठकले अधिवेशनको म्याद बढाएको हो । 

संगठन विभागले आगामी माघ भित्रमा जिल्ला अधिवेशन गर्न निर्देशन दिइसकेको भए पनि सचिवालय बैठकले तत्कालका लागि जेठ मसान्तसम्म गर्नुपर्ने भन्दै म्याद बढाइदिएको हो ।

पार्टीको प्रदेश अधिवेशनहरूमा उम्मेदवार भएका गुलावजंग शाह, कैलाश ढुंगेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र बिनोद ढकालको केन्द्रीय कमिटी सदस्य पद रिक्त भएको हो । 

ढुंगेल बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी दाहाल थिए । उनको पनि पद रिक्त भएको छ । कोशी प्रदेशमा विनोद ढकालको पनि पद गएको छ । कर्णालीमा शाहको पद रिक्त भएको छ । 

गण्डकीमा मायानाथ अधिकारी र लुम्बिनीमा रिजालको पद गएको हो । सचिवालय बैठकले रिक्त पदमा चाँडै नै मनोनयन गर्ने तयारी गरेको छ । एमालेले शिव गुरुङ बुद्धिकुमार राजभण्डारी लगायतका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । 

बैठकले नेकपा स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिवको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित राष्ट्रिय पदयात्रा  अभियान संचालनसहित विभिन्न निर्णय गरेको छ ।  

सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबर्धनका लागि लोकमार्ग केन्द्रित  ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्सिर १४ गते झुलाघाटबाट आरम्भ हुने जनाएको छ । 

साथै राष्ट्र सबल र समृद्ध बनाउने आत्मविश्वासमा अभिवृद्धि जगाउन जनसम्बन्ध विस्तार गरी  जनगुनासो एवं जनताका सुझाव सङ्कलन गर्देै सम्बन्ध स्थानीय र  सन्देश राष्ट्रिय दिइने जनाएको छ । 

यसैगरी पार्टीले मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक बोलाएको प्रचार विभागका सदस्य गगन विष्टले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बस्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ