arrow

जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
marsi.jpg

जुम्ला । जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिइन् ।   

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए । 

जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ । 

जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ । गत वर्षको असोज महिनाको बाढीपहिराले सिञ्जा गाउँपालिकाका ४२ धान रोपाइँ गर्ने कुलोमा क्षति गरेको थियो । 

गाउँपालिकाको लगानी र स्थानीयवासीको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ