arrow

अदालतलाई हेप्यौं, यो राजाको शासन होइन –गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
gagan-thapa-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । तर सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ । 

सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो । 

यही विषयलाई दिएर सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए । आफूलाई अप्ठेरो पर्दा विधिभन्दा बाहिर गएर निर्णय गर्न नहुने उनको भनाइ छ । 

‘यो राजाको शासन होइन । यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो । गणतन्त्रमा केबल कानून मात्रै चल्छ। कानूनको शासन मात्रै चल्छ,’ उनले भने, ‘हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानूनलाई मिचेर थिचेर बलमिच्याइँ गरेर हामी कुनै निर्णय गर्छौं । अदालतको पूर्णपाठ भएको छैन । हतार हतार निर्णय गर्छौं । हामीले अदालतलाई हेप्यौं । हामीले जे गरे पनि हुन्छ भन्यौं ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ