arrow

महराबारे गृहमन्त्रीको भनाइले तरङ्ग, त्यही प्रकृतिका कति आरोपीले पाए यस्तो सुविधा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
mahara-arrest-goldcase.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएर अदालतको काम पनि सरकारले गरिदिएको आशय व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेले महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडिएकोले अतिरञ्जित नगर्न आग्रह गर्दै यस्तो अभिव्यक्ति दिएर अदालतको काम पनि सरकारले गरिदिएको आशय व्यक्त गरेका हुन् ।

‘कहिलेकाँही मानवीय सम्बेदना र करुणाका कुराहरु छाउँछन् । ८–१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इंगित गरेको छ । र कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ । राज्य निर्मम पनि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन’, उनले भने ।

उनले यसो भनिरहँदा त्यही प्रकृतिका कति आरोपीले यस्तो सुविधा पाए भन्ने प्रश्न उठेको छ । माथिल्लो तहमा रहेका व्यक्तिहरुले अपराध अनुसन्धानमा पर्ने बित्तिकै अस्पतालमा पुग्नु पर्ने र प्रहरीले त्यहीँबाट बयान लिनुपर्ने बाध्यता रहेको छ । महरालाई पनि राज्यले सोही सुविधा र बाध्यता अन्तर्गत राखेर बयान लिई तत्कालै मुद्धा नचलाउने गरी हाजिर जमानीमा छाडिदियो ।

जबकि उनी गत साता सोमबार भारततिर भाग्दै गर्दा कपिलबस्तुमा पक्राउ परेका हुन् । उनी आफू पक्राउ पर्ने निश्चित जस्तै भएपछि पार्टीको नेतृत्वले नै भाग्न सुझाव दिएको स्रोत बताउँछ । माओवादीका केही नेताहरु भने आफ्नो गृहजिल्ला दाङ जान लाग्दा पक्राउ परेको पनि बताउँछन् । 

दुवैको भनाइलाई केलाएर हेर्ने हो भने उनी यति गम्भीर बिरामी भएका भए भाग्ने थिएनन् उपचार गराएर बस्थे । अनि उनी यति गम्भीर बिरामी भइदिएका भए काठमाडौँमै बस्थे गाउँ जाँदैनथे । 

भगाउने र भाग्ने वालाले सोच्न नभ्याएको चिजलाई गृहमन्त्री रविले ढाकछोप गरेर गम्भीर बिरामी भएको पारेर नर्भिक अस्पतालको इमरजेन्सीमा लगेर भर्ना गर्नु कहाँसम्मको बेइमानी ? 

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा छुटेपछि सानालाई कानून ठूलालाई सहुलियत भन्ने प्रश्नको जवाफ उपप्रधानमन्त्रीसँग छैन । स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत् बाहिरै राखेर मुद्दा अघि बढाइने गरी महरालाई रिहा गरिएपछि यस्तो प्रश्न उठे पनि उनले राज्यसँग अलिकति करुणाको कुरा गरेर भावनासँग खेल्न खोजे । 

एउटा गम्भीर अपराधसँग जोडिएको अभियुक्तलाई भावनासँग जोडेर आफ्ना मुद्धालाई ओझेलमा पार्न खोज्नु गृहमन्त्री लामिछानेको नालायकीपन हो भन्दा कुनै हिच्किचाहट मान्नुपर्ने कारण छैन । 

महरा यसरी सजिलै छुट्ने हो भने त गम्भीर प्रकृतिका सजाय काटिरहेका अपराधीहरु जेलमा कति होलान् ? के तिनीहरुले उन्मुक्ति पाउँछन् । 

प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी रिहा गरिएका महरालाई उनका जेठा छोरा निर्मलको जिम्मा लगाइएको थियो । उनीमाथिको अनुसन्धान भने जारी रहने बताइएको भए पनि अदालतमा नपुर्याइ छाडिएको हाजिर जमानीले ठूलालाई हेर्ने कानूनी आँखा र सर्वसाधारणलाई हेर्ने कानूनी आँखा बेग्लै रहेको पुष्टि गर्दछ ।

मुटु, घाँटी, मस्तिष्कसहित विभिन्न रोगबाट ग्रस्त देखिएको भन्दै अदालतले नै उपचार गराउन आदेश दिएकाले हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउने गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो । 

महरालाई सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि गत साता सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि काठमाडौँ ल्याएर सरकारी हिरासतमा नराखी अस्पतालमा राखेर उनलाई सीआईबी र सरकारी वकिलको कार्यालयले बयान लिएका थिए । 

बयान सकिएसँगै शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो । हाजिरी जमानीमा छुट्नुअघि महरासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पटक पटक कुराकानी गरेका थिए । 

हिरासतमा रहेका र अनुसन्धान भैरहेको एक व्यक्तिसँग प्रधानमन्त्रीले नै कुरा गर्नुलाई कति जायज मान्ने भन्ने अर्को महत्वपूर्ण प्रश्न उठेको छ । हिरासतमा रहेका व्यक्तिलाई प्रधानमन्त्रीले नै कुराकानी गर्न थालेपछि अनुसन्धान अधिकृतले कसरी अनुसन्धान गर्न सक्छ र भन्ने प्रश्नको जवाफ नत गृहमन्त्रीसँग छ नत प्रधानमन्त्रीले नै यो विषयमा केही जवाफ दिन सक्छन् ।

‘यही प्रकरणमा एउटा सर्वसाधारण परेको भए यस्तै छुटकारा पाउथ्यो र ?’, एक प्रहरी अधिकारीले भने ‘उहाँको हकमा माथिकै आदेशले काम गरेको छ ।’ गृहमन्त्री लामिछानेले महरालाई पक्राउ गर्न दौडधूप गरेका थिए । 

उनले प्रधानमन्त्रीदेखि माओवादीका नेताहरुलाईसमेत दबाबमा राखेका थिए । तर  प्रहरीका अनुसन्धानबाट केही पनि नभेटिएको भन्दै छाड्नु पर्ने अवस्था सिर्जना भए पनि उनीसमेत चुपचाप रहेका छन् । 

‘सुन तस्करलाई पक्राउ गर्नकै लागि भनेर सीआईबीको टिम परिवर्तन गरिएको थियो’, स्रोतले भन्यो, ‘यो त ठूलामाछा छुटाउन टिमको सेटिङ गरेजस्तो पो देखियो । अहिले पुरक प्रतिवेदन भनेर बनाउन खोजिएको पनि उनलाई कानूनी रूपमै छुटकारा दिनका लागि हो ।’

गत २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा संलग्न चिनियाँ समूहसँग सम्बन्ध देखिए पनि उन्मुक्ति पाएको भन्दै जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । 

सोही प्रतिवेदनका आधारमा गृहमन्त्री लामिछानेले महरालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको भए पनि यसअघि सीआईबीले गरेको अनुसन्धानकै आधारमा अरु थप प्रमाण नजुटाई छाडिदिएको छ । 

महराको संलग्नताबारे अनुसन्धानपछि मात्रै मुद्दाको टुंगो लाग्ने बताइए पनि प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले छाडेको भन्दै अरोपबाट छुटकारा दिने रणनीति अनुसार छाडिएको स्रोतले जनाएको छ ।  

पहिले नै महराको कमजोर स्वास्थ्य अवस्था थाहा पाएका प्रधानमन्त्री प्रचण्डले नै पक्राउ र रिहा दुवैमा भूमिका खेलेपछि प्रहरी अधिकारीहरु दबाबमा परेका थिए । महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । 

त्यसै अनुसार उनलाई नर्भिक अस्पतालमा राखिएको थियो । प्रहरीले गत बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको थियो । उनलाई सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको जनाउँदै कारबाही नै नगर्ने गरी छुटकारा दिन खोजिएको छ ।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले उच्च अदालतका न्यायधीश आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो । 

गत साउनमा हङकङबाट बे्रक शुमा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो । 

२०७९ पुस १० गते फ्लाइ दुबईको उडान नम्बर एफजेड– ०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए । 

विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो । त्यही भेप मार्फत ल्याएको सुनलाई छाड्न महरा र उनका छोरा राहुल महराले ताकेता गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । 

सोही प्रतिवेदनलाई आधार मान्दै यसअघि सीआईबीले राहुल महरा पक्राउ गर्दा बाबु कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो ।  त्यसक्रममा उनले चिनियाँ नागरिकले सुन ल्याएको भन्ने जानकारी नभएको र तस्करीको सुन छाड्न कुनै पनि प्रकारको दबाब नदिएको भन्दै सीआईबीको बयानमा अस्वीकार गरेका थिए । 

अहिले पनि सोही प्रकारको बयान दिएको सीआईबीले जनाएको छ । ‘उहाँले इन्कारी बयान दिनु भएको छ’, स्रोतले भन्यो ।

महराले सीआईबीसँगको बयानमा आफू क्षयरोग, युरिक एसिड र प्रोस्टेटको बिरामी भएकाले नियमित औषधि सेवन गरिरहेको उल्लेख गरेका छन् । 

उनले बयानको क्रममा चिनियाँ दावाजिन वाङसँग चिनजान रहेको तर आफूले कहिल्यै पनि तस्करीको बारेमा कुराकानी नगरेको दाबी गरेका थिए । 

यो कुरा यसअघि सीआईबी र सुन आयोगलाई दिएको बयानमासमेत उल्लेख गरेका थिए ।  बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिन वाङलाई फलफूल व्यवसायीका रुपमा मात्र चिनेको दाबी गरेका छन् । 

हाइड्रोपावर परियोजनाका कर्मचारीका लागि ल्याएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका थिए् । 

‘कानून बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर मात्र भनेको हो’, उनले भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो, सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन,’ महराले अहिलेको बयानमा भनेका छन् । 

जुन कुरा यसअघिको बयानमा पनि उल्लेख गरेका थिए । सीआईबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ ।

‘प्रष्टसँग सुन तस्करसँग साँठगाँठ देखिन्छ, सरकारी कर्मचारीलाई सामान छाड्न भनिएको तस्कहरुसँग गाडीदेखि अन्य सुविधा लिएको सबैलाई थाहा छ तर पनि उनलाई स्वास्थ्यको कारण करुणा देखाएर छुटकारा दिन खोजिँदैछ’, सीआईबीका एक अधिकारीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ