काठमाडौँ। दुई दिनको करेक्सनपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अङ्कमा आएको छ। ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ। होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन्।
गत साताको बुधवार १८.६० अङ्क र यो साता आइतबार ३३.२० अङ्कले नेप्से घटेको थियो। सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो। त्यसपछि भने बजारमा केही सकारात्मक माहौल देखिन थालेको हो। यस आधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो।
बिहीबार भने सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन।
यद्यपि, समग्रमा हेर्ने हो भने बजार ओरालो यात्रामै छ। लामो समयदेखि बजारले गति लिन सकेको छैन। नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हाबी छ। क्रेताहरू कम र बिक्रेताको सङ्ख्या अधिक हुँदा बजार २५ महिनादेखि बियरिस यात्रामा रहेको छ।
यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैङ्क अग्रस्थानमा आएको छ। यसै गरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन्।