arrow

साताको शेयर बजार

अर्थमन्त्रीका कारण सुस्ताएको शेयर बजारलाई २००० मनोवैज्ञानिक विन्दुको टेवा

गुराँस लघुवित्तका सेयर धनीले एकै साता कमाए ५० प्रतिशत, सर्वोत्तमका सेयर धनीको सर्वाधिक गुम्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
nepse-technical-graph.jpg

काठमाडौँ। सरकारले पुँजी बजार सुधारका लागि आवश्यक कदम नचाल्दा शेयर बजार परिसूचक निरन्तर रूपमा घट्ने क्रममा छ। चैत महिनाको तेस्रो साताका सबै कारोबारहरूमा शेयर बजार परिसूचक नकारात्मक भएर बन्द भएको हो।

अघिल्लो बिहीबार शेयर बजार परिसूचक २०३५.६८ अङ्कमा रोकिएको थियो। यो साताको ५ कारोबार दिनमा बजार परिसूचक निरन्तर रूपले घट्दै जाँदा यो साताको अन्तिम दिन बजार परिसूचक २००४.०५ विन्दुमा आएर रोकिएको छ। आइतबार सर्वाधिक १७.३० अङ्कले घटेको बजार सोमबार ६.२६ अङ्क, मङ्गलवार १.८५, बुधवार ३.४३ र बिहीबार २.७६ अङ्कले घटेको हो। योसँगै यो साता मात्रै शेयर बजारको पुँजीकरण ५० अर्ब रुपैयाँले घटेर ३१ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ।

परिसूचकमा गिरावटका बाबजुद यो साता शेयर बजारको कारोबारमा भने सुधार देखिएको छ। अघिल्लो साता चार दिनमा ९ अर्ब ५६ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यो साता पाँच कारोबार दिनमा १३ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसरी हेर्दा अघिल्लो साता औसत २ अर्ब ३९ करोड शेयर कारोबार भएकोमा यो साता बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको देखिन्छ। कारोबार भएको शेयर सङ्ख्या र कारोबारको सङ्ख्याका आधारमा समेत अघिल्लो साताभन्दा यो सङ्ख्या बढी हो। 

बजारलाई २००० को टेवा
घट्दो क्रममा रहेको बजारलाई बिहीबार २ हजार बिन्दुले टेवा दिएको देखिन्छ। उक्त दिन शेयर बजार २ हजारको नजिकसम्म झरिसकेको थियो। बन्द हुने बेलामा भने त्यसको तुलनामा केही बढेर बन्द भएको थियो। कुनै विन्दुको वरपर बजार घुम्ने र पहिले आएकै दिशामा मोडिने अवस्थालाई बजारमा टेवा र अवरोध मानिन्छ। घट्न रोक्ने विन्दुलाई टेवा र बढ्न रोक्ने विन्दुलाई अवरोधको विन्दु भनिन्छ। 

केही दिनअघि नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले अब शेयर बजार २ हजारभन्दा तल नझर्ने बताएका थिए। उनी जस्तै बजारका अन्य विश्लेषकहरूले अहिलेको अवस्थामा बजार योभन्दा तल जान नसक्ने बताउँदै आएका छन्। यी नै भनाइका कारण यो विन्दुबाट बजार घट्न पाएन । बरु २ हजारको विन्दु नजिक पुग्दा शेयर बजारको कारोबारमा सुधार आउनुले आगामी दिनमा बजार सुधारको सङ्केत गरेको छ। 

त्यस्तै, मैनबत्ती विश्लेषण अनुसार बजारले ‘थ्री ब्ल्याक क्रोज’को आकार बनाएको छ। यसले पनि बजारको बुलिस ट्रेन्डमा परिवर्तनको सङ्केत गरेको छ। 

१६ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत बढी
यो साता बजार घटे पनि १६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत भन्दा माथिको मूल्य कमाएका छन्। यो साता सबैभन्दा बढी कमाइ गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गरे। गुराँसको शेयर मूल्य यो साता मात्रै ५०.४ प्रतिशतले बढेको छ। अघिल्लो साता १ हजार ३ सय १७ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता बढेर १ हजार ९ सय ७६ रुपैयाँ पुगेको हो।

त्यस्तै, बिन नेपाल लघुवित्तका सेयर धनीले यो साता ३५ प्रतिशत कमाए। अघिल्लो साता १ हजार १ सय ३३ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता बढेर १ हजार ५ सय ३० रुपैयाँ पुगेको हो। महिला लघुवित्तको शेयर पनि यो साता करिब २३ प्रतिशतले बढेर १ हजार ९७ रुपैयाँ पुगेको छ।

त्यसबाहेक गणपति लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, माई खोला हाइड्रोपावर, महुली लघुवित्त, विजय लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सृजनशील लघुवित्त, सबैको लघुवित्त, जनउत्थान लघुवित्त, उपकार लघुवित्त, साधना लघुवित्त र तारा गाउँ रिजेन्सी होटेलको मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ।

घट्दो बजारका बाबजुद यो साता तीन वटा कम्पनीको मूल्य मात्रै १० प्रतिशत भन्दा धेरैले घटेको छ। सर्वोत्तम सिमेन्टको मूल्य यो साता सर्वाधिक २२ प्रतिशतले घटेको छ। अघिल्लो साता १ हजार ८३ रुपैयाँमा अन्तिम कारोबार भएको शेयर यो साता ८ सय ४३ रुपैयाँमा झरेको हो।

त्यस्तै, रिभर फल पावरको मूल्य १७.५८ प्रतिशतले घटेर ३ सय ७५ रुपैयाँ तथा सामलिङ पावर कम्पनीको शेयर मूल्य घटेर ५ सय ३० रुपैयाँमा झरेको छ। यो साता कारोबार भएको ३ सय ५० भन्दा बढी स्क्रिपहरू मध्ये १ सय २० वटा मात्रै स्क्रिपको मूल्य बढेका छन्। 

चार उपसूचक सकारात्मक 
यो साता बजारमा १३ वटा उपसमूहमध्ये चार उपसूचकहरू सकारात्मक भए। समूहगत रूपमा माइक्रोफाइनान्स, जीवन बिमा, होटेल तथा पर्यटन एवं म्युचुअल फण्ड समूहको क्रिपमा लगानी गर्नेहरूले यो साता धेरै कमाए। यो साता हाइड्रोपावर सहित अन्य ९ वटा समूहका सूचकमा लगानी गर्नेहरूले सर्वाधिक गुमाएको नेप्सेको तथ्याङ्क छ।

अर्थमन्त्री भए लगत्तै शेयर बजार सुधारका लागि आवश्यक कदम चाल्न भन्दै एक साताको समय दिएर कार्य योजना माग गरेका वर्षमान पुनले सबै निकायका सुझावहरूलाई मन्त्रालयमै थन्क्याएर राखेपछि अहिले बजार घट्दो क्रममा रहेको हो। लामो समय भइसक्दा पनि अहिलेसम्म नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति हुन समेत सकेको छैन। अर्थ मन्त्रालयबाट लगानीकर्ताले अपेक्षा गरेका तत्काल गर्नुपर्ने कार्यहरू अघि नबढ्दा यसले बजारमा प्रभाव पार्दै गएको विश्लेषण हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ