arrow

प्याजको चलानी बनाएर भित्रिएको भारतीय ट्रकमा डेढ करोड बढीको अवैध कपडा, दुई पक्राउ 

logo
रविन्द्र गौतम, 
प्रकाशित २०८० असार ३ आइतबार
illegal-onion-clothes-2080-03-03.jpg

हेटौँडा । मकवानपुर प्रहरीले सिरहा भन्सारबाट प्याज बोकेर भित्रिएको भारतीय नम्बरको मालबाहक ट्रकबाट ठूलो परिमाणमा अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

भन्सार विन्दुमा प्याजको भन्सार चलानी बनाएर भित्रिएको बी आर ०६ जी इ ५०५३ को भारतीय मालबाहक सवारीबाट ठूलो परिमाणमा अवैध कपडा बरामद भएको हो । 

प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । हेटौँडा १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

शनिबार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा(१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकि जाँच गर्दा चारैतिरबाट प्याजका १६८ वटा बोराहरुले छोपी बिच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मूल्य रहेको छ । 

यस्तै १६८ वटा बोरामा रहेको ८४ कुन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको र १६८ बोरा प्याजको भने प्रतिकिलो ५० दरले प्याजको भन्सार काटिएको प्रवक्ता कार्कीले बताए ।

प्रहरीले उक्त अवैध कपडासहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर ७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक बिहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षका सुधिरकुमार सहनीलाई नियन्त्रणमा लिएको छ ।

उक्त ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने र पक्राउ गरिएकालाई कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ