arrow

प्रवक्ताका दुई थरी कुराले संशय कायमै

प्रकाशशरणका दुई थरी कुरा, वार्तामा महामन्त्रीहरूसँग सहमति नगर्ने, मिडियासँग सबै छाड्न तयार रहेको प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
mahat-prakashsaran.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष र संवादका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतको विरोधाभासपूर्ण भूमिका देखिएको छ। एकतर्फ उनले मिडियामा सभापति शेरबहादुर देउवा पार्टी एकताका लागि 'जस्तोसुकै त्याग गर्न र टिकटको हस्ताक्षर समेत छाड्न तयार' रहेको भन्दै सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् भने अर्कोतर्फ वार्ताको भित्री तहमा महामन्त्रीहरूसँग ठोस सहमति जुट्न सकेको छैन।

बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको लामो छलफलमा सभापति देउवाले पार्टी फुट्न नहुने र एकता अक्षुण्ण राख्न आफू कुनै पनि विषयमा बाधक नबन्ने प्रतिबद्धता जनाएको प्रवक्ता महतले दाबी गरे।

महतका अनुसार देउवाले चुनावका लागि उम्मेदवारको टिकटमा गरिने हस्ताक्षरका विषयमा विवाद भएमा, अर्को कुनै नेतालाई त्यो अधिकार सुम्पिन समेत आफू तयार रहेको बताएका छन्। यसलाई देउवाको ठूलो लचकताका रूपमा व्याख्या गरिएको छ।

छलफलका क्रममा सभापति देउवाले महामन्त्रीद्वयलाई कांग्रेसमा उनीहरूको उज्ज्वल भविष्य रहेको स्मरण गराउँदै सबैलाई मिलाएर अघि बढ्न सुझाव दिएका थिए। उनले संसदीय बोर्ड समेत आपसी सल्लाह र समझदारीमा गठन गर्न सकिने प्रस्ताव राख्दै पार्टीलाई बलियो बनाउन महामन्त्रीहरूलाई सक्रिय हुन आग्रह गरे।

भेटमा महामन्त्रीहरूले देउवालाई पार्टीको 'अभिभावक र संरक्षक' बनेर बस्न सुझाव दिए पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्न भने कुनै दबाब नदिएको प्रवक्ता महतले सुनाए। प्रकाशशरणले यी सबै कुरा सुनाइ रहदा वार्तामा भने असहज परिस्थिति सिर्जना भएको थियो ।

यद्यपि, प्रवक्ताले मिडियामा विवाद मत्थर हुने अपेक्षा गरिएको बताए पनि संस्थापन इतर पक्षले भने यसलाई 'रणनीतिक चाल' को रूपमा हेरेको छ। वार्ताको टेबुलमा ठोस सहमति नगर्ने तर बाहिर प्रचारमा सबै कुरा छाड्न तयार भएको देखाउने प्रवक्ता महतको शैलीले कांग्रेसभित्रको अविश्वास अझ बढाएको विश्लेषण हुन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ