arrow

वैचारिक चेतनायुक्त गहकिलो कृति      

logo
शीतल गिरी,
प्रकाशित २०८० भदौ १६ शनिबार
article-sheetal-giri-2080-05-16-final1.jpg

ज्ञानुवाकर पौडेलका मुक्तकहरू आफ्नो समय, सामाजिक–राजनीतिक मूल्यहीनता र त्यसबाट उत्पन्न तृष्णा, विसङ्गति र विकृतिहरूसँग जोडिएका छन् । ज्ञानुवाकर अस्थिर, अधीर समयका कवि हुन्— नेपाली माटोमा ओइलाएर सुकिसकेको गजललाई गोडमेल, मलजल गरेर फेरि जीवन्त बनाउँने ‘गजलका माली’ हुन्, नेपाली साहित्यमा वैचारिक चेतनायुक्त मुक्तककारको रूपमा स्थापित भए पनि यिनी दम्भबाट मुक्त छन् । 

आफ्ना मुक्तकहरूलाई यिनले समयसँग विमुख हुन दिएका छैनन् । यिनलाई विश्वास छ— मुक्तकको सबैभन्दा ठुलो शक्ति मूल्यहीनता, विसङ्गति र विकृतिहरूको अभिव्यक्ति दिनु हो । मुक्तकको शक्ति र स्वायत्तता यदि छ भने त्यो यही हो, मुक्तककार ज्ञानुवाकरबारे यादव खरेलको यो शब्द “लेखकको निशानामा लोकाचारी, भ्रष्टाचारी, ब्यभिचारी, उद्योगपति, व्यापारी, सत्ताधारी सबै परेका छन् ।”

ज्ञानुवाकरले आफ्नो समयलाई राम्ररी मगेका छन्— आफ्ना मुक्तकमा । उनले चर्को आवाजमा आफ्ना शब्दहरूका अभिव्यक्ति सुम्पिएका छैनन्, बरू शान्त र एकाग्रभावमा विस्तारै विस्तारै मुक्तकहरू आफ्नो समयको वास्तविक इतिहास बनेर देखा परेका छन्—         
हटाउँ भने अन्धकार, पानसमा तेल छैन         
गरू भने पनि यात्रा, सुरक्षित यहाँ रेल छैन         
अनि, नर्क नबनेर कसरी बन्छ त यो देश स्वर्ग         
सत्ताको ठेकेदारहरूबीच नै जब राम्रो मेल छैन ।         

मुक्तककारलाई उनका मुक्तकमा देख्न, सुन्न र बुझ्न सकिन्छ । साथसाथै उनीसँग लामो कुराकानी गरेर वास्तवमा साहित्यकारको मन र उनको सोचको पत्र–पत्र पल्टाएर थाहा पाउन सकिन्छ । यदि रचनाकार पारदर्शी र हृदयदेखि नै स्पष्ट छ, तब उसँगको संवादमा धेरै कुराहरू पाठकमा ल्याउन सकिन्छ ।    
    
‘अनूदित मन’ मा ज्ञानुवाकर पौडेलको बारेमा तीनजना विद्वानका शब्दले पुष्टि गरेको छ । यस सङ्ग्रहमा ज्ञानुवाकरका १६४ वटा मुक्तकबाट उनका मुक्तकको संरचना, दृष्टिकोण, सोच, देश–जनताको अवस्था, उनको चिन्ता, सानज, जीवन, परिवर्तन इत्यादि राम्ररी थाहा पाउन सजिलो भएको छ । 

ज्ञानुवाकर पौडेल असीको दशकमा पनि सृजनशील छन् । उनका मुक्तक आफ्नो समयको प्रतिबिम्ब हुँदाहुँदै पनि सर्वकालीक छ ।         
खेलै खेलमा बाल्यकाल भो मेरो खराब         
ठट्टै ठट्टामा जवानी भो मेरो सखाप         
के के गरेथ्यौ पहिले, के के गर्दै छौ अब ?         
जिन्दगी यो माग्दै छ विगतको हिसाब किताब !     

मुक्तकको अभिव्यक्तिमा रमाउन अध्ययन चाहिन्छ, मुक्तककारको जीवन, सोच र व्यक्तित्वको जानकारी पनि पाठकलाई आवश्यक हुन्छ, तब पाठक मुक्तकको अभिव्यक्तिमा सहजतासाथ अभिभूत हुन सक्तछ । ज्ञानुवाकर पौडेलको मुक्तक संग्रह ‘अनूदित मन’ यही कुराको साक्षी हो । 

यसमा ज्ञानुवाकर पौडेलको समय, रुची र सोचलाई सहजता साथ पढ्न र परीक्षण गर्न सकिन्छ । मनु ब्राजाकीले ‘निर्वासित मन’ को नाडी–परीक्षा’ मा ....... एउटा कुरा टड्कारो रूपमा हाम्रो सामु देखापर्छ— त्यो हो उनको मुक्तकहरूमा प्रेम, प्रणय र विरह पीडाका शाश्वत ध्वनिका साथै प्रमुख र प्रखर रूपमा देखिने समसामयिक समाजार्थिक कारणजन्य मूल्यहीनता असङ्गति–विसङ्गति र व्यापक आदर्शहीनता विरुद्धको संचेतना । 

यही संचेतना उनका गजलहरूमा पनि देखा पर्दछ । यसै संचेतनाको ललित अभिव्यक्तिले गर्दा उनका गजल र मुक्तकहरू पाठकका लागि सहज, ग्राह्य, मार्मिक र साझा अनुभूति हुन पुगेका छन् ।” यी पंक्तिले ज्ञानुवाकरका गजल र मुक्तकका सम्बन्धमा सबै बिन्दुहरूलाई छोएको छ ।     
        
विशेषतः ब्राजाकीले ज्ञानुवाकरको लेखन परम्परा, मान्यता, व्यङ्ग्यामिश्रित कलात्मकतालाई लिएर विवेचना गरेका छन् । वर्तमान स्थितिप्रति टिप्पणी गर्दा उनका मुक्तकले भन्छ—         

सृजनाको नशामा डुब्न पनि कला चाहिने रै’छ         
सफलताको मातले झुम्न पनि कला चाहिने रै’छ         
सोचेअनुसार नभैदिँदा कैलेकाहिँ यस्तो लाग्छ—         
आफूलाई मन परेकीसित पनि कला चाहिने रै’छ !         

वर्तमान समयको बारेमा ज्ञानुवाकरका धेरै मुक्तकले बोलेका छन् । गद्यको तुलनामा पद्य सिर्जना धेरै चुनौतीपुर्ण हुन्छ । किनभने पद्यमा थोरै शब्दमा धेरै अर्थ कलात्मक–लालित्यको साथमा दिनु पर्ने हुन्छ । नेपाली भाषाको शब्द–सम्पदा र सामथ्र्यलाई विचार गर्न पनि सक्नु पर्छ । नेपाली भाषाको पढाइलाई लिएर उनले चिन्ता व्यक्त गरेका छन्—    

पौने तीन करोड नेपालीको भाग्य फुटेपछि         
राज्यसत्ताका ठेकेदारहरूले अमन–चैन लुटेपछि         
त्राहिमाम छन् जनताहरू आज चिच्याउँदै छन्—     
के सप्रेला र अब यो मुलुक लुट्नेहरू जुटेपछि ।         

विशिष्ट साहित्यिक पत्रकार रोचक घिमिरे प्रकाशकीयमा ज्ञानुवाकरले “..... परिस्कृति, प्रौढताका साथ प्रभावोत्पादकता देखाएका छन् मुक्तककारले यस कृतिमा ।” 

ज्ञानुवाकरको बारेमा धेरै पहिलेदेखि धेरैले लेख्दै आएका छन् । मेरो यो लेखन लेखकको राजनीतिक विचारधारा खोतल खातल गर्ने प्रयास होइन । सामाजिक विषयवस्तुलाई आफ्नो सिर्जनामा सजाउने सर्जक अवश्य राजनीतिक रूपमा सजग रहन्छ नै । समाजवादी विचारधाराका चिन्तक वीपी कोइराला, रामबाबु प्रसाई, प्रदीप गिरी जस्तालाई उनी आफ्नो आदर्श मान्नुहुन्छ । 

तर कालान्तरमा यस विचारमा विचलन आएको कारण मोहभंग भएको यथार्थ मुक्तकमार्फत राख्न हिच्किचाउनु भएको छैन । ज्ञानुवाकरको यो मुक्तकमार्फत राख्न हिच्किचाउनु भएको छैन । ज्ञानुवाकरको यो मुक्तक संग्रह २०४८ पछिको नेपालको राजनीतिक विकृति इतिहासमा सचेत लेखकले सचेत गराएको दस्तावेज पनि हो । 

आज नेपालको धर्म र संस्कृतिमा विदेशीहरूको चलखेल हुँदैछ, यसकारण देशमा धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य र राम्रो जीवनयापन गर्ने रोजगारी नभएको कारण युवापुस्ता विदेश पलायन हुँदैछन् । 

राजनीतिको काम विकासको घोषणामात्र गर्नु नभएर देशमा रोजगारी सिर्जना र सुव्यवस्था बनाउन प्राथमिकता दिनु पनि हो ।      

आलोचना, साहित्यचर्चा, रचनाको विभिन्न कोणबाट व्यापक चर्चा गर्ने दायित्व र मामथ्र्य त समालोचकमा हुन्छ, म जस्तो सामान्य पाठकले यतिमात्रै भन्न सक्छ —जीवन जसरी परिवर्तन हुँदै बढ्दै जान्छ, त्यसरी त्यसरी जीवन र जगत बुझ्ने, थाहा पाउने इच्छा पनि प्रबल हुँदै जान्छ— ती जटिलताहरूका बारेमा संयमको साथमा लेख्ने इच्छा हुन्छ, यस्तो हुनु भनेको सामाजिक–सांस्कृतिक प्रक्रियाहरूको परिणाम हो । 

निश्चय नै भेटघाटको क्रममा ज्ञानुवाकरले बडो सन्तुलित शब्दमा भन्नुभएको म सम्झदैछु — एक सामान्य साहित्यकारको रूपमा सामाजिक समानताको लागि साहित्य सिर्जना गर्ने गरेको छु । ‘अनुदित मन’ मा रहेका मुक्तकहरूका बारेमा पनि ज्ञानुवाकर पौडेलसँग मेरो लामो कुराकानी भएको थियो । 

अष्ट्रेलियाबाट आएका बखतको भेटमा उनले भूमण्डलीकरणको कारण बन्न गएको सामाजिक सरोकारको बारेमा पनि खुलस्त विचार राखेका थिए । उनले कुनै पनि साहित्यिक सिर्जनामा भाषाको सौन्दर्य, अर्थगम्भीर हुनुपर्छ । यसको अभावमा वास्तवमा कविता विज्ञापन जस्तो लाग्दछ भनेको सम्झन्छु । 
    
लेखकको दायित्वको बारेमा हामीबीच लामो कुराकानी भएको थियो । वास्तवमा इमानदार लेखक सधैं अन्यायको विरुद्ध हुन्छ । र सिर्जना वास्तवमा हाम्रो जीवनदायिनी शक्ति हो र सभ्यता–विमर्श पनि हो । यस अर्थमा मुक्तकको यात्रा एकहोरो हुनु हुदैन । जुन बाहिरको संसार छ, त्यसलाई हामी नकार्न सक्दैनौँ र व्यक्ति भित्र रहेको जुन संसार छ, त्यसलाई बुझ्नको लागि साधना गरिरहनु पर्छ । 

यो समीक्षा कृतिमा ज्ञानुवाकर पौडेलका मुक्तक, उनको मुक्तकत्त्व, जीवन, जीवन–दृष्टि, रचना प्रक्रिया, भावनात्मक अनुभव, सृजन–क्षण, वर्तमान–भविष्य, साहित्यको चिन्ता, शिक्षा, राजनीति, आनन्द, ख्याति, समकालीन परिदृश्य, जीवन–मूल्य, प्रतिबद्धता जस्ता अनेकन विषयमा उनका विचार नेपाली साहित्यको चिन्तनसँग मेल खान्छ ।         
जीवनका व्यापक क्षेत्रलाई मुक्तक सिर्जनाको परिधिमा राखेर आफ्ना विचार क्रमबद्ध रूपमा मुक्तकमा सजाउनु भएको छ । ज्ञानुवाकरका मुक्तक समाजको केन्द्रमा रहेको छ । समाजको वरपर, संघर्ष, त्रासदी, चुनौति, शोषण, छल–कपट, राजनीतिको घृणित दृश्य, गरिबी, क्रुरता, विषमता इत्यादि उजागर गर्न सफल छन् । 

सामाजिक संघर्ष नै मुक्तकको वास्तविक संघर्ष हो । जीवन र व्यवस्थाको जटिलताका कारण लेखक अवसर र सम्झौताको लागि तयार हुनु पर्ने हुन्छ, हो यस्तै आचरणले स्वाभिमानी लेखकलाई समृद्धिको बाटो देखाउँछ, आफ्नो रचनात्मक उर्जा कसरी सुरक्षित गर्ने, हो सम्पूर्ण अवशर व्यवस्थासँग छ, जुन व्यवस्थाको विकृति र विसंगतिका कारण सर्जक पीडित छ । हो यही सम्बन्धको कारण इमानदार लेखक जहिले पनि जुनसुकै व्यवस्थामा प्रतिपक्षमा रहन्छ ।         
सम्पूर्ण सर्जक यसै तन्त्रमा छन् र यस तन्त्रमा छैनन् पनि, ज्ञानुवाकर सत्ताको होइन विकृति, विसंगतिको विरोध गर्नु हुन्छ । सत्ता, व्यवस्थाको निरंकुशताकाबीच ज्ञानुवाकरले रचना–कर्मको स्वाधीनता बचाउन सक्नु अवश्य सामान्य कुरा होइन । 

हो ज्ञानुवाकर पौडेल हताश नभएको प्रमाणको रूपमा आएको कृति हो — अनुदित मन । ज्ञानुवाकर पौडेल ऊर्जा र प्रेरणाका मूल हुन् । राजनीतिसँग उनको मोह भंग भइरहेको छ । कुनै आन्दोलनबाट उनलाई केही पनि अनुकुल भएको जस्तो लागेन । नयाँ पुस्तामा उनको विश्वास छ । यसकारण त उनलाई नयाँ पुस्ताका गजल र मुक्तक लेख्दै गरेकाले गुरु तुल्य सम्मान दिने गरेका छन् । 

उनी आफ्नो जीवन, नेपाली गजल र मुक्तक व्यापक बनाउन समर्पित गरेका छन् । मुक्तकका ज्ञानुवाकर पौडेलको गद पनि त्यतिकै चर्चित रहेको छ । पुस्तक समीक्षा, सम्पादकीयमा उनले नयां पन दिने कोशिश गर्नु भउको छ ।         

समानतायुक्त समाजको उनले आशा व्यक्त गरेका छन्, ताकि मानिस सुखमय, शान्तिमय, तनावरहित जीवन व्यतित गर्न सकोस् । ६ वर्षको उमेरमा मातृविहीन भएका ज्ञानुवाकरको जीवन तीन खण्डमा बाँडिएको पाउँछौँ— तम तल, रज माझमा, सत्व माथि । 

जीवनको यो तिन तले नक्शा यथार्थ र वैधानिक भएको थाहा हुन्छ । हो यो कुरा स्वीकार्नै पर्छ— कतिपय परिस्थितिमा लेखकले बाह्य दबाबको कारण लेखन गर्न सक्दैन । हो तबसम्म त्यस घरले काम दिने गर्छ जबसम्म त्यसमा रहिन्छ बसिन्छ, जबसम्म तलामा आउने जाने गरिन्छ ।

भर्याङले तीन वटै तलालाई आपसमा सम्बन्ध गराएको हुन्छ । हो यस जीवनलाई ज्ञानुवाकरले नेपाली साहित्यमा त्यही भर्याङ बन्न स्वीकार गरे र त पुरस्कार, यश, ख्याति पनि प्राप्त गरे । 

वास्तवमा आफूमा रहेको तीनवटै गुणलाई राम्ररी व्यवस्थापन गर्न सफल स्वामी बन्न सकेको हुँदा नै मुक्तक लेखनमा आफ्नो इमानदारी देखाए । न त साहित्यमा बामे सर्न थालेकालाई अस्वीकार गरे, न त जानेको छु भन्ने घमण्डमा रहे ।         

पाठकको लागि मात्रै होइन, मुक्तककारहरूका लागि पनि यो समीक्षा कृतिमा मुक्तक सृजन र समाजलाई हेर्ने एउटा महत्त्वपूर्ण दृष्टि पाइन्छ । यही कुरा नेपाली साहित्य समृद्ध बनाउने स्वघोषित अभियन्ताको चित्तमा रहेको पाइन्न । प्रतिभा खण्डमा हुन्छ, ज्ञानुवाकरको सहयोगी स्वभाव अखण्ड हो, तब त व्याप्त छ । यो मुक्तक–संग्रह साहित्य प्रेमीहरूका लागि पठनीय र संग्रहणीय छ ।         
पुस्तक— अनूदित मन                     मुक्तककार— ज्ञानुवाकर पौडेल         ्
प्रकाशक— रचना प्रकाशन                     मूल्य— रु. १५०
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ