arrow

यसरी मार्छ पूँजी बजारले छलाङ

logo
तिलक कोइराला,  
प्रकाशित २०८० असार १८ सोमबार
article-tilak-koirala-2080-03-18.jpg

हामी नेपालको पूँजी बजारले ऐतिहासिक छलाङ मार्ने सघारमा उभिएका छौँ । आउने केही दिनभित्रैमा पूँजी बजारमा ऐतिहासिक उभार आउनेवाला छ ।  शेयरको मूल्य धेरै बढेर वा नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेर त्यो छलाङ मार्ने कुरा गरिएको विल्कुलै हैन । शेयर बजारमा आउने सबै लगानीकर्ताले कमाउँछन् नै भनेर ग्यारेन्टी गर्न पनि खोजिएको हैन । नीति, नियम, प्रविधि, पूर्वाधार र नियमनमा सुधारको कुरा गरिएको हो । 

सबैभन्दा पहिलो कुरा सरकार, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट पूँजी बजारलाई आघात पार्ने नीतिहरु अब आउने छैनन् । अबको केही दिन भित्रैमा डेढ अर्बसम्म चुक्ता पूँजी भएका शेयर दलालहरुले कारोबार सेवा दिँदैछन् । धेरै पूँजी भएका ४३ वटा शेयर दलालहरु थपिने कुरा नेपालको शेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार विकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिदिने छ । 

हाम्रो पूँजी बजारमा यसैपालादेखि ब्रोकरमार्फत नै मार्जिन ट्रेडिङको सुविधा हामी लगानीकर्ताले पाउने छौँ । नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा यस्तो ब्यवस्थालाई यसपल्टदेखि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन मौद्रिक नीतिमार्फत नीतिगत ब्यवस्था गर्ने संकेत दिएको छ र ब्रोकरहरुसँग पनि छलफल गरिसकेको छ । 

नागरिक स्टक डिलर र नबिल सेक्युरिटिज जस्ता ठूला कम्पनीहरुले दिने मार्जिन ट्रेडिङ सेवाबाट धेरै लगानीकर्ता लाभान्वित हुनेछन् । अन्तर्राष्टियस्तरमा शेयर बजारमा निकै प्रचलित यस्तो उपकरणबाट नेपालको शेयर बजारमा बाह्रै महिना लगानीयोग्य रकम अर्थात् तरलता उपलब्ध हुनेछ ।

नेपाल स्टक एक्सचेन्जले पहिले नेप्से फिप्टी भनेकोमा अहिले नेप्से थर्टी इन्डेक्स सहितको उपकरण चाँडै नै संचालनमा ल्याउँदैछ । यसले पूँजी बजारका महत्वपूर्ण कम्पनीहरुको वर्गीकरण  र कारोबारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । 

नेपाल धितोपत्र बोर्डले हाइड्रो र अन्य वर्गका कम्पनीहरुको संस्थापक हिस्सेदारी कति हुनुपर्ने भन्ने कुराको यकिन गर्दै चाँडै नै त्यस सम्बन्धी ब्यवस्थाहरु गर्ने गरी हाल अध्ययन गरिरहेको छ । नेपालको पूँजी बजारमा गैरआवासीय नेपालीहरुको प्रत्यक्ष लगानीसम्बन्धी ब्यवस्था पनि हुन लागेका छन् । 

बजारमा उच्च नेटवर्थ भएका उत्पादनमुलक र सेवा क्षेत्रका कम्पनीहरुको प्रवेश बढ्दो छ । यसबाट लगानीकर्ताले राम्रो कम्पनी छनोट गरी आईपीओमा आवेदन गर्ने र दोस्रो बजारमा कम्पनी छनोटका अरु धेरै विकल्पहरु पाउनेछन् । 

हाम्रो पूँजी बजारमा कर सम्बन्धी अन्योल समाप्त भइसकेर अब सरकारले स्थिर खालको कर नीति लिने सुनिश्चितता भइसकेको छ । ७.५ र ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम करको रुपमा परिभाषित भइसकेको अवस्थामा अब लगानीकर्ताले करको चिन्ता गर्नुपर्ने अवस्था रत्तिभर छैन । 

बैंक तथा वित्तीय संस्थाहरुमा बढेको तरलता र घट्दो ब्याज दरले लगानीकर्तालाई शेयर कारोबार गर्न अरु सस्तोमा कर्जा उपलब्ध हुनसक्ने संभावना बढेको छ । अहिले शेयर धितो कर्जा लिन बैकहरुमा लगानीकर्ताहरु धाउँदै गरेको र अन्यत्र कर्जा जानसक्ने अवस्था नभएपछि शेयर लगानीकर्ताहरुलाई नै बैंकले आमन्त्रण गरेर आधार दरमै कर्जा उपब्लध गराउने संभावनाले पनि बजारमा माग बढाउन सहयोग गर्नेछ । 

यी आधारहरुसहित नेपालको पूँजी बजारले  छलाङ मार्ने र ऐतिहासिक उभार आउने कुरा गरिएको हो । यसबाट नेप्सेले नयाँ रेकर्ड ब्रेक गर्ने र पूँजी बजारमा आउने सबैले कमाउने कुराको ग्यारेन्टी गर्न खोजिएको हैन । 

यसो भन्दैमा असार मसान्तको चाप र नाफा सुरक्षित गर्नेहरुले शेयर बेच्दै बेच्दैनन् भन्न पनि खोजिएको हैन । शेयरको मूल्य दिनदिनै बढेर वा घटेर मात्रै जान्छ भन्न कसैले सक्दैन । बजारमा उतार चढावहरु आइरहन्छन् । 

पूँजी बजार जोखिमको क्षेत्र भएकाले सोची विचारी, आफ्नो जोखिमबहन क्षमता, लगानी रणनीति, लगानी गरिने रकमको लागत, बजारमा हुने खेल, संभावना र चुनौती राम्रोसँग बुझेर विवेकपूर्ण लगानी गरिएको अवस्थामा बजारबाट लाभ लिन सकिने संभावना धेरै छ । जान्नेले झन् धेरै कमाउन सक्ने संभावनाका ढोकाहरु खुल्दैछन् । त्यसैले भागेर हैन, बजारमै टिकेर परिवर्तनको स्वाद चाख्नु राम्रो हुनेछ । (लेखक कोइराला शेयर लगानी कम्पनीका महाप्रबन्धक हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ