arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

सबै प्रतिवादीको प्रहरीमा भन्दा अदालतमा फरक बयान, आइतबारदेखि थुनछेक बहस

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरी भएको ठगी मुद्दामा सबै प्रतिवादीले प्रहरीको भन्दा अदालतमा फरक बयान दिएका छन् । उनीहरुले प्रहरीमा दिएको बयानलाई पनि सच्याएका छन् । 

अदालतमा प्रहरीले आफूहरुलाई टर्चमा राखेको जबर्जस्ती बयान गराएको भन्दै अदालतसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी तथा सरकारी वकिलसँग भन्दा अदालतमा उनीहरूको बयान फरक परेको छ । 

शुक्रबारसम्म पक्राउ परेका १८ जना प्रतिवादीको जिल्ला अदालत काठमाडौंमा बयान दिइसकेका छन् । पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार अदालतमा उपस्थित भएका हरिभक्त महर्जनको शुक्रबार अदालतमा बयानसँगै सबैको बयान सकिएको हो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भुटानी शरणार्थी प्रकरणमा आफू विरुद्धको अभियोग राज्यले रचेको ‘षडयन्त्र’ भएको जिकिर गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै खाँडले त्यस्तो जिकिर गरेका हुन् । 

‘मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचेको षडयन्त्र हो ।’ भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहका योजनाकार केशवप्रसाद दुलालसँग आफ्नो चिनजान नभएको उनले दाबी गरेका छन् । 

बयानमा उनले भनेका छन्, ‘यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ,’ उनले भनेका छन् । 

उनले आफू विद्यार्थी कालदेखिनै राजनीतिमा लागेकाले यस्तो कुरा सोच्न पनि नसक्ने बताएका छन् । ‘म विद्यार्थी कालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध प्रजातन्त्र र जनअधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेको व्यक्ति हुँ । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ । म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनता प्रतिको समर्पण र प्रजातन्त्र प्राप्तिको प्रतिबद्धताले उठेको मान्छे हुँ । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ’, उनले भने । 

उनले अगाडि भने, ‘२०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । मैले पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने बारे सोच्न पनि सक्दिन ।’

यो मुद्दामा ३० मध्ये १८ जना न्यायिक हिरासतमा छन्  । उनीहरू सबैले अदालतमा यसमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । पक्राउ परेका केहीले प्रहरी र सरकारी वकिल कार्यालयमा दिएको बयानमा घटनामा संलग्न रहेको स्वीकार गरेका थिए । 

यो प्रकरणमा उच्चपदस्थको पोल खोल्ने व्यक्ति सानु भण्डारी र केशव दुलाल हुन । तर उनीहरुले यो विषयमा अदालतमा कोही कसैलाई पनि पोलेका छैनन् ।

उनीहरूले कसलाई कहिले र कहाँ कति पैसा दिएको सबै खुलाएका थिए । तर अदालतमा भने फरक बयान दिएका छन् । मुद्दामा सरकारी वकिल र अदालतमा हरेकजसो मुद्दामा फरक–फरक बयान हुने गरेको प्रहरी अधिकारी बताउँछन् । 

टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलगायतलाई प्रहरीले पक्राउ गरेर अभियोजन गरेको थियो । 

अब आइतबारदेखि थुनछेक बहस शुरु हुनेछ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार आइतबारदेखि सरकारी वकिलले बहस गर्नेछन ्। त्यसपछि प्रतिवादीका वकिलले बहस गर्नेछन् । 

अन्तिममा सरकारी वकिलको जवाफी बहस भएपछि अदालतबाट थुनछेक आदेश हुनेछ । प्रक्रिया टुंगिन अझै करिब एक साता लाग्ने अदालतका कर्मचारी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ