arrow

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप भदौ २७ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
health-ministry.png
तस्बिर-फाइल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । 

अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । 

उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप खरिद गरेर ल्याएको थियो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए । 

उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको छ । 

दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ । 

कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने डा अधिकारीले जानकारी दिए ।

उनका अनुसार खोपले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।

“अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ”, डा अधिकारीले भने, नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।” 

विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तान क्यान्सर हुने गरेको उनले बताए ।

सन् २०२२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले जानकारी दिए । 

उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । 

भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको डा शाहीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ