arrow

गौरकाण्डमा घचेटिने डर बोकेर उपेन्द्र यादव शक्ति प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले गौर घटनाको छानबिन अगाडि नबढाउने भएपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव यतिबेला मधेस प्रदेशमा अघोषित शक्ति प्रदर्शनको सभाहरु गरिरहेका छन् ।  

सत्ता गठबन्धनकै एक घटक जसपालाई लक्षित गरेर गौर घटनाको छानबिन अगाडि बढाउने निर्णयमा आपत्ति जनाएर मधेस पसेका उनले आफ्नो प्रभाव क्षेत्रमा शक्ति प्रदर्शनका सभाहरु गर्न थालेका हुन् । 

उनको आपत्तिपछि सरकारले गौर हत्याकाण्डको छानबिन अघि नबढाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा उल्लेख भएअनुसार छानबिन नहुनेमा ढुक्क रहन जसपालाई आश्वस्त गराएका छन् । 

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच साउन २३ गते भएको पाँच बुँदे सहमतिको पहिलो बुँदामा तत्कालीन समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

यही बुँदामा आपत्ति जनाएको जसपालाई प्रचण्डले छानबिन अगाडि नबढ्ने भन्दै ढुक्क रहन भनेका छन् । यसमा सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सहमति जनाएका छन् । यद्यपि यो मुद्धा कुनै न कुनै बेला उठ्न सक्ने भएकाले उपेन्द्र यादव आफ्नो शक्ति प्रदर्शनमा लागेको स्रोतको दाबी छ । 

गौरमा पीडितहरूले न्यायका लागि धर्ना, प्रदर्शन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिठी पठाएर नै पीडितहरूलाई काठमाडौं बोलाएको थियो । 

उनीहरूसँगको केही चरणको वार्तापछि सहमति त भयो तर सहमति गरेको २० दिन बितिसक्न लाग्दा पनि छानबिनको काम अघि बढेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले सरकार र पीडितका बीचमा भएको सहमतिबारे कुनै जानकारी नभएको बताएको छ । 

तर सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका गृह प्रवक्ता नारायणप्रसाद भट्टराई भने छानबिन अगाडि बढेको दाबी गर्छन् । घटनाको छानबिन नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । 

सहमतिको पालना गर्दै शहीद घोषणा हुन बाँकी रहेकालाई सहिद घोषणा गर्न र घाइतेलाई उपचार र आर्थिक सहायता उपलब्ध गराउने समितिको माग छ ।

गौर घटना लगत्तै परेका जाहेरीमा मधेसी जनअधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवमाथि समेत छानबिन हुनुपर्ने माग गरिएको छ । त्यसैले जसपा अध्यक्ष झस्किएका हुन् । 

उनले पटक पटक मधेसवादी शक्तिलाई समाप्त पार्ने शासकले यस पटक पनि मधेसी शक्ति समाजवादी पार्टीलाई सिध्याउन गरिरहेको प्रयास सफल नहुने टिप्पणी गर्दै सरकारलाई धम्क्याइरहेका छन् । 

‘मधेसी शक्तिलाई सिध्याउने शासकको सपना न पहिला पूरा भयो न कहिल्यै हुन्छ’ सिरहाको धनगढीमाईमा जसपाले गरेको वृहत् पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै उनले भनेका थिए । 

२०६३ चैत ७ गते गौरमा तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको अमानवीय हत्या भएको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ । 

घटना लगत्तै सरकारले छानबिन आयोग बनायो तर त्यसको सिफारिस कार्यान्वयन भएन । गौर घटनाको प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन । गौर घटनाका दुवै पक्ष माओवादी र जसपाले पटक पटक सत्ता सहकार्य जारी राखेका छन् । तर, पीडितहरू भने हरेक पटक सरकार बन्दा न्याय माग्दै काठमाडौं आउने र फर्किने गरेका छन् ।

त्यसको बदलामा अध्यक्ष यादवले सिराहको आमसभालाई सम्बोधन गर्दै केन्द्रीय शासन सत्तामा रहेकालाई धम्की दिन थालेका छन् । 

‘पहिलो मधेस आन्दोलनभन्दा पलिला मधेसी, धोतीभई, बिहारी, भन्थे, हेप्थे’, ०६३ को माघे मधेस आन्दोलन अघिको समय सम्झँदै अध्यक्ष यादवले भने, ‘पहिले त्यसो भन्नेहरु नै अहिले गौरवका साथ आफूलाई मधेसी भन्छन् । यो मधेस आन्दोलनको देन हो । मधेसमा मधेस सरकारको निर्माण भएको छ। संसारमा छाती ठाकेर हामी मधेसी हौं र मधेस हाम्रो प्रदेश हो भन्न सक्ने भएका छौं यो गौरवको कुरा हो ।’ 

मधेस आन्दोलन भन्दा पहिला मधेसी, दलित, महिला, मुस्लिमलगतको कहिँकतै प्रतिनिधित्व थिएन अध्यक्ष यादवले मंगलबारको सभामा भने, ‘नामका लागि एकआध जनालाई राखिदिन्थे । 

तर मधेस आन्दोलनपछि वडादेखि संसदमा  दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी, सीमान्तकृतको समावेशी प्रतिनिधित्व व्यावस्था भएको छ यो समावेशी लोकतन्त्र मधेस आन्दोलन र आजको जसपाको देन हो ।’ उनले यस्ता आमसभामहरु मधेशभर हुने तथा मधेसी जनालाई सचेत बनाउने बताइरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ