arrow

२०८० मा पूँजी बजार

प्रिमियममा आईपीओको बाढी आएको वर्ष

logo
शंकर अर्याल,
प्रकाशित २०८१ वैशाख १ शनिबार
shankar-aryal-81-01-01.jpg

काठमाडौँ । दोस्रो बजारको कारोबारका आधारमा २०८० साल लगानीकर्ताका लागि उत्साहपूर्ण रहेन । यो अवधिमा दोस्रो बजार परिसूचक र बजार पूँजीकरणमा सामान्य सुधार भए पनि उक्त सुधारलाई लगानीकर्ताले चित्त बुझाएका छैनन् । शेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल सरकार र नियामक निकाय पूँजी बजारप्रति उदार नहुँदा शेयर बजारले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउँछन् । 

एक वर्षको यो अवधिमा शेयर बजार परिसूचक ९१.२३ अंकले बढेको छ । २०७९ सालको अन्तिम दिन शेयर १९३४.४७ बिन्दुमा रहेको नेप्से २०८० को अन्त्यसम्म आइपुग्दा २०४५.४६ विन्दुमा पुगेको छ । २ सय ३० दिनको कारोबार अवधिका नेप्से परिसूचकका ४.७२ प्रतिशत बढेको देखिन्छ । कुल कारोबार दिनमध्ये १०३ दिन बढेको थियो भने १२७ दिन घटेर बन्द भएको थियो । 

उता बजार पूँजीकरणका आधारमा भने एक वर्षमा शेयर बजारको कुल सम्पत्ति १३.९५ प्रतिशतले बढ्यो । अघिल्लो वर्षको अन्तिम कारोबार हुँदासम्म शेयर बजारको बजार पूँजीकरण २८ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो । यो वर्षको अन्तिम कारोबार दिन आइपुग्दा उक्त पूँजीकरण बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

किन उत्साही भएनन् लगानीकर्ता ? 
अघिल्ला केही वर्षहरुमा शेयर बजारका लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपर्यो । ३२ सय नजिक पुगिसकेको बजार यही दुई वर्षको बीचमा १८ सयसम्म झरेको थियो । यो वर्ष बजार घटेकै कारणले लगानीकर्ताले धेरै ठूलो नोक्सानी व्यहोर्नु परेन । तर पनि लगानीकर्ताहरु यो वर्षलाई सम्झन लायक वर्ष मान्दैनन् । 

ठूलो नोक्सानीमा रहेर पनि बढ्ने आशमा शेयर होल्ड गरेर बसेका लगानीकर्ताको अपेक्षा पूरा हुन नसक्दा शेयर बजारप्रति लगानीकर्ताहरु सकारात्मक हुन नसकेका हुन् । 

शेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष फुल्लेल बजार घट्यो कि बढ्यो भन्ने आधारमा मात्रै समग्र बजारलाई हेर्न नहुने बताउँछन् । तर पूँजी बजारको नीतिगत र संरचनागत सुधारका लागि सरकार र नियमनकारी निकायले गरेको प्रयास सकारात्मक नभएको उनको बुझाइ छ । 

खासगरी नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लिएको १५–२० करोडको नीति र शेयर कर्जाको जोखिमभार घटाउने विषयमा राष्ट्र बैंक उदार नभएको उनी बताउँछन् । सोही कारण बजारमा पर्याप्त तरलता भएर ब्याजदर घट्दा पनि बजारले कुनै लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ । 

फुल्लेल भन्छन्, ‘शेयर बजारलाई कहिले ४–१२ त कहिले १५–२० करोडको क्याप लगाउने काम भयो । हामीले यो आवश्यक छैन भन्यौँ, तर राष्ट्र बैंकले हटाएन । शेयर कर्जाको जोखिमभार पनि घटाउन भन्यौँ, तर अहिले पनि १२५ राखिएको छ । बजारप्रति राष्ट्र बैंकको धारणा नै पोजेटिभ भएन ।’

सरकारलेसमेत शेयर बजार सुधारका लागि सकारात्मक भूमिका निर्वाह नगरेको फुल्लेल बताउँछन् । ‘धितोपत्र बोर्डले पठाएको शेयर कारोबारको कमिसन घटाउने प्रस्ताव महिनौँदेखि अर्थ मन्त्रालयले रोकेर राखिएको छ’, फुल्लेल भन्छन्, पूँजी बजारको सुधारको लागि दिएको सुझाव कार्यान्वयन गर्दैन । बरु महिनौदेखि बोर्डको अध्यक्ष नियुक्ति रोकेर राखिएको छ । यसले ‘लगानीकर्तालाई निरुत्साहित बनाएको छ ।’

२०८० मा भएका महत्वपूर्ण परिवर्तन 
लगानीकर्ताहरु उत्साहित हुने वातावरण नबने पनि २०८० सालमा शेयर बजारमा केही महत्वपूर्ण कामहरु भएका छन् । नयाँ ब्रोकरहरुले लाइसेन्स पाउनु, बुक बिल्डिङमार्फत् पहिलोपटक आईपीओ अनुमति पाएर निष्कासन प्रक्रिया सम्पन्न हुनुलगायत कामहरु यो वर्षको उपलब्धि मान्न सकिन्छ । 

यो वर्ष पहिलोपल्ट बुक बिल्डिङ प्रणालीमार्फत् सर्वोत्तम सिमेन्टको आईपीओ बजारमा आएको छ । सर्वोत्तमलाई पछ्याउँदै रिलायन्स स्पिनिङ मिलले पनि यही प्रणालीमार्फत् आईपीओ ल्याउने तयारी गरेको छ । यसका लागि संस्थागत लगानीकर्तासँग बिडिङ प्रक्रिया टुंग्याइसकेको छ । बोर्डमा अध्यक्ष नियुक्त नहुँदा सर्वसाधारणलाई शेयर निष्कासन गर्ने अनुमति पाउन सकेको छैन । 

यही वर्ष शेयर बजारमा थप ४३ वटा ब्रोकर कम्पनीहरुले नयाँ लाइसेन्स पाएका छन् । स्टक एक्सचेञ्ज, कमोडिटिज एक्सचेञ्ज र ब्रोकर लाइसेन्स एकैपटक खुलाएको बोर्डले ब्रोकर लाइसेन्स मात्रै वितरण गर्न सफल भएको हो । कार्यबाहक अध्यक्ष फुल्लेल छोटो समयमै कानूनी प्रक्रिया पूरा गर्न सफल हुनु प्रशंसनीय भएको बताउँछन् । 

बजारमा रियल सेक्टरको उल्लेखनीय प्रवेश
२०८० सालमा मात्रै २२ वटा कम्पनीको करिब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको आईपीओ आएको छ । यसरी आईपीओ निष्कासन हुने कम्पनीहरुमा १० वटा हाइड्रोपावर कम्पनी, चार वटा जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी, तीन वटा सिमेन्ट कम्पनी, मिडिया कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, कृषि कम्पनी र वायरहाउजिङ कम्पनीका एक–एक वटा आईपीओ बजारमा आएका छन् । 

यसरी आईपीओ जारी भएका कम्पनीमध्ये ५ वटा इन्स्योरेन्स र मिडिया कम्पनी र इन्भेष्टमेन्ट कम्पनी मात्रै सेवा क्षेत्रसँग सम्बन्धित कम्पनी हुन् । बाँकी १५ वटा कम्पनी वास्तविक क्षेत्रसँग सम्बन्धित छ । यद्यपि अनुमति पाएको कुल शेयरको मूल्यमा यी सात कम्पनीको मूल्य १५ अर्ब ६८ करोड रुपैयाँ छ । 

चालु आर्थिक वर्षमा जम्मा ८ वटा कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । त्यसमध्ये ५ वटा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति पाएका छन् । 

पछिल्लो ट्रेन्डले एक सय रुपैयाँमा आईपीओ पाइन्छ भन्ने मानसिकता नै परिवर्तन गराइदिएको विश्लेषकहरु बताउँछन् । 

यसले सर्वसाधरण लगानीकर्ताले महँगो मूल्य तिर्नु परे पनि वर्षौंदेखि सञ्चालनमा रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खृुला भएको छ ।
 



लोकप्रिय समाचार
नयाँ