arrow

६१ किलो सुन प्रकरणमा ५० प्रतिवादी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
kiran-bajracharya.jpg

काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ ।  बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरू मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताइन् । उनले फरार मध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गरिन् । उनले सबै जनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताइन् । 

उनले अनुसन्धानका क्रममा तस्करहरूले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताइन् । उनले योजनाबद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताइन् । 

उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताइन् । उनले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताइन् । उनले सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताइन् । 

प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताइन् । उनले पक्राउ परेका विरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र सङ्गठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन सिफारिस गरिएको बताइन् ।

सीआईबीले पक्राउ परेको चाइनीज समूहले पाँच वटा कम्पनीहरू खडा गरेर अन्य सुनहरू ल्याएको  देखिएको जनाएको छ । नेपाली नागरिकता बनाउने विदेशी नागरिकहरूको विषयमा थप अनुसन्धान गरिने प्रमुख बजाचार्यले बताइन् । उनले सुनको रकम भुक्तानी डिजिटल रूपमा गरेको देखिएको पनि बताइन् । 

सीआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरू अवलम्बन भएको बताएको छ । फरारहरूलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको सीआईबीले बताएको हो । सुन तस्करीमा चिनियाँ नागरिकहरूको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ । 

चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौँमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ । अनुसन्धानका क्रममा ६ वटा कम्पनीमार्फत सुन ल्याएको देखिएको छ । 

हङकङबाट आएको सुन लाजिम्पाट र टोखामा गाल्ने गरेका पनि सीआईबीले जनाएको छ । सुन ल्याउनेदेखि व्यवस्थापन गर्नका लागि तस्करहरूले दुई वटा समूह बनाएको देखिएको छ । हर्कराज राईले भन्सारमा आएको सामान गोदाममा पुर्‍याउने गरेका अनुसन्धानका क्रममा खुलेको छ । युप्टिङ छिरिङले कम्पनी खोल्ने र हर्कराजले कम्पनी खोल्न गरिब नेपाली खोजेर दर्ता गर्ने गरेको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ