arrow

सुन तस्करी प्रकरणको लहरो

महरालाई पहिले नै पक्राउ नगर्नु दुर्भाग्य, नैतिक संकटमा नारायणकाजी

आफूसमेत तानिने डरले नारायणकाजीले यो मुद्दा कमजोर बनाएको स्रोतको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
mahara-narayankaji-12-05.jpg

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयानका लागि बोलाएको थियो । सीआईबीमा जानु उनका लागि यो पहिलो होइन । सोमबार बिहान सीआईबीले उनलाई सुन प्रकरणमै दोस्रो पटक नियन्त्रणमा लिएको छ ।

गत भदौ १३ गते ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल बुटवलबाट पक्राउ परेका थिए । बाबु छोराको नै संलग्नता देखिएको उक्त प्रकरणमा छोरालाई मात्रै नियन्त्रणमा लिएर सीआईबीले छानबिन गरेको थियो । 

सोही दिन प्रहरी अनुसन्धान केन्द्रीय कार्यालयमा अचानक गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए । गोप्य रुपमा सीआईबीमा पुगेका उनले एक व्यक्तिमाथिको अनुसन्धानमा केन्द्रित रहेर छलफल गरेका थिए । 

उनले आफू निकट रहेका सहसचिव झलकराम अधिकारीलाई जोगाउनु पर्ने र कृष्णबहादुर महरालाई पक्राउ नगरी बयान लिएर छाडिदिन दबाब दिएका थिए । करिब ६१ किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग शंकास्पद सम्बन्ध देखिएका अधिकारी अध्यागमन विभागबाट मन्त्रालय तानिएका थिए । 

उनी भदौ ७ मा मन्त्रालय तानिएका थिए । सो विषयमा चासो लिएर गृहमन्त्री सीआईबी पुगेका थिए । गृहमन्त्री श्रेष्ठका अति लोकप्रिय पात्र रहेका अधिकारीलाई प्रतिवादी नबनाउन उनले ठूलो दबाव दिएका थिए । सोही दबाबका कारण सीआईबीले झलकरामलाई सामान्य बयान मात्रै लिएर छाडिदियो भने महरालाई पनि सामान्य बयान लिएर छाडिदियो ।

तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यले महरा बाबुछोरालाई गत जेठमा पनि पक्राउ गर्न खोजेकी थिइन् । तर उनै नारायणकाजी श्रेष्ठले रोकेको स्रोतको दाबी छ । 

पछि मिडियाबाट चर्को दबाब परेपछि मात्रै राहुललाई पक्राउ गरिएको र कृष्णबहादुर महरालाई कागज गराएर छाडिएको थियो । 

जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा अधिकारी र महरालाई प्रतिवादी बनाइएको थिएन । श्रेष्ठकै निगाहमा विभिन्न मालदार निकायको नेतृत्वमा पुगेका झलकराम सुनकाण्डमा तानिए गृहमन्त्री श्रेष्ठसमेत तानिन सक्ने खतरा थियो । 

तर आफूसमेत तानिने डरले नारायणकाजीले यो मुद्दा कमजोर बनाएको स्रोतको दाबी छ । अहिले तिनै नारायणकाजी परराष्ट्र मन्त्री छन् । उनको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छ । 

राजनीतिक स्टन्ट गर्न माहिर नारायणकाजीले आरोपी कसैलाई काखापाखा नगर्ने बताउँदै इमानको खोल लगाएर भित्र भने अनैतिक काम गर्दा रहेछन् भन्ने स्पष्ट भइसकेको छ । 

अहिले भने महरालाई भारत भाग्दै गर्दा कपिलवस्तुबाट पक्राउ गरियो । उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौँ जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

नर्भिक अस्पतालका अनुसार महरालाई नर्भिकको इमरजेन्सी वार्डमा राखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । सोमबार सीआईबीले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा पेस गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।

सीआईबीले गरेको पहिलो चरणकै अनुसन्धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो । 

त्यतिबेला सीआईबीले लिंक चार्टमात्रै उल्लेख गरी मुद्दा अदालतमा लगेको थियो । दोस्रो चरणको अनुसन्धान गर्दा भने राहुल महरा पक्राउ परे । सीआईबीले राहुल महरालाई पक्राउ गरी मुद्दा नै चलायो । 

उनीसँगै लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङलाई प्रतिवादी बनाएको थियो । पौडेल वाङका सवारी चालक थिए । उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । 

यसमा काठमाडौँ जिल्ला अदालतले राहुल र छिरिङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । पौडेल ५ लाख धरौटीमा छुटेका थिए । यता निमा भने फरार छिन् ।  

यही दोस्रो चरणको मुद्दा बुझाउनुअघि सीआईबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो । 

जसमा महराले फलफूल व्यवसायी दाओजिन वाङलाई सुन तस्करको रूपमा चिनेको बयान दिएका थिए । 

आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए ।

यस्तो थियो महराको बयान
‘मिति २०७९–०९–१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजे ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिवि भन्सार कार्यालयमा जफत भएको थियो । त्यसपश्चात् दाओजिन वाङले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझी दिनुपर्यो भनी मलाई भनेका थिए ।
 
मैले त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनी फोन गरेको हो । 

मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । 

दाओजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए र उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । योबाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ