नेपालको हवाइ क्षेत्रलाई ईयूको सुरक्षा चासोबाट हटाउन अर्थमन्त्री महतको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
585
Shares
काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रहगरेको उनको सचिवालयले जनाएको छ । इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गरे ।
सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो ।
विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयूको टोली नेपाल अनुगमनमा आएन ।
यस वर्ष गत साउन र भदौमा इयूको हवाई सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीको हवाई सुरक्षा चासोमै केन्द्रित भएको थियो ।
हरेक छ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने इयूको हवाई सुरक्षा समितिले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गरेका हुन् । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।