arrow

झलनाथले गुमाए सात कक्षादेखिका सहपाठी सुवासलाई

नेम्वाङको निधनबाट खनाल स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
jhalnath-subash.png

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ७ कक्षादेखिका आफ्ना सहपाठी संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङलाई गुमाएका छन् ।  नेम्वाङको निधनबाट खनाल स्तब्ध बनेका छन् । 

नेम्वाङ खनालका  ७ कक्षादेखिको सहपाठी र राजनीतिक सहयात्री थिए । नेम्वाङ र खनालले  त्रिचन्द्र कलेजमा आइएससीसँगै पढेका थिए । उनीहरुले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेका थिए । 

खनालले आज वक्तव्य जारी गर्दै नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । “हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्र्यौँ”, नेता खनालले भने, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उन र म एउटै पार्टीमा लामो समयसँगै काम गर्र्यौँ ।”

आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएको बताए । “मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उनले भने ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएको बताए। नेम्वाङ भौतिक रूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गरेको योगदान सबैका सामु स्पष्ट रहेको उनको भनाइ छ ।

नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ