काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
“अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्नुभयो”, प्रवक्ता महराले भने, “अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई पार्टीसँग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।” सबै केन्द्रीय सदस्यले पार्टी जनताको माझमा जानुपर्ने, प्रतिबद्धताअनुसार काम गर्नुपर्ने, पार्टी निर्माण र विस्तार गर्नुपर्छ भन्नेमा जोड दिएका थिए ।
बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका थिए ।
बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।
बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला
माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरेको छ ।
माओवादीले जारी केन्द्रीय समिति बैठकबाट २४ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको छ ।
महिलाको सङ्ख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय पुगेको छ ।
विधानमा भएको व्यवस्थाअनुसार पार्टी कमिटीमा महिलाको सङ्ख्या ३५ प्रतिशत पुर्याउने गरी महिला केन्द्रीय सदस्य मात्र थप गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।