arrow

खनियाबासको यात्रा

logo
परशुराम पराशर,
प्रकाशित २०८० भदौ ९ शनिबार
article-parshuram-parashar-2080-05-2.jpg

नेपाल प्रकृतिको सुन्दर रचना हो । यहाँ हरेक डाँडाकाँडा, पाखापखेरा, समथर फाँट र वनजङ्गलमा प्रकृतिले फरक फरक रङ्गमा कुची चोपलेर मिहिनेत साथ क्यानभास भरेको भान हुन्छ । यहाँका प्राकृतिक कारीगढीको स्वाद जिब्रोमा होइन आँखाको तन्तुबाट मनसम्म आउँदा मन नभरिए पनि सदासर्वदा आनन्दको अनुभूति छर्दै बसिरहन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ निबन्ध पढ्दा मन फुलेर आउँथ्यो गर्वले । वास्तवमा नेपाल आँखामा अटाउनेहरूले आफ्नै आँखा भरेर चुपचाप बसेर नै होला नेपाल ठूलो हुन नपाएको । आफ्नो आँखाको भाकालाई अन्यको मुटुसम्म पुर्याउने काम नभएर नै हो नेपालको सुन्दरताको परख नटल्किएको ।
 
यस्तै परख टल्काउने र झल्काउने कार्यमा देखा परेको ‘स्रष्टा पदयात्रा’ समूह आफ्नै पाखुरीले टेक्ने लौरो नचाउँदै उकाली ओराली भन्ज्याङ चौतारी डुलिरहेको छ । आफ्नै गोजीको खर्चमा रमाउँदै डाँडाकाँडा चहारेको छ । कतै धेरै स्वागतका गुच्छा समातेको छ भने कतै थोरै वितृष्णाको खप्की पनि खाएको छ । तैपनि आफ्नो गन्तव्यलाई अरूको मन्तव्यमा नअलमल्याई अगाडि बढिरहेको छ, हाम्रो पदयात्रा ।  

यसै दौरानमा २०७९ असोज १ गते तीन दिने यात्रामा खनियाबास जाने भयो । हाम्रो पदयात्राको बसयात्रे टोली । जसमा शीतल गिरी, वसन्त रिजाल, विमल अर्याल, घनश्याम प्रसाईं, रामकुमार पण्डित, शारदा पराजुली, निशा केसी, मन्दिरा मधुश्री, प्रोल्लास सिन्धुलीय, माधवलाल श्रेष्ठ, नवराज रिजाल, सुमन पुडासैनी मित्र र मसमेत १३ जनाको बटालियन थियो । बालाजुको माछापोखरीमा भेला भई त्यहाँबाट कलङ्की हुँदै हाम्रो यात्रा नौबिसेतिर लम्कियो । यात्रा लोकल रुटमा चल्ने बसबाट खनियाबासको बृचेतसम्मको थियो । त्यहाँबाट लगभग आधा घण्टाको बाटो पैदल तय गरेपछि पुगिने कुह्रीगाउँ हाम्रो गन्तव्य थियो ।
 
हाम्रो बस नौबिसेको गल्छीबाट पृथ्वी राजमार्ग छोडेर त्रिशूलीको किनारै किनार गल्छी–त्रिशूली–रसुवागढी सडक पच्छ्याउँदै नुवाकोटतिर लाग्यो । उकालो ओरालो साँगुरो बाटो पहाडी बाटाको विशेषता नै हो । त्यसलाई अन्यथा भन्न मिल्दैन । तैपनि बाटो राम्रो थियो । बीचबीचमा त्रिशूलीसँग जोडिन आउने खोलाका कलकल ध्वनिले रमाइलो बनाउँथ्यो । जसरी बगेर आए पनि ठूलो खोलामा समाहित हुँदा आफ्नो संस्कृति छोडेर समेट्नेको संस्कृति अपनाउन बाध्य हुन्थे ती बिचरा खोलाहरू । त्रिशूली जो–जे आए पनि आफ्नो गति र मति उस्तै बनाउँथ्यो । ठूलाले सानाको भनाइ मान्न बाध्य नहुने तर सानाले ठूलाको हर कुरा मान्नैपर्ने संस्कार यहीँबाट सिकिएको हो कि ? 

जे होस् हामी बेलकोटगढी गाउँपालिकाको त्रिशूली नदी र ताँदी नदीको दोभान देवीघाट हुँदै महादेवटार, पिपलटार, गँगटे, बट्टार बजारपछि विदुर पुगियो । विदुर पारिलो र फराकिलो फाँट रहेछ । मस्तले धान फलेको थियो तराई बिर्साउने गरी । त्यहाँबाट हामी त्रिशूलीको किनारै किनार लाग्यौँ, रसुवागढी जाने ढुङ्गे भन्ने स्थानको बाटो छोडेर त्रिशूली नदी तरेर त्रिशूलीबजारतर्फ । घुमाउने चौतारो, त्रिशूलीको नहर हुँदै हामी त्रिशूलीको हाइड्रो पावरको कार्यालय रहेको कोलोनी पुगेर अडियौँ केही बेर । 

केही समयको बिसौनीपछि हाम्रो बस नुवाकोटको देउरालीतिर हान्नियो । त्यसै क्रममा बस प्लास्टर, भैरवकोट, मेह्वाङ गाउँपालिका, भूमिदेवी, घोलेच नाघेर जिउरी भन्ज्याङ देउरालीमा पुगेर खाना खाइयो । पहाडी पानीमा पाकेको भात, स्वादिष्ट अचार, हरियो अकबरे खोर्सानी र तरकारी अनि लोकल कुखुराको मासु, भोकले होला ज्यादै मीठो लाग्यो । हामी त्यहाँ पुग्दा लगभग दिउँसोको १ बजेको थियो होला । त्यसैले भोकको रोगले हामीलाई सताएको थियो । बसमा खाइएका पकौडा, आलु, स्याउ, अम्बा त हाँस्तै पचिसकेका थिए । 

भोकको अनल ननिभुन्जेल कुन बजार, कुन ठाउँ भन्दै खान पाइने आशामा बजार हेरिन्थ्यो । क्षुधा शान्त भएपछि भने बस पनि गाउँबस्ती छोडेर ‘जङ्गलको बाटो, ढुङ्गा र माटो’ भन्दै अगाडि हुइँकियो । त्यसपछि भने कुन ठाउँ, कुन गाउँ केही हेरिएन, मात्र हेरियो पहाडी पाखाका रमाइला र सुन्दर दृश्य  । जता हेर्यो त्यतै मन अलमलिने कति सुन्दर रचना हो प्रकृतिको पनि । 

यदि यो सृष्टि भगवानले गरेका हुन् भने साँच्चै नेपाल बनाउने भगवान् चाहिँ विश्वकर्मा आफैँ नै हुन् । कस्ता कत्रा घनले र कस्ता कत्रा छिनु प्रयोग गरेर यो नेपाल यति सुन्दर बनाए होलान् । मन एकोहोरियो । तराईमा जन्मेको मानिस काठमाडौँ र वरपरको महाभारत र चुरेभन्दा बढी चिहाउन नसकेकाले होला । बल्ल भने पहाड आएको भान यो मनले गर्यो । आनन्दको सीमा नाप्ने पारो जडित मिटर हुने हो भने पारो नै उफ्रेर बाहिर आउँथ्यो होला त्यो समयमा । 

एकपछि अर्को गर्दै पत्रैपत्र परेका पहाडका पत्र पुस्तक झैँ लाग्ने । साँच्चै युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको ‘नेपाल’ कविताको हरफ – 
        पाना खुला पर्वत पत्रपत्र
        छन् वर्ण झैँ वृक्ष लता विचित्र

भनेझैँ हामी जति अगाडि बढ्छौँ, त्यति नै पर्वतका पत्र भेटिँदै जान्छन् । गाडी कहाँ पुग्यो भनेर थाहा नै नपाइने । गुगलमा सर्च गरेर हेर्यो भने अर्कै नाम भेटिन्थ्यो । बसका स्थानीय यात्रुहरूलाई सोध्दा अर्कै नाम भनेजस्तै लाग्दथ्यो । उनीहरूको लवज बुझ्नै गारो । तैपनि किम्ताङ चियाकमान, बाख्रा फारम, थिम्बुखोला यस्तै नाउँ थिए त्यहाँका । थिम्बुखोलाले नुवाकोट र धादिङ छुट्याउँदो रहेछ । त्यहाँबाट हामी तार्का पुग्यौँ । तार्का चिया खान केहीबेर बस रोकियो । 

जे होस् हामी चढेको सार्वजनिक बस कच्ची पक्की बाटो हुँदै अगाडि बढ्दै थियो । हामी समयमा नै गन्तव्यमा पुग्ने र त्यहाँको स्वागत–सत्कार ग्रहण गर्ने योजना सकुशल नै थियो । बस वत्सलादेवी उच्च माध्यमिक विद्यालय अगाडि पुगेपछि भने हाम्रो यात्रामा ग्रहण लाग्यो । उकालो बाटोमा पानीको चिसो, हिलो आदिका कारणले बस उकालो उक्लन सकेन । बसमा ३०–३५ जना यात्रु थिए होलान् हामीसमेत । बसको क्षमताभन्दा त्यो बढी नै थियो । 

बसभित्र भएका सबै यात्रु झरेर ठेल्ने हो भने सजिलै बस बाटो लाग्ने थियो तर बसका ड्राइभर र खलाँसीहरूले आफ्नो बढप्पन देखाएर त्यत्तिकै उकाल्ने धेरै प्रयास गरे । बसको पाङ्ग्रा चिप्लिएर पछाडि नै सथ्र्यो । हामीले मसिना ढुङ्गा बाटामा छर्दा पनि गाडीको पाङ्ग्रा माथि उक्लेन । बाटो मर्मतका लागि ल्याएको बालुवा अलि माथि रहेछ । त्यही बोरामा, बाल्टीमा बोकेर बाटामा हालेपछि भने बसले इज्जत जोगायो । अब हिँड्यो भन्ने लाग्यो । त्यहाँ लगभग डेढ घण्टा बसले घुइँघुइँ पार्यो होला । त्यस बेलासम्म साँझले अँध्यारो बोलाउने र दिनले घुम्टो छोप्ने बेला भइसकेको थियो । 

बसले गति लियो भनेर सबै खुशी थियौँ । समयमै नपुगे पनि बास बस्न त पुगिने भयो भन्ने लागेको थियो । बस त्यहाँबाट अलि माथि उकालोमात्र के चढेको थियो, पुनः त्यही क्रम दोहोरियो । बसले उकालो उक्लन असमर्थता जनायो । हामी सबै पुरुष यात्रु तल झर्यौँ । ड्राइभरले केही नभने पनि हामी बस धकेल्न थाल्यौँ । बसले गति लियो । अझै एक घन्टे बाटो बाँकी नै थियो होला । बसमा बत्ती बाल्ने समय भइसकेको थियो । त्यहाँबाट बस निकाल्ने प्रयासमा सबै नजुटेका भए अँध्यारोले छोप्ने थियो । दिउँसो ३ बजे खनियाबासको बृचेत पुग्ने भनेको बस साँझको बत्ती बाल्ने समयमा पनि एक घण्टा वरै थियो । 

कुह्रीमा हामीलाई स्वागत गर्न कुरी बसेको लालुपाते स्वास्थ्य आमा समूहले हात गलुन्जेल फूलको माला लिएर बस्नुपरेछ । हामी भने बसमा बसेका बस्यै । बस गुड्न मान्दैन, पाङ्ग्रा घिसार्छ । बल्लतल्ल ठेल्दै अनेक कष्ट झेल्दै हामी ठूलो साँझ परिसक्दा मात्र बृचेत पुग्यौँ । त्यहाँ पनि होटलमा चिया बनाउन लगाएर खाइयो । अलमलमाथि झन् अलमल । हातमा भएका टर्च, मोबाइल बालेर हामी कुह्रीतर्फ लाग्यौँ । कुह्री पुगेपछि अँध्यारैमा भए पनि खादामालाको स्वागत पाइयो । लालुपाते स्वास्थ्य आमा समूहका कार्यकर्ता तामाङ पोशाकमा सजिएर बसेका रहेछन् । सगुनसहित हामीलाई स्वागत गरियो र त्यहाँको वस्तुस्थितिको बारेमा हामीलाई बताइयो । 

बृचेतमा हामीलाई लिन पुगेका गोपाल फ्युवा हामीसँगै थिए । हामीलाई त्यहाँको प्रचलित लोकगीत मेन्दोमाया गीतको तालमा नाच्न सिकाइयो । हामी पनि गीतको तालमा खुट्टाको चाल मिलाउँदै नाच्यौँ, नचायौँ र गाडीमा बस्दाको थकानलाई भगायौँ । त्यसपछि बिहान भेट गर्ने बाचासहित खानपान र बासस्थानको व्यवस्था भएतिर लम्कियौँ । 

हामीलाई स्वागतलगायत अन्य कुराको व्यवस्थापन गरी निमन्त्रणा दिने व्यक्ति रहेछन् समाजसेवी, पत्रकार, साहित्यकार तथा शिक्षक गोपाल फ्युवा । उमेर धेरै नखाए पनि व्यवहारले पक्को गोपालजीकै पाहुना बनेर हामी गएका थियौँ । हामी काठमाडौँदेखि चढेकै बसमा खनियाबास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कमानसिंह तामाङ पनि रहेछन् । देउरालीमा खाना खाँदामात्र थाहा भयो । हँसिला, रसिला, युवा नेता कमानसिंहमा साहित्यको सेवा गर्ने चाह धेरै रहेछ भन्ने त्यतिखेर थाहा भयो जतिखेर गोपाल फ्युवाले ‘यस कार्यक्रमको संयोजक चाहिँ अध्यक्षज्यू नै हो म त कार्यकर्तामात्र हुँ’ भनेको सुनियो । नभन्दै हाम्रो बेलुकाको खानाको व्यवस्था वडाध्यक्षले नै गरिदिनुभयो । 

त्यहाँको सत्कारको बयान गर्न सक्ने सामथ्र्य नै छैन । हामी त सम्धीको घरमा पाहुना लाग्न गएका जस्ता पो भयौँ । बिहानको खाना खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङले र बेलुका लालुपाते स्वास्थ्य आमा समूहले खुवायो । हामी बसेको घर कान्छीमाया र गणेश गुरुङको भन्ने वित्तिकै मलाई चासो लागेर सोधेँ, “तामाङ गाउँमा एक घर गुरुङ कसरी ?” गणेश गुरुङ त्यहीँको ल्याक्चेकुण्ड आधारभूत विद्यालयका शिक्षक हुनुहुँदो रहेछ । उहाँले भन्नुभयो, “हाम्रो बराजु भारतमा सैनिकको जागिर खान जाँदा तामाङ नलेखाई गुरुङ थर लेखाउनुभएको थियो रे । त्यतिबेला तामाङ भन्यो भने सैनिकमा लिँदैन थियो रे । त्यसै भएर उहाँले गुरुङ थर लेखाएपछि हामी सबै शाखासन्तानको थर गुरुङ भएको हो नि ।” गणेश तामाङ सरको गुरुङ थर भएको प्रसङ्ग रमाइलो रहेछ ।

हामी त्यहाँ ल्याक्चेकुण्ड, कुह्री म्हेन्दङ र बिजुली ढुङ्गो हेर्न गएका थियौँ । ल्याक्चे रह हेर्न बिहान जाने निधो गरेर सुतियो । रातिदेखि अविरल पानी पर्न थाल्यो । पानी परेको समयमा हिँड्न नसकिने अवस्था थियो । जुकाको बिगबिगी त्यस्तै थियो । पानी परेपछि झन् जुकाको प्रकोप हुने कुरा बताइयो । हामी सुतेको घरमा खाना खान बसेको बेला घरभित्रै अगेनाको छेउमै जुका देखेपछि भने अचम्मै लागेको थियो । 

बिहान उज्यालो सँगसँगै पानी पनि थामियो । अनि हामी ल्याक्चेकुण्ड हेर्न गयौँ । त्यसको बारेमा कमबहादुरले भनेको किंवदन्ती रोचक लाग्यो । त्यो ल्याक्चेकुण्ड पहिले ठूलो थियो रे । कालो दह र सेतो दह थियो रे । अहिले पनि कालो दह सानो सानो रहेछ । ल्याक्चेकुण्डको पहिलेको फेरो देख्दा त्यो ठूलो नै थियो भन्ने अनुमान लगाउन सकिन्थ्यो ।

त्यसमा आउने पानीको स्रोत पनि ठूलै थियो रे । त्यहाँ उत्तरतिरबाट हाँसका बथान आएर खेल्थे रे । त्यस पोखरीमा रुखका पात वा कुनै फोहर परेमा त्यहाँ बस्ने एउटा चराले सफा गर्ने गर्दथ्यो रे । पछि मानिसहरूको चहलपहल बढी हुन थालेकाले र त्यहाँ आउने हाँसको सिकार गर्ने गरेकाले ती हाँस आउन छाडेका भन्ने बुढापाकाको भनाइ कमबहादुरले सुनाए । यस्तै कुरा ल्याक्चेकुण्ड आधारभूत विद्यालयका प्रअ राजबहादुर तामाङले पनि भनेका थिए ।  

त्यस ल्याक्चेकुण्डमा गणेश हिमालको छायाँ देखिने हुनाले पनि अति सुन्दर लाग्यो । पोखरी सानो भए पनि त्यसको महत्त्व ठूलो रहेको जानकारी स्थानीयले सुनाए । त्यहाँ असारको ठुलो एकादशीमा मेला लाग्ने हुनाले त्यसै खनियाबास गाउँपालिका लगायत अन्य स्थानबाट पनि मानिसहरू आएर मेलामा सरिक हुने गर्दा रहेछन् । त्यहाँ वर्षमा एक पटक त्यही मेलाका दिन पौडी प्रतियोगिता राख्ने गरिएको रहेछ । टाढा टाढाबाट लामाहरू आइ त्यहाँ पूजा गर्ने चलन पनि रहेछ । 

बिहानको ल्याक्चेकुण्ड घुमाइपछि कान्छीमाया तामाङकै घरमा बिहानको खाना खाई हामी बिजुली ढुङ्गा हेर्न गयौँ । त्यो ढुङ्गाको उचाइ दक्षिणबाट ७७ मिटर र पूर्वबाट चाहिँ ६५ मिटरसम्म रहेछ । गोलाई भने २४० मिटर भएको जानकारी प्रअ राजबहादुर तामाङबाट पाइयो । टुप्पामा झन्डा गाडिएको र रेलिङ पनि बनाइएको रहेछ । तर मानिसलाई चढ्न भने दिइने गरेको रहेनछ । त्यहाँ हरेक पूर्णिमाका दिन पूजा गर्ने चलन रहेछ । किंवदन्तीअनुसार त्यस बिजुली ढुङ्गाको तल नागराजा बस्ने गर्दछन् रे ।

त्यति ठूलो ढुङ्गा खेतको बीचमा त्यो पनि उत्तर गणेश हिमालतिर फर्केर बसेको । त्यसको पनि एउटा किंवदन्ती रहेछ । सत्य युगमा नै एउटा फिस्टे चराले सुनको नाम्लो लगाएर त्यो ढुङ्गा कतै लैजाँदै रहेछ रे । गीत गाउँदै उडेको फिस्टे चराको नाम्लो चुँडिएर त्यहीँ खसेको रे । खनियाबासको त्यस स्थानलाई कुह्री भनिदो रहेछ । कुह्री भनेको तामाङ भाषामा देवताहरू बस्ने स्थान भन्ने बुझिन्छ रे । देवताहरूकै शक्तिले त्यो ढुङ्गो त्यहाँ खसेको भन्ने किंवदन्ती त्यहाँका स्थानीय व्यवसायी कमबहादुर तामाङले सुनाए ।

त्यसपछि दिउँसो भने हामी ल्याक्चेकुण्डको किनारमा रहेको ल्याक्चेकुण्ड आधारभूत विद्यालयमा परिचयात्मक कार्यक्रमका साथै साहित्यिक कार्यक्रममा सामेल भयौँ । त्यो कार्यक्रम हाम्रै लागि तय गरिएको थियो । त्यस कार्यक्रमको सञ्चालन त्यहीँका शिक्षक गणेश गुरुङले गर्नुभएको थियो भने प्रधानाध्यापक राजबहादुर तामाङले कुह्रीको परिचय गराउनुभएको थियो । त्यहाँको ल्याक्चेकुण्ड, बिजुली ढुङ्गो, कुह्री म्हेन्दङको महत्त्व र सुन्दरताको परिचय पनि गराउनुभएको थियो । 

कुह्री म्हेन्दङ तामाङ संस्कृतिको एउटा जिउँदो परिचय हो ।  त्यहाँ धेरै ढुङ्गाहरूमा खोपेर तामाङ लिपिमा तामाङहरूको बारेमा र उनीहरूको धर्म संस्कृतिको बारेमा लेखिएको थियो रे । त्यहाँका बासिन्दाहरूले त्यसको महत्त्व नबुझेर त्यसै असरल्ल परिरहेको थियो रे । कति त आआफ्ना घरतिर पनि लगे रे । त्यहाँ कुनै लामाले ती धार्मिक कुराहरू फेला पारेर जतनसाथ राखेका थिए रे । पछि तिब्बतमा पढेर आउने लामा र तिब्बती लामाहरूले आफ्नै अर्थमा त्यहाँको पुरानो लिपिलाई छोपिने गरी आफ्नै लिपि राखेको भन्ने भनाइ रहेछ । 

कतिपय ढुङ्गामा खोपिएका अक्षर अहिले पनि देख्न पाइन्छ । त्यहाँ ढुङ्गामा खोपेर बनाइएका देवीदेवताका चित्रहरू भएका ढुङ्गाहरू मिलाएर राखिएको थियो । माने (छ्योर्तेन) हरू पनि ठड्याइएको यो एउटा जीवित इतिहास हो । जिउँदो संस्कृति हो । नेपालको इतिहास र तामाङ संस्कृतिबारे अनुसन्धान गर्नेहरूको लागि यो खुला किताब पनि हो । 

खनियाबास गाउँपालिका वडा नं. ३ को कुह्री गाउँको बिजुली ढुङ्गा धार्मिक तथा पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण रहेको छ । त्यहाँको वस्तुस्थिति अवलोकन गर्न जाने पर्यटकहरूका लागि आवश्यक भौतिक आधार तयार गर्नुपर्ने हुन्छ । त्यस बिजुली ढुङ्गामा खोपेर माथि चढ्ने सिँडी बनाउने र पूजापाठ गर्ने व्यवस्था स्थानीय निकायले गर्नुपर्दछ । 

त्यस स्थानको प्रचार प्रसारका लागि समय समयमा मेला, महोत्सव जस्ता उत्सवहरू गरिनुपर्दछ । त्यहाँको बिजुली ढुङ्गो, ल्याक्चेकुण्ड, कुह्री म्हेन्दङ लगायत त्यहाँको प्राकृतिक सुन्दरता स्थानीयको मात्र नभएर हामी सबैको निधि हो, सम्पदा हो । यी अमूल्य निधिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । हामीभन्दा पछिका पुस्ताले पनि यी कुराहरू सहज तरिकाले हेर्न, अवलोकन गर्न सकुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ