arrow

महरालाई सुनपानी छर्कने प्रपञ्च

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
krishnabahadur-mahara-rahul-mahara-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत अवैध रुपमा आउने सुन तस्करीमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरालाई छानबिन आयोगमार्फत सुनपानी छर्कने प्रपञ्च गरिएको छ । 

भेपमा आएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको घनिष्ठ सम्पर्क खुले पनि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामान्य सोधपुछसमेत नगरेकाले अनुसन्धानको माग गरिएको भए पनि नेकपा एमालेको माग सम्बोधन गर्ने क्रममा उनलाई चोख्याउने प्रपञ्च गरिएको हो । 

नौ किलो सुनमा बेल्जियन नागरिक दावाजिन वाङसँग विशेष सम्बन्धमा रहेका महरा बाबुछोरालाई सीआईबीले सोधपुछसमेत नगरी बदनियतपूर्ण अनुसन्धान गरेको सार्वजनिक भए पनि राजनीतिक आडमा बच्दै आएका छन् । 

यो विषयमा प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक र सीआईबी प्रमुखसँग छलफल गरे पनि अनुसन्धान गर्न निर्देशन दिएका थिएनन् । ६० किलो सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय आयोग गठनको कार्यदेशमा नौ किलो सुनको पनि छानबिन गर्ने भनेर सहमति गरेपछि उनीहरुलाई प्रहरीको अनुसन्धानमा नल्याइ चोख्याउन लागेको आभास हुन थालेको हो । 

पहिलो बुँदामा ६० किलो सुन तस्करीको अनुसन्धान सीआईबीबाटै हुने र सीआईबीको अनुसन्धान सकिएपछि विदेशबाट इलेक्ट्रिक सिगरेटको आवरणमा भएको सुन तस्करी र ब्रेकसुको आवरणमा भित्रिएको ६० किलो सुन तस्करी भएको विषयमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति बनेको उल्लेख छ ।

सहमतिमा तस्करी नियन्त्रण गर्न कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन अनुसार आयोग गठन गर्ने उल्लेख गरिएको छ ।

आयोगले अभियोजन नगरी सरकारलाई केवल सुझाव मात्र दिने कार्यक्षेत्र हो । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने दोहोर्याए पनि ९ किलो सुन तस्करीमा जोडिएका महराका बाबुछोरामाथि अनुसन्धान अघि बढाइएको थिएन । 

आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिइएको थियो । 

गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो । 

अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’ 

तर भेपमा सुन भएको भेटेपछि त्यसलाई लिलाम नगरी भन्सारका अधिकारीसहितको मिलेमतोमा बेचिएको थियो ।  पुस १० मा बिहान ७ः१० देखि मध्यान्ह १२ बजेसम्म विमानस्थलको आगमन कक्षको यात्रु शाखा प्रमुखको हैसियतमा ड्युटीमा खटिएका विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले प्रहरीलाई दिएको बयानअनुसार सुरुमा ठूलो परिमाणको भेप भनेर रोकिएको हो ।

तर त्यसमा सुन रहेको र सुन चोरी गरी बेचेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ