arrow

वीपी साहित्य महोत्सवः वीपीसँग तुलना गर्ने एउटा पात्र पनि राजनीतिमा छैन– खनाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
bp-sahaitya-mahotsav-2080.jpg

ललितपुर । नेपाली कांग्रेसले तीन दिने वीपी साहित्य महोत्सव आयोजना गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा कांग्रेस मुख्यालय वीपीनगर सानेपामा साहित्य महोत्सव भइरहेको हो । 

बिहान पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक कोइरालाको पूर्ण कदको शालिकमा माल्यार्पण र त्यहाँ गमलामा राखिएको बिरुवामा जल सिञ्चन गरेर महोत्सवको उद्घाटन गरेका थिए । 

वीपीका विषयमा विभिन्न राजनीतिज्ञ र विश्लेषकलाई राखेर अन्तरक्रिया पनि गरिएको छ । तीन दिने महोत्सवको उद्‍घाटन कार्यक्रममा ११० वटा बेलुन उडाइएको थियो । एउटा मूल बेलुनलाई वीपीको तस्बिर, पार्टीको झण्डा, चार वटा तारा, चुनाव चिन्ह अंकितलाई तीन दिनसम्म कार्यालयमाथि उडाइनेछ ।

कांग्रेसका नेता एवं कार्यकर्ता र सर्वसाधारणहरू सानेपामा बाक्लो संख्यामा सहभागी भएका छन् । उनीहरूले कार्यक्रमस्थलमै राखिएको क्यानभासमा इच्छाअनुसार रंग भर्ने र तीन दिनको कार्यक्रम समाप्तिसम्ममा बन्ने आकृति प्रदर्शनीका लागि कालान्तरसम्म संरक्षण गरिने भएको छ । 

सहभागीहरूले वीपीको साहित्य लेखन, विचार र जीवनबारे चर्चा गर्दै विभिन्न योगदानको स्मरण गरेका छन् ।

यस्तै ललितपुर कांग्रेसले बनाएको उद्यानमा सभापति देउवाले रुद्राक्षको बिरुवा रोप्ने काम सम्पन्न गरेका छन् । यो कार्यक्रम कांग्रेसले यसअघि गरेका कार्यक्रमभन्दा भव्य र सभ्य देखिएको छ ।  राजनीतिक विश्लेषकहरूले वीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाडेको बताएका छन् । 

आइतबार पार्टी कार्यालय सानेपामा सुरु भएको वीपी साहित्य महोत्सवमा ’वीपीको दृष्टिमा वीपी सेसन’मा बोल्दै विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्नको सामना गर्ने आत्मविश्वास र साहस नभएको दाबी गरे । 

‘अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ । उसले प्रश्नको सामना गर्न सक्दैन’, उनले भने, भयलाई हटाउने कसरी ? प्रकाशले मात्र अँध्यारो हटाउन सके जस्तै भयलाई हटाउने ज्ञान हो । ज्ञान विश्वविद्यालयमा पढेर मात्र हुँदैन, आत्मचिन्तन हुनुपर्यो त्यसका लागि अध्ययन हुनुपर्यो ।’

सीके लालले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाए । अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेस पार्टीका प्रांगणमा उभिएर भन्दा वीपी र उनको विचारलाई पार्टीले अंगाल्न नसकेको बताए । 

सेसन संयोजक विश्वप्रकाश शर्माले वीपी आलोचना र प्रश्न चाहने नेता भए पनि वर्तमान राजनीति दल र उसका नेता पपुलिज्ममा रमाउन थाले भन्ने प्रश्नमा उनले त्यो कुरा नेपाली कांग्रेसकै नेताहरू आलोचना प्रश्न सुन्न चाहने चरित्र हावी भएको बताए ।  

अहिले दलहरू र नेतामा अंहकार हावी भएको पनि बताए । प्राध्यापक कृष्ण खनालले वीपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरूलाई वीपीसँग तुलना गर्नै नसकिने बताए ।

वीपी साहित्य महोत्सवमा महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको सत्रमा वक्ताका रुपमा रहेका प्राध्यापक खनालले वीपीसँग तुलना गर्ने एउटा पात्र पनि अहिलेको राजनीतिमा नरहेको बताए ।
 
त्यसबेला प्रश्न उठाउनका लागि आग्रह गर्ने प्रधानमन्त्री वीपी र अहिलेका प्रश्न गर्नु पाउनुपर्छ तर हामी माथि होइन, अथवा मैले समर्थन गरेको व्यक्ति माथि होइन भन्ने प्रवृत्तिलाई कसरी तुलना गर्नु हुन्छ भन्ने प्रश्नमा प्राध्यापक खनालले यस्तो व्याख्या गरेका हुन् ।

“वीपी कोइरालाले आफ्नो आलोचना गरिदिनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसकेँ, अध्यक्ष (सभापति) भइसके । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरू छन्,” प्रा. खनालले भने, “चरित्र गुमाएको राजनीतिका पात्रहरूमा वीपी खोज्न सकिँदैन ।” उनले वीपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताए ।

साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उनले वीपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझु्नुपर्ने बताए । उनले युवाहरूलाई वीपीलाई फेरि एकपटक अध्ययन गर्न सुझाव दिँदै अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ लैजाने माध्यम त्यही हुन सक्ने बताए ।

प्राध्यापक खनालले वीपीको विचार राजनीतिक दलले नबोक्ने भन्दै समाज सेवामा लागेका युवाहरूले अत्यधिक अध्ययन गर्न जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ